धमलाको सतक र सर्राफको १३ बलमा अर्धसतक, लुम्बिनीमाथि पुलिसको ७४ रनको जित

सांकेतिक तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७४ रनले हराएको छ। पहिला ब्याटिङ गरेको पुलिसले ३ सय ११ रनको लक्ष्य दिएको थियो।

पुलिसका सुनिल धमलाले सतकीय पाली खेल्दै एक सय ४ रन बनाएका थिए। दीपेन्द्रसिंह एेरीले ८५ रन बनाए भने पवन सर्राफले १३ बलमा अर्धसतक पुरा गरे।

लुम्बिनीले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ३६ रन जोड्यो। लुम्बिनीका लागि सौरभ खनालले ७४ रन बनाए। देव खनालले ४९ तथा सन्दीप रजाली र कृष्ण कार्कीले ४०/४० रन बनाए।  पुलिसका पवन सर्राफ र रसिद खानले दुई दुई विकेट लिए। ललित राजबंशी, सागर ढकाल र दीपेन्द्रसिंह एेरीले एक एक विकेट लिए।

रन नजोड्दै पहिलो विकेट गुमाएको लुम्बिनीले १६ रन जोड्दा दोस्रो विकेट गुमाएको थियो।  त्यसपछि रजाली र देवले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी सागरले तोडे।

एक सय ३ रन जोड्दा पाँच विकेट गुमाएको अवस्थामा सौरभले राजबिर सिंहसँग छैटौँ विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी ललितले तोडे। दीपेन्द्रको बलमा साझेदारी तोड्नुअघि सौरभ र कृष्णबीच सातौँ विकेटका लागि ६९ रनको साझेदारी भयो।

त्यसअघि पुलिसले शानदार ब्याटिङ गरेको थियो। पहिलो विकेट २७ र दोस्रो विकेट ८४ रनको स्थितीमा गुमाएको पुलिसले तेस्रो  विकेटका लागि एक स २९ रनको साझेदारी गरेको थियो।

प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले एक सय ४५ बलमा एक छक्का र सात चौका प्रहार गरे। सुनिल र दीपेन्द्रबीच सतकीय साझेदारी भएको हो। अनिल खरेलको बलमा सुनिल आउट भए।  सतक पुरा गर्न १५ रन मात्र बाँकी रहेको अवस्थामा दीपेन्द्रलाई सौरभ खनालले आउट गरे। त्यसपछि पवनले आक्रामक ब्याटिङ गरेका थिए।  उनले १३ बलमा ६ छक्का र एक चौका हिर्काए। सुनिल धमला प्लेयर अफ दी म्याच घोषित भए।

पुलिसले तीन खेलबाट चार अंक जोडेको छ। लुम्बिनीले दुई खेल खेल्नेक्रममा पहिलो हार ब्यहोर्‍यो। त्यसअघि बिहीबार भएको पहिलो खेलमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो। पहिला ब्याटिङ गरेको गण्डकी ४६ ओभरमा एक सय ६ रनमा सिमित भएको थियो। एपीएफका कमल एेरीले चार तथा अविनाश बोहरा र शरद भेषावकरले दुई दुई विकेट लिए। कमलले १० ओभर बलिङ गर्नेक्रममा ३ मेडन राखेर ११ रनमात्र खर्चिएका थिए।

एपीएफले दुई खेलबाट चार अंक जोडेको छ। गण्डकीले चार खेल खेल्नेक्रममा दुई अंक मात्र जोडेपछि पहिलो चरणबाटै बाहिरिएको छ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्