सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा एक युवकको मृत्यु, पाँच जना घाइते

धनगढी- बिहिवार सुदूरपश्चिमका छुट्टा छुट्टै ठाउँमा भएका दुईवटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बिहिवार डोटीमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। धनगढीबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ख १२४४ नम्बरको मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाई पछाडि बसेका एक युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका-४ का ३० वर्षीय प्रदीप घिमिरे रहेका छन् । धनगढीतर्फ आउने क्रममा उनी सवार सुपप्र ००२००३ प ४९०२ नम्बरको मोटरसाइकललाई डोटीको जोरायल गाउँपालिका-२ गरुडी स्थित भीमदत्त राजमार्गमा मिनी ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक नरेन्द्र घिमिरे घाइते भएका प्रहरीले जनाएको छ। यसैगरी बिहिवार नै कैलालीको गोदावरी नगरपालिका चौकीडाँडामा कारले मोटरसाइकल र साइकललाई ठक्कर दिंदा चार जना घाइते भएका छन्।

अत्तरियाबाट महेन्द्रनगर तर्फ गईरहेको सुपप्र ०१ ००९ प १७६० नम्बरको मोटरसाईकल र साईकललाई विपरीत दिशाबाट आईरहेको बा १० च ६०६४ नम्बरको कारले ठक्कर दिदाँ ४ जना घाइते भएका हुन। घाइतेहरुको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्