कोरोना खोप उत्पादन गर्ने भारतीय कम्पनीमा लागेको आगोका कारण १० अर्बको क्षति

कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिच्यूडले आफ्नो उद्योगमा भएको आगलागीबाट १० अर्ब (भारु) बराबरको नोक्सानी भएको बताएको छ।

सिरमको उद्योगमा गएको बिहीबार आगलागी भएको थियो। उद्योगमा लागेको आगोका कारण अर्बौँको नोक्सानी भए पनि खोप भने सुरक्षित रहेको सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पूनावालाले बताएका छन्।

कोरोना भाइरसविरुद्धको खोपको आपूर्तिमा आगलागीले कुनै असर नगर्ने पनि उनले बताएका छन्।

औषधि उत्पादन गर्ने पुणेस्थित उद्योगमा भएको आगलागीमा पाँचजनाको ज्यान गएको थियो।

सिइओ पूनावालाले बताएका छन्, ‘कोभिड–१९ को खोप उत्पादनमा आगलागीले कुनै असर गरेको छैन। औषधि उत्पादनका धेरै उद्योग छन् हाम्रा। कोरोना भाइरसविरुद्धको खोपको उत्पादनमा कुनै असर नपरे पनि बिसिजी खोपको आपूर्ति भने प्रभावित हुन सक्छ। आगलागीबाट हामीलाई ठूलो आर्थिक नोक्सानी भएको छ।’

आगलागीमा ज्यान गुमाउने कर्मचारीको परिवारलाई २५ लाख (भारु) दिने घोषणा पनि कम्पनीले गरेको छ।

माघ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्