टिप्पणी

यसरी श्राप दिए ओलीले आफ्नो आलोचना गर्ने पत्रकारहरुलाई

काठमाडौँ– प्रायजसोः सार्वजनिक कार्यक्रमको भाषणमा आफ्नो विज्ञता, विचार र अनुभवको प्रस्तुतिसँगै आफ्ना विरोधी नेताहरुलाई व्यंग्य गरेर तत्काललाई वाहवाही, हाँसो र ताली बटुल्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारितालाई लिएर पनि असहिष्णु बन्न थालेका छन्।

बन्द कोठामा सीमित पत्रकारहरुप्रतिको उनको तल्लोस्तरका टिप्पणी अब सार्वजनिक रुपमै छताछुल्ल हुन थालेको छ। आफ्नो आलोचना गर्ने पत्रकारहरुको लेख्ने र बोल्न पाउने स्वतन्त्रतालाई विभिन्न कानुन ल्याउने तयारी गरेको पृष्ठभूमिमा ओलीले आफ्नो पार्टीनिकट पत्रकारलाई मात्रै ‘सच्चा’ पत्रकारको सूचीमा राख्न थालेका छन्।

०००

बिहीबार राष्ट्रियसभा गृहको हलमा उनले गरेको करिब एक घण्टाको भाषण यसैको वरिपरि घुमेको थियो। आफू निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्वोधनका क्रममा आफ्नो आलोचना गर्ने पत्रकाहरुलाई मात्रै निशाना बनाए, उनले।

आफ्नो पार्टीमा आवद्ध पत्रकारहरुलाई उत्तम श्रेणीमा र आलोचना गर्ने पत्रकारहरुलाई नर्क जानुपर्ने श्रेणीमा उनले राखेपछि यसको विरोध सुरु भएको छ। प्रधानमन्त्री जस्तो सम्मानित पदमा रहेका ओलीले पत्रकारलाई यस्तो तल्लोस्तरको टिप्पणी गरेर उनले संविधानले ‘ग्यारेन्टी’ गरेको प्रेस स्वतन्त्रतालाई चुनौती दिएको स्पष्ट सन्देश प्रवाह भएको छ।

आफ्नो पार्टीमा आवद्ध पत्रकारहरुको भीडमा ‘तपाईँहरु नै वास्तविक पत्रकार’ भन्दै स्वतन्त्र पत्रकारिताको पाठ ओलीले सिकाउने कोशिस गरेका छन्। उनले भनेका छन्, ‘पत्रकारले सत्य लेख्न पर्छ।’

तर आफ्नो पार्टीबाट राम्रो मात्रै सूचना प्रवाह गर्न छुट पाएका र समाजलाई तथ्य सूचना प्रवाह गर्नबाट बञ्चित पत्रकारहरुका अघिल्तिर ओलीले यस्तो गुनासो गर्नु औचित्यहीन भएको भन्दै आलोचना सुरु भएको छ।

ओलीले आफ्नो कामकारवाहीको आलोचना गर्ने शैलीलाई पित पत्रकारिताको संज्ञा दिए। यसबाट ओली पत्रकारिताको धर्मप्रति कति असहिष्णु छन् भन्ने पुष्टि हुन्छ। र, उनको बुझाइ कति अपूर्ण छ भन्ने प्रश्न जन्मिएको छ।

आफ्नो आलोचना गर्ने पत्रकारहरुलाई लक्षित गर्दै उनले भने, ‘राम्रो कुरा देख्नपर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । राम्रो कुरा बोल्नुपर्छ भने मुख थुन्छु तर सुन्दिनँ, हेर्दिन, बोल्दिनँ भने जसरी प्रस्तुत भएका छन्। राम्रो कुरा छोपेर झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागिगरेका छन्।’

तर के झुट छापियो? भन्नेबारे उनले स्पष्टिकरण दिन चाहेनन्।

०००

आठ वर्षको संघर्षपछि प्राप्त संविधान ओलीको हातमा निरीह बनेपछि पत्रकारिता ओलीको कदमविरुद्ध आक्रमक हुनुलाई स्वाभाविक ठानिएको छ। आफ्ना पार्टीभित्रका नेतालाई पाठ सिकाउन ‘सनक’का भरमा सार्वभौम संसद विघटन गरेपछि त्यसको विरुद्धमा हाल अधिकांश सञ्चारमाध्यम उत्रिएका छन्। ओली निकट सञ्चारमाध्यम, कानुन व्यवसायी, अधिकारकर्मीलगायतले समेत उनको संसद विघटनको कदम ठीक भएको खुलेर भन्न सकेका छैनन्।

