गोलरक्षकले गरे गोल, स्वारेजको प्रदर्शनमा एथ्लेटिको मड्रिड विजयी

एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सात अंकको अग्रता कायम गरेको छ ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले एइबरलाई २–१ ले पराजित गरेको हो । १२ औँ मिनेटमा पाएको पेनाल्टीमा मार्को दिमित्रोविचले गोल गरेर एइरबलाई सुरुवाति अग्रता दिलाएका थिए ।
गोलरक्षक दिमित्रोविचले पहिलोपटक पेनाल्टी प्रहार गरेर खेल जीवनको पहिलो गोल गरे । एथ्लेटिको मड्रिडका लागि दुवै गोल लुइस स्वारेजले गरेका हुन् ।
उनले ४० औँ मिनेटमा टिमका लागि बराबरी गोल गरे । ८९ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरि स्वारेजले एथ्लेटिकोलाई जित दिलाएका हुन् ।
जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १७ खेलबाट ४४ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १८ खेलबाट ३७ अंक छ ।
लिग अन्तर्गत बिहीबार राति भएको अर्को खेलमा भ्यालेन्सिया र ओसासुनाले १–१ को बराबरी खेलेका छन् ।