शंखरापुरमा एक विद्यालय, एक योग शिक्षक !

काठमाडौँ-राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ।

राष्ट्रिय योग दिवस मुख्य दिन माघ १ गतेदेखि शुरु भएको योग कार्यक्रममा नगरपालिकाका कर्मचारी, इलाका प्रशासन कार्यालयका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, सुरक्षाकर्मी र स्थानीयवासी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो। सहभागीमा योगप्रतिको उत्सुकता सिक्ने चाहना पाइएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आयोजना गरिएको कार्यक्रममा डा हरिप्रसाद पोखरेल, डा क्षितिज बाराकोटी, तीर्थविनोद गिरी, पतञ्जलि योग समिति नेपालका लोकनाथ खनाल, अच्युत अर्याल र रामप्रसाद सञ्जेल, ब्रह्मकुमारी राज योग सेवा केन्द्रका तिलक भाइजी, ओसो तपोवनका स्वामी अरहत, जीवन विज्ञानका मेनुका ढकाललगायतका योगगुरुले प्रशिक्षण दिएका थिए।

प्रत्येक वडामा योग भवन बनाइने

योग शिविरको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकाभित्रका सबै वडामा नियमित योग सञ्चालन गर्ने उद्देश्यअनुरुप नौवटै वडामा सामुदायिक भवन निर्माण अघि बढाइएको बताए। ऐतिहासिक महत्व बोकेको शङ्खरापुरलाई योग नगरका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी पनि उनले दिए।

नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले योगलाई नियमित र निरन्तरता दिन नगरपालिकाभित्र सञ्चालन हुने योग कार्यक्रममा नगरपालिकाको पूर्ण सहयोग रहने बताए।

प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका कम्तीमा एक शिक्षकलाई योग प्रशिक्षण दिन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। नगरपालिकाका शिक्षा शाखा प्रमुख बोधराज निरौलाले स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर विद्यालय तहमा पठनपाठन शुरु गरिएको बताए।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्