विपदको छायामा मजदुर परिवारका बालबालिकाको शिक्षा – सिकाइका वैकल्पिक माध्यममा पहुँच ‘शून्य’

शिक्षा मन्त्रालयले बारम्बार दाबी गर्दै आएको छ– हामी कुनै पनि बालबालिकाको शिक्षण तथा सिकाइको अधिकार गुम्न दिँदैनौँ । विपदका बेला पनि उनीहरुको अध्ययन अधिकार सुनिश्चित तथा सुरक्षित गर्न प्रतिबद्ध छौँ र सोही अनुसार काम भइरहेको छ ।

तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भनेका थिए, ‘महामारी (विपद) को बेला भए पनि शिक्षण सिकाइका वैकल्पिक उपायहरु (दूर शिक्षा, अनलाइन कक्षा, टेलिभिजन कक्षा तथा घर सिकाइ–होम स्कूलिङ्ग) मार्फत सिकाई जारी छ र रहन्छ । बालबालिकाको शैक्षिक सत्र खेर जान दिँदैनौँ।’

उनले भनेका थिए, ‘विपदको बेलामा अभिभावक आफ्ना सन्तानको साथीसँगै शिक्षक पनि बन्नु पर्छ । हामी आवश्यक सहयोग तथा सहजीकरणका लागि काम गरिरहेका छौँ ।’

तर मन्त्रालय र मन्त्रीको भनाई कत्ति पनि मेल खाँदैन विनिता पहरी र उनकी पाँच वर्षे छोरी सिम्रनको हकमा ।

भक्तपुरको भातेढिकुर स्थित मैत्री हनुमान इट्टा उद्योगमा काम गर्छिन् २३ वर्षकी विनिता पहरी । रोल्पाको घर्ती गाउँकी विनिताले कलिलै उमेरमा इट्टा उद्योगका मजदुरी काम थालिन् । त्यहीँ भेटिएका काभ्रेका रेशम पहरीसँग उनले १५ वर्षकै उमेरमा बिहे गरिन् । पाँच कक्षासम्म मात्रै पढेकी विनितालाई छोरी राम्रो पढाउने मन छ ।

विनिता भन्छिन्, ‘आफूले पढिएन, यसलाई (छोरी) दुःखजिलो गरेरै भए पनि राम्रो पढाउन मन छ । हामीले जस्तो मजदुरी गर्न नपरोस्, राम्रो जागिर खाओस् भन्ने हो । तर खै पढाउन सकिएला जस्तो छैन । झन यो महामारीले त आयको स्रोत पनि गुम्यो । यसको स्कूल पनि बन्द भयो ।’

विनिता पहरी र सिम्रन पहरी

सिम्रनलाई विनिता र २७ वर्षका रेशमले क्षमता नभए पनि ‘राम्रो शिक्षा’ दिने सपनामा इट्टा उद्योग नजिकैको मदरल्याण्ड स्कूलमा भर्ना गरेका थिए । सिम्रनले अक्षर चिन्न थालेकी थिइन् । स्कूलबाट दिएको गृहकार्य गर्न पनि जाँगर मान्थिन् । तर गएको चैत यता उनको अध्ययन लय टुटेको छ । स्कूल बन्द छ । विनिताले जेनतेन आफै सिकाउने प्रयास नगरेकी होइनन्, तर भने जस्तो गरी सक्दिनन् । अनलाइन कक्षा भएको छैन । भए पनि त्यसको व्यवस्था गर्न सक्ने अवस्थामा आफूहरु नरहेको विनिता बताउँछिन् ।

‘अहिले त सबै बिर्सिसकी। म त्यति जान्दिनँ, अलिअलि भए पनि सिकाउने भन्यो हामीलाई टेर्दैनन्। झन स्कूल औपचारिक रुपमा जाने वर्षमा यस्तो भयो ।’

काम नचल्दा दैनिक गुजारा चलाउनै मुश्किल परेको बताउने विनिताले सरकारी निकायबाट कुनै सहयोग नपाएको र छोरीको शिक्षाका पनि अहिलेसम्म सरकारी वा स्थानीय तहबाट कुनै पहल भएको आफूहरुलाई थाहा नभएको बताइन् ।

१२ वर्षका विमल पुन मगर भक्तपुर भीमसेनस्थान–५ स्थित आदर्श आजाद विद्यालयमा कक्षा पाँचमा पढ्छन् । तर उनीले पुससम्म पाँच कक्षाको पुस्तक पल्टाएका थिएनन् ।

