संविधान बनेपछि नयाँ युगको परिकल्पना गरेका थियौँ, तर केपीलाई तह लाउन सकेनौँ: प्रचण्ड

तस्बिरः बर्षा शाह।

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनेपछि नयाँ युगको परिकल्पना गरेको भएपनि केपी ओलीका कारण सम्भव नभएको बताएका छन्।

प्रचण्ड-माधव समूहले शुक्रबार राजधानीमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

संविधान बनेपछि देशमा स्थायित्व हुने, आर्थिक विकास होस्, सामाजिक न्याय होस् भन्ने चाहेपनि त्यो सपना पूरा गर्न नसकिएको उनले बताए। त्यसका लागि आफूसमेत आत्मालोचित भएको भनाइ छ।

केपी ओली प्रवृतिलाई रोक्न नसक्दा आफूहरुबाट पनि केही कमजोरी भएको स्वीकार गर्दै उनले अबदेखि ओली प्रवृतिलाई सहेर नबस्ने प्रतिवद्धता जनाए। उनले पछिल्लो तीन वर्षमा केपी ओलीलाई तह लाउन नसकिएको उनले बताए।

प्रचण्डले भने, ‘संविधान बनेपछि नयाँ युगको परिकल्पना गरेका थियौँ। सपनालाई तीन वर्षमा पूरा गर्न सकेनौँ। केपी ओलीले सहमति गर्ने कार्यान्वयन नगर्ने गर्दा यस्तो भयो। केपीलाई तह लाउन सकेनौँ। हाम्रो पनि केही कमजोरी भयो। केपी ओली प्रवृतिलाई ठीक गर्न सकिएन। आत्मालोचना गर्न चाहन्छु।’

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद पाउनको लागि के पी शर्मा ओलीले जे पनि सहमति गर्ने तर कार्वान्वयन भने केही पनि नगरेको पनि बताएका थिए।

‘हाम्रो उदारतालाई कमजोरी ठानेर ओलीले मनलाग्दी निर्णय लिने गरे,’ उनले भने।

माघ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्