एकैपटक चार महिला सैनिक अधिकृतले गर्दैछन् सैनिक कमाण्ड तथा स्टाफ तालिम

काठमाडौँ- दुई वर्षअघि सेनानी सुलोचना पौडेल सैनिक कमाण्ड तथा स्टाफ तालिम गर्ने पहिलो नेपाली महिला सैनिक बनेकी थिइन्। नेपाली सेनामा महिलाको यस फड्कोलाई महत्वपूर्ण मानिन्छ। सेनानी ‘मेजर’बाट प्रमुख सेनानी ‘लेफ्टिनेन्ट कर्नेल’ मा बढुवा हुन यो तालिम लिनैपर्छ। पछिल्लो समय नेपाली सेनाका तालिमहरुमा महिला सैनिकहरुको उपस्थिति बाक्लिँदै गएको छ।

गत मंगलबार एक महिला जवानले नेपाली सेनामा अर्को कीर्तिमान बनाइन्। राधिका थापा निकै कठिन मानिने प्रतिविद्रोह कला र जङ्गल युद्धकला ‘काउन्टर इन्सरजेन्सी एन्ड जङ्गल वारफेयर’ तालिम सम्पन्न गर्ने पहिलो नेपाली महिला सैनिक बनेको नेपाली सेनाले जनाएको छ।

प्रतिविद्रोह कला र जङ्गल युद्धकला शिक्षालयमा भएको उक्त  तालिम कात्तिक १८ देखि माघ ६ गतेसम्म सञ्चालन भएको थियो। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ थापाटोल स्थायी घर भएकी थापा २०६९ सालमा नेपाली सेनामा प्रवेश गरेकी थिइन्।

त्यसको एक वर्षयता उनी प्रतिविद्रोह कला र जङ्गल युद्धकला शिक्षालयमा कार्यरत छिन्। यो तालिममा जङ्गल नेभिगेसन, धराप निर्माण गर्ने, जङ्गल सर्भाइभल टेक्निक्स, सर्प दंश व्यवस्थापनसहित कठिन सिपहरु सिकाइने नेपाली सेनाले जनाएको छ।

यतिबेला चार महिला सैनिक अधिकृतले सैनिक कमाण्ड तथा स्टाफ तालिम गरिरहेका छन्। छनोट भएर एकैपटक चार जना महिला सैनिक अधिकृतले उक्त कोर्स गरिरहेको नेपाली सेनाले जनाएको छ। सेनानीहरु रामप्यारी सुनुवार, अनिता केसी, पुजा कार्की र सबिता खड्काले यो कोर्स गरिरहेका छन्। यो कोर्ष १० महिनाको हुन्छ। कोर्षका लागि छनोट हुन ३ सय ६० जनाभन्दा बढीले प्रतिस्पर्धा गरेका थिए।

शिवपुरीमा भइरहेको तालिममा अहिले देश र विदेशमा गरि ७२ जना अधिकृत सहभागी छन्। तालिममा ९ जना विदेशी र तीन जना अन्य सुरक्षा निकायका अधिकृतहरु रहेको नेपाली सेनाले जनाएको छ। सेवा अवधि १० वर्ष पुरा भएको, ३५ वर्ष पुरा नभएकोले मात्र यो कोर्षका लागि प्रतिस्पर्धा गर्न पाउँछन्। यसैगरि एक जनाले तीनपटक भन्दा बढी छनोट प्रतिस्पर्धामा भाग लिन पाउँदैन।  सैनिक कमाण्ड तथा स्टाफ तालिममा राम्रो गरेका कारण यतिबेला सेनानी सुलोचना बंगलादेशमा पनि स्टाफ तालिम गरिरहेकी छिन्।

नेपाली सेनामा पहिलो हुने महिला सैनिक 

नेपाली सेनामा प्यारा जम्प गर्ने पहिलो महिला सैनिक अधिकृत अन्नापूर्ण कुँवर हुन्। २०२६ सालमा तत्कालिन प्राविधिक सहायक सेनानी कुँवरले उक्त सफलता हात पारेकी थिइन्।

संयुक्त राष्ट्र संघीय शान्ती मिसनमा यूएन लायजन अफिसरका रुपमा काम गर्ने पहिलो नेपाली महिला सैनिक अधिकृत कृति राजभण्डारी हुन्। २०७२ सालमा कृतीले यो जिम्मेवारी सम्हाल्दा सहसेनानी थिइन्।

त्यसको दुई वर्षपछि सृष्टी खड्का गुल्मपति हुने नेपालको पहिलो सैनिक अधिकृत बनेकी थिइन्। त्यतिबेला उनी सेनानी थिइन्। पहिलोपटक स्थापना गरिएको महिला सैनिकहरुको युनिट ‘श्री गोरखाकाली गुल्म’को प्रमुखको जिम्मेवारी उनलाई दिइएको थियो।

त्यहि वर्ष तत्कालिन सेनानी गिता गुरुङ संयुक्त राष्ट्र संघीय ‘डिसइन्गेजमेन्ट अब्जर्भर’ युनिटको कमाण्डर हुने पहिलो नेपाली महिला सैनिक अधिकृत बनेकी थिइन्।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्