चार कक्षाको परीक्षा दिएका उनी उत्तिर्ण भए, पाँच कक्षामा गए । तर स्वास्थ्य विपद (कोरोना भाइरसको महामारी) का कारण लकडाउन भयो र माघ पहिलो हप्तादेखि मात्रै उनी विद्यालय जान थालेका छन् । तर मन लाग्दैन उनलाई त्यति ।

रामकली पुन मगर

उनका बुवा विशाल पुन र आमा रामकली पुनले भातेढिकुर स्थित मैत्री हनुमान इट्टा उद्योगमा मजदुरी गर्थे, लकडाउनसँगै बन्द भएको इट्टा उद्योगको काम अझै सुरु भएको छैन । अभिभावकको काम गुम्यो, आयको स्रोत थुनियो । विमलको स्कूल यात्रा रोकियो । वैशाखदेखि पुस अन्त्यसम्मको अवधिमा उनको विद्यालयले घर शिक्षाको व्यवस्था गर्‍यो न त अनलाइन कक्षा नै ।

अनलाइन कक्षाको व्यवस्था भए पनि आफूहरुसँग त्यसको व्यवस्थापन गर्न सक्ने क्षमता नरहेको उनका बुवा विशाल बताउँछन् ।

विमललाई कक्षा पाँचमा पढ्दैछु भन्नु बाहेक यो कक्षाको अरु केही थाहा छैन । ‘पढाई भएकै छैन । अब त स्कूल जाने बानी नै हट्यो । जान पनि मन लाग्दैन ।’ इट्टा भट्टाको झ्याउली (छाप्रो) मा बस्दै आएका विमल अहिले त्यहिँका अरु केही बालबालिकासँग खेल्दै गरेको देखिन्थे।

साइकल चलाईरहेका बिमल र पछाडि बसेका प्रविण प्रजापति

विमलसँग किताब छैन, सरकारले भनेजस्तो शिक्षण सिकाईका वैकल्पिक माध्यमसँग उनको पहुँच छैन । रोल्पाबाट रोजीरोटीको जोहो गर्न तथा सन्तानको उज्यालो भविष्यको सपना बोकेर आएका उनका आमाबुवाको मन अमिलो हुन्छ छोराको पढाई रोकिएको लामो समय हुँदा, तर उनीहरुसँग पनि उपाय केही छैन । विवश छन्, विद्यालयलप्रति विमलको वितृष्णा हेर्न उनीहरु ।

कमला प्रजापतिले गुन्द्रीमा बसेर पाहार ताप्दै छोरालाई सिकाउँदै थिइन् । भक्तपुरको इट्टा भट्टामा मजदुरी गर्ने काभ्रे बनेपाकी २६ वर्षे कमलाका ६ वर्षे छोरा प्रविन हतारमा देखिन्थे । उनी लेख्दा लेख्दैको कापी र सिकाउँदै गरेकी आमालाई छोडेर साइकल चलाउँदै गरेका बालबालिकाको भिड तिर दौडिए ।

कमलाले भनिन्, ‘नौ महिना भइसक्यो स्कूल गएको छैन । पहिला जानेका कुरा पनि बिर्सियो । मैले जानेको सिकाउँन खोज्छु टेर्दैन, स्कूल गए जस्तो नहुने रैछ ।’

अनलाइन कक्षा थिएन। पछिल्लो केही महिनादेखि प्रविनलाई उनका शिक्षकले कमला मार्फत गृहकार्य पठाउथे। तर सो गृहकार्य गराउन र त्यस अनुसार सिकाउन कमला पूर्ण सक्षम छैनन्, प्रयास गरिरहिन्। स्कूल जाने बानी नहुँदा प्रविनमा पढ्ने बानी कम हुँदै गएको छ । कमलालाई छोराले जानेका कुरा पनि बिर्सिँदै गएको देख्दा नराम्रो लाग्छ ।

काम चलेका बेला सिजनमा कमला र उनका श्रीमान प्रभुकृष्णले महिनाको ३५ हजार जति कमाउँथे । मासिक खर्च १५ हजार जति हुन्थ्यो । बचेको पैसा अरु काममा प्रयोग गर्न राखेको भए पनि गएको चैत यता काम बन्द भएपछि अलिअलि बचतको पैसा सुरुको केही महिनामै सकियो । अहिले उनीहरुलाई छाकको जोहो गर्नै मुश्किल छ । त्यसपछि राम्रो पठाउँला भनेको छोराको पढाई पनि अनिश्चित भएको छ ।

