सडक निर्माणका क्रममा कटान भएका रुखको काठ र दाउरा हस्तान्तरण

सिमकोट-मुगु हुम्ला लिंक रोड निर्माणका क्रम कटान हुन पुगेको रुखको गोलिया र दाउरा हस्तान्तरण भएको छ। ठूलो संख्यामा रुखहरु कटान भएका रुखहरुलाई त्यसको निर्माण पक्षले गोलिया र दाउराका रुपमा तयार गरि डिभिजन बन कार्यालय हुम्लालाई हस्तान्तरण गरिएको हो।

मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर १ को चंखेली राष्ट्रिय बन भित्र पर्ने रुखहरु कटान भएको र ती कटान भएका रुखहरुलाई निर्माण पक्ष ग्रामीण पहुँच कार्य तेस्रो चरणले गोलिया र दाउरा बनाएर डिभिजन बन कार्यालयका प्रमुख निरज झाले बताए। ती रुखहरु सडक निर्माण गर्ने क्रममा एक वर्ष अघिदेखि कटान हुदै आएका थिए।

सडक निर्माणका क्रममा उक्त राष्ट्रिय बनका एक हजार ७३१ वटा रुखहरु कटान हुँदा चार हजार सात थान काठको ४७ हजार ७८३ क्यूविक गोलिया र २४ हजार ९६५ क्युविक दाउरा डिभिजन बन कार्यालयलाई कार्यक्रमले हस्तान्तरण गरिएको हो।

नियम अनुसार राष्ट्रिय बनभित्र पर्ने रुखहरु सडक निर्माण गर्दा कटान भएको रुखलाई नियमनकारी निकायलाई हस्तान्तरण गर्नु पर्ने हुन्छ । उक्त क्षेत्रमा घना जंगल भएको कारण सडक निर्माण गर्ने क्रममा धेरै रुखहरु कटान भएका थिए। ती गोलिया तथा दाउराको रेखदेखको जिम्मेवारी अब डिभिजन बन कार्यालयको हुनेछ । डिभिजन बन कार्यालयले प्रकृया अनुसार ती काठ तथा दाउराको ब्यबस्थापन गर्ने जनाएको छ।

हस्तान्तरण कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई र ग्रामीण पहुँच कार्यक्रमका परियोजना फिल्ड ब्यबस्थापक बिष्णुराम बिष्टको उपस्थिति रहेको थियो। उक्त सडक बेलायत सरकारको सहयोगमा निर्माण भएर प्रारम्भिक ट्याक खोल्ने कार्य पूरा भएको छ।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्