कोरोना भाइरस अर्थात युद्धावस्था

कोरोना भाइरसविरुद्धको अभियानका लागि बाइडेनले जारी गरे १० कार्यकारी आदेश

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् ।

कार्यकारी आदेश अनुसार खोप अभियानलाई तीव्रता प्रदान गरिने छ भने परीक्षणको दायरा बढाइने छ । मास्कसहितका अत्यावश्यक सामग्रीको उत्पादन बढाउनका लागि आकश्मिक कानून लागु गरिने भएको छ ।

कोरोना भाइरसविरुद्धको अभियानका लागि १० अभियानको घोषणा गर्दै राष्ट्रपति बाइडेनले महामारीमाथि विजय प्राप्त गर्न केही महिना लाग्ने भए पनि अमेरिका यसबाट बाहिरि निस्कने बताए । तर त्यसका लागि नागरिक एकतावद्ध हुनु पर्ने उनले बताएका छन् ।

बाइडेनले बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका थिए ।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोरोना भाइरसविरुद्धको प्रयासका लागि कमजोर काम गरेको भन्दै आलोचना हुँदै आएको थियो । ट्रम्प प्रशासनको नीति विपरित बाइडनेले महामारीविरुद्धको अभियानका लागि राष्ट्रिय रणनीति तय गरेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कोभिड–१९ का कारण चार लाख ८ हजार भन्दा बढिको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा दुई करोड ४५ लाख ५२ हजार भन्दा बढि संक्रमित भएका छन् ।

राष्ट्रपति बाइडेनले अवस्था सुधार हुनु पूर्व खराब भइरहने बताए । आउँदो महिनासम्ममा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघ्न सक्ने चेतावनी दिए ।

दोस्रो विश्वयुद्धमा भन्दा धेरै अमेरिकीले कोरोना महामारीका कारण ज्यान गुमाएको स्मरण गर्दै बाइडेनले अहिलेको अवस्थालाई युद्धावस्थाका रुपमा चित्रित गरे । बाइडेन प्रशासनले पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ ।

बाइडेनले अवस्थाहरुलाई लिएर आफू पारदर्शी हुने बताएका छन् । जति नै खराब भए पनि आफूले तथ्य र सत्य कुरा सार्वजनिक गर्ने उनले बताएका छन् । राष्ट्रपति बाइडेनले आफ्नो योजना राजनीतिमा नभइ विज्ञानमा आधारित रहेको बताए ।

कोरोना भाइरस महामारी नियन्त्रणलाई लिएर बाइडेनले बिहीबार जारी गरेका १० कार्यकारी आदेशमा खोपको उत्पादन तथा वितरणलाई बिस्तार तथा तीव्र पार्ने एवम् पीपीइको उत्पादन तथा परीक्षणलाई बढाउने, अत्यावश्यक सामग्री वितरणमा सुरक्षाकर्मीलाई परिचालन गर्ने, विज्ञहरुको बोर्ड खडा गर्ने, कोरोना भाइरसको अध्ययनलाई बिस्तार गर्नेसहित रहेका छन् ।

खोप उत्पादनका लागि चाहिने सामग्री तथा पीपीइ उत्पादनका लागि डिफेन्स प्रोडक्सन एक्ट कार्यान्वयन गरिने बाइडेनले बताएका छन् ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्