दैनिक मजदुरी गरेर जीविका चलाउने परिवारका बालबालिकामा विपदका बेला शिक्षाको पहुँच कस्तो छ र सरकारी दाबी उनीहरुको सवालमा कत्तिको मेल खान्छ भन्ने यथार्थको सामान्य चित्र हो यो ।

कोरोना भाइरसको महामारीले स्वास्थ्य सेवाको पहुँच उसै पनि निकै दुर्गम रहेका गरिखाने वर्गमा थप समस्या ल्याएको स्पष्ट छ । त्यसमाथि सो वर्ग बालबालिकाहरु यो बेला शिक्षाको कुनै पनि माध्यमको पहुँच भन्दा बाहिर रहेको सिम्रन, विमल र प्रविनको हालको अवस्थाले स्पष्ट पार्छ ।

शिक्षा मन्त्रालयले विपदका बेला बालबालिकालाई शिक्षण सिकाईको पहुँचमा ल्याउनका लागि भन्दै निकै ढिला गरेर गएको कात्तिक पहिलो हप्ता शिक्षा मन्त्रालयले विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा ल्यायो ।

सो ढाँचामा सम्भव भएका ठाउँमा विद्यालय खुला गर्ने, नभएका ठाउँमा शिक्षक विद्यार्थीको घरसम्म पुग्ने, अनलाईन कक्षा, दूर शिक्षा तथा टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्ने भनिएको छ । तर मजदुरी गरेर जीविका चलाउँदै आएका तथा आफ्ना सन्तानलाई उज्यालो भविष्य दिने सपना बुनेका विनिता, रामकली र कमला जस्ता आमाहरुले भने त्यसबारे सुन्न समेत पाएका छैनन् ।

शिक्षण सिकाइलाई व्यवस्थित गर्ने जिम्मेवारी पाएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले मन्त्रालयबाट निर्देश गरिए अनुसार आफूहरुले सबै बालबालिका लागि विपदको बेला पनि शिक्षाको पहुँचबाट बाहिर जान नदिनका लागि काम गरिरहेको दाबी गर्छन् । तर सिम्रन, विमल र प्रविनहरुको अवस्था किन दाबी गरिए अनुसार भएन भन्दा उनीसँग स्पष्ट जवाफ छैन ।

यस्तै देशभर कति उनीहरु जस्ता बालबालिका छन् र उनीहरुको छुटेको सिकाई भरणपोषण गर्न तथा आउँदा दिनमा त्यस्तो अवस्था नओस् भन्नका लागि केन्द्रसँग कुनै योजना पनि छैन ।

शिक्षा सचिव गाेपीनाथ मैनाली

शिक्षा सचिव गोपीनाथ मैनाली भने महामारीको सुरुको केही महिना अवस्था कस्तो होला भनेर अलमल भएको र त्यसपछिको केही महिना योजना बनाउन लागेकाले शिक्षण सिकाइको अधिकार सुनिश्चित गर्न समय लागेको जस्तो भए पनि अहिले अवस्था राम्रो बन्दै गएको दाबी गर्छन् । उनले सबै बालबालिकाको सिकाइको अधिकार सुनिश्चित गर्नका लागि काम भइरहेको र रणनीति अनुसार काम गर्दै जाने बताए ।

उनले स्थानीय तहसँग सहकार्यमा मन्त्रालयले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने काम गरिरहेको दाबी गरे । अहिलेको विपदको बेला मात्रै नभएर यसले भावि दिनमा आउन सक्ने कुनै पनि प्रकारको विपदका बेला सिकाइलाई प्रभावकारी बनाइ राख्नका लागि काम भइरहेको सचिव मैनाली दाबी गर्छन् ।

तर उनीसँग भक्तपुरको इट्टा भट्टामा काम गर्ने (हाल काम बिहीन) अभिभावकका सन्तान जस्तै देशभरका काम गरि खाने परिवारका नानीहरुको पढाइ महिनौँसम्म प्रभावित भएको र त्यसले पारेको प्रभावबारे भने स्पष्ट खाका नभएको प्रष्छ हुन्छ ।

वैकल्पिक शिक्षामा खर्च तर पहुँच ‘शून्य’

शिक्षण सिकाइका वैकल्पिक माध्यमहरुमा पहिलेदेखि नै काम हुँदै आए पनि कोरोना भाइरसको महामारीको समयमा त्यसले सघनता पाएको शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार वैकल्पिक शिक्षण सिकाइका लागि टेलिभिजन तथा रेडियोका लागि पाठहरु तयार पार्ने एवम् अनलाइन कक्षाका लागि आवश्यक सामग्रीहरु पनि बनाइएको बताए ।