तर संविधानबाट प्राप्त प्रेस स्वतन्त्रताको हकमा टेकेर आलोचना गर्ने पत्रकाहरुलाई अभिव्यक्तिको पहिलो निशाना बनाएका छन् ओलीले। ओली निकट नेता तथा कार्यकर्ताहरुले सार्वजनिक कार्यक्रमसँगै सामाजिक सञ्जालमा आफूहरुको आलोचना गर्ने पत्रकारहरुको छबीलाई धक्का पुग्नेगरी टिकाटिप्पणी पनि उत्तिकै भइरहेका बेला ओली पनि सोही शैलीमा उत्रिएका हुन्।

बालुवाटारको एक उच्च सुरक्षा स्रोतका अनुसार ओली र उनी पक्षीय नेताहरुको अबको निशाना उनीहरुको आलोचना गर्ने पत्रकार र सञ्चारमाध्यम बनाउने तयारी भएको छ। स्रोतले बिहीबार देशसञ्चारसँग भन्यो, ‘पत्रकारहरु संसद विघटनविरुद्ध उत्रिएको प्रधानमन्त्रीलाई पटक्कै मन परेको छैन। आफ्नो आलोचना गर्ने पत्रकारहरुलाई कुनै न कुनै उपाय अपनाएर उनीहरुलाई ठिक ठाउँमा ल्याउने उहाँले तयारी गरेको बुझिन्छ।’

यता आफूहरुलाई आलोचना गर्दै आएका पत्रकारहरुले सार्वजनिक रुपमा प्रश्न गरेमा त्यो प्रश्न नभएको र त्यसमा आफूले जवाफ नदिने दम्भ पनि ओली निकट नेताहरुले प्रर्दशन गर्दै आएका छन्। नेकपा फुटको संघारमा पुगेका बेला पार्टी कार्यालयमा आयोजना गर्नुपर्ने पार्टी बैठक ओलीले सुरक्षाको थ्रेट भएको भन्दै आफ्नै सरकारी निवास बालुवाटारमा गर्ने र बैठकबारे सूचना संकलन गर्न गएका पत्रकाहरुलाई दिनभरी निवासको गेटबाहिर सडकमा कष्ट व्यहोर्न बाध्य बनाएको नजिरहरु पनि छन्।

तथ्य सूचना समयमै समाजमा पुर्‍याउने पत्रकारको एक मात्र स्वार्थ हो। तर ओलीले पत्रकारलाई धम्कीको शैलीमा पाठ सिकाएका छन्। उनले भनेका छन्, ‘स्वार्थका लागि पत्रकारहरुले समाचार नलेख्नु।’

उनले आफ्नो धम्कीलाई त्यतिमा सीमित राखेनन्। आफू निकट पत्रकारलाई आफ्नो पार्टी स्पष्ट रुपमा चिनाउन अर्थात पार्टीका पक्षमा खुलेर लाग्न निर्देशनसमेत दिए उनले।

उनले भनेका छन्, ‘पार्टी निकट पत्रकार भएकाले म तपाईंहरुलाई आग्रह गर्छु। पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस्। सत्यतथ्य बुझेर लेख्ने पत्रकार भनेर चिनोस्। कसैको स्वार्थमा वा रिस उठेकै भरमा ठोक्दिएँ भनेर जथाभावी लेख्ने पत्रकार भनेर नचिनोस्।’

ओलीले पार्टीमा आवद्ध पत्रकारहरुका अघि स्वतन्त्र पत्रकारिता भएन भन्नु उनीप्रतिको आलोचनालाई अस्वीकार गर्ने प्रवृति उनीमा झाँगिएको बुझ्न सकिन्छ। ओलीले यसअघि आफ्नो आलोचना गर्ने पत्रकारहरुलाई ‘मुटु नभएका सम्पादक’ भन्दै गरेको टिप्पटी सर्वत्र आलोचनाको विषय बनेको थियो।

बिहीबार ओलीले पत्रकारको भाषालाई लिएर पनि असन्तुष्टि पोखे। अर्थात पत्रकारहरुले आफूलाई ‘तिमी’ भनेकोमा उनलाई चित्त बुझेको छैन। उनले अंग्रेजीको नक्कल गरेर सञ्चारमाध्यमले आफ्ना पात्रहरुलाई ‘यु’ भन्न नहुने उनको सुझाव थियो। यसअघि पनि सञ्चारमाध्यमले सम्वोधनमा सम्मान नगरेको टिप्पणी गर्दै आएका उनले बिहीबार सोही असन्तुष्टि प्रर्दशन गरेका हुन्।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्