प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा सुदूरपश्चिम ६ विकेटले पराजित

सांकेतिक तस्बिर

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

शनिबार मुलपानीस्थित क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा सबै  विकेट गुमाउँदै ६२ रन जोडेको थियो।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन बनाएपनि अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४, अनिल खरेल र विक्रम भुसालले समान २ तथा सन्दीप सुनार र दिपेन्द्र रावतले एक–एक विकेट लिए।

६३ रनको लक्ष्य लिएर जवाफी व्याटिङ गरेको लुम्बिनीले १४ ओभर ५ बलमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। लुम्बिनीका लागि सौरभ खनालले १८, प्रकाश केसीले १७ र कृष्ण कार्कीले १५ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले २ र विनोद लामाले एक विकेट लिए।

हारसँगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ। सुदूरपश्चिम लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको हो। उसको