केन्द्रले महामारीको अवधिलाई नै लक्षति गरेर टेलिभिजनमा प्रशारणका लागि विद्यालय तहका ८०० पाठ तयार गरेको र प्रति पाठको उत्पादन खर्च २० हजार रुपैयाँ लागेको सूचना अधिकारी दाहालले बताए । यसको अर्थ टेलिभिजन पाठ उत्पादनका लागि एक करोड ६० लाख रुपैयाँ लाग्यो ।

ती सामग्री प्रशारणका लागि मन्त्रालयले नेपाल टेलिभिजनसँग एक करोड ८७ लाखको प्रशारण सम्झौता गरेको जानकारी दाहालले दिए ।

यस्तै प्रति पाठ १५ हजार रुपैयाँका दरले झण्डै ४०० पाठ रेडियोका लागि उत्पादन गरिएको र सो प्रशारणका लागि रेडियो नेपालसँग ७५ लाख रुपैयाँको सम्झौता भएको जानकारी केन्द्रले दियो । त्यसबाहेक केन्द्रले उत्पादन गरेका सामग्री सामुदायिक एफएम रेडियोमा प्रशारणका लागि युनेस्को काठमाडौँले एक करोड रुपैयाँ अनुदान दिएको छ ।

केन्द्रबाट उत्पादन भएका सामग्री वेबसाइटमा राख्ने तथा अनलाइन तथा स्वअध्ययन सामग्री पनि सीमित मात्रा उत्पादन भएको छ ।

तर भक्तपुरका स्थानीय तह र सरोकारवाला निकायहरुसँग कति बालिबालिकासँग रेडियो तथा टेलिभिजन अनि इन्टरनेट सुविधाको पहुँच छ भन्ने तथ्यांक छैन।

केन्द्रले बनाएका सामग्रहरु बारे स्थानीय तहसँग समन्वय गर्ने जिम्मेवारी जिल्ला शिक्षा कार्यालयसँग छ । संघीय व्यवस्थामा शिक्षा अधिकार स्थानीय तहमा रहेकाले व्यवस्थापकीय काम भने सम्बन्धित पालिकाले नै गर्ने हुन् ।

करिब १५ वटा ठूला इट्टाभट्टा रहेको भक्तपुरको सूर्यविनायक नगरपालिकाले भने ती विशेष गरि मजदुरी गरेर जीविका चलाउनेका बालबालिकाको सिकाइ अधिकार सुनिश्चित गर्नका लागि खासै काम नगरेको स्वीकार गर्छ । नरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले भने, ‘महामारीबाट जोगिने र जोगउनेमै हाम्रो ध्यान भयो । विद्यालय नखुलेका बेला शिक्षण सिकाइका लागि पालिकाबाट ठोस काम भएन ।’

कम्तिमा १३३ सामुदायिक विद्यालय रहेको भक्तपुरका जिल्ला शिक्षा अधिकारी भक्त गोदार भने शिक्षा सम्बन्धी अधिकार स्थानीय तहमा रहेकाले आफूहरुले ठोस कार्यक्रम केही नगरेको तर केन्द्रबाट आएका कार्यक्रमहरुको जानकारी वेबसाइटमा राख्ने तथा स्थानीय तहलाई जानकारी गराउने काम मात्रै गरेको बताए ।

अधिकांश मजदुरका बालबालिका अध्ययन भने भक्तपुर भेलुखेल स्थित आदर्श आजाद विद्यालयका प्रधानाध्यापक कृष्ण केसीले आफूहरुले सकेसम्म वैकल्पिक शिक्षण सिकाइका लागि लकडाउनको अवधिमा प्रयास गरे पनि सबै अभिभावक वा विद्यार्थीसम्म पुग्न नसकिएको बताए ।

यसरी हेर्दा केन्द्रले करोडौँ खर्च गरेर पाठ उत्पादन तथा प्रशारणको व्यवस्था गरेको दाबी गरे पनि त्यसलाई सम्बन्धी बालबालिका वा उनीहरुका अभिभावकसम्म लैजाने काम भने प्रभावकारी देखिएन ।

पुनश्चः सरकारले उपयुक्त परिवेश हेरेर माघ महिनादेखि देशभरका विद्यालय खुला गर्ने निर्णय गरेको छ । विद्यालय खुले पनि वैकल्पिक शिक्षण सिकाइका सामग्रीहरुको प्रयोग हुने र आवश्यकता अुनसार त्यसलाई परिमार्जन तथा उपयोग गर्न सकिने शिक्षा तथा मानवविकास स्रोत केन्द्रको भनाइ छ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्