सन्दीपको हरिकेन्स २२ रनले पराजित, प्ले अफमा पुग्न कठिन

अस्ट्रेलियाको बिग बास लिग-बीबिएल क्रिकेटमा शुक्रबार सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्सले हार ब्यहोरेको छ। पर्थ स्कर्चर्सविरुद्ध व्यहोरेको हारले हरिकेन्सको प्ले अफ यात्रा कठिन बनेको छ। हुरिकेन्स २२ रनले पराजित भएको हो।

पहिला ब्याटिङ गरेको स्कर्चर्सले होबर्ट हरिकेन्सलाई एक सय ८० रनको लक्ष्य दिएको थियो। स्कचर्सका जोस इङ्लिसले सर्वाधिक ५८ रन जोडे। झाय रिचार्डसनले २९, लायम लिभिङस्टोनले २६ र जेसन रोयले २० रनको योगदान गरे। हुरिकेन्सका नाथन एलिसले चार विकेट लिए। उनले चार ओभरमा ३४ रन खर्चिए। चार ओभरमा २७ रन खर्चिएका सन्दीपले दुई विकेट हात पारे।

हरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५७ रन मात्र जोड्न सक्यो। हरिकेन्‍सका डी आर्की सर्टले ४३, पिटर ह्यान्ड्सकम्बले ३०, टिम डेभिडले २७ र विल ज्याक्सले २१ रन बनाए। स्कर्चर्सका झाय रिचार्डसनले चार विकेट हात पारे। जेसन बेहरनडर्फले पनि २ विकेट हात पारे।

स्कचर्स १२ खेलबाट २८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको सिड्नी सिक्सर्सको ११ खेलबाट ३२ अंक छ।

हरिकेन्सको १२ खेलबाट २३ अंक जोडेर छैटौँ स्थानमा छ। १२ खेल खेलेका एडिलेड स्ट्राइकर र मेलबर्न स्टारको २४/२४ अंक छ भने सिड्नी थण्डरको २३ अंक रहेको छ। अब हुरिकेन्‍सले दुई खेल खेल्न बाँकी छ। लिग चरणमा शीर्ष चार स्थानमा रहने टोली प्ले अफमा पुग्नेछन्।

सन्दीपले यो सिजन बिग बासमा ६ खेलमा ६ विकेट लिएका छन्। दिल्लीले बुधबार सन्दीपलाई रिलिज गरेको थियो। आगामी फेब्रुअरीमा हुने अक्सनमा अब उनी सहभागी हुन पाउने छन्। दिल्लीले लगातार तीन सिजन राखेपछि सन्दीपलाई रिलिज गरेको हो। उनले आईपीएलको गत सिजन एक खेल पनि खेल्न पाएका थिएनन्।

 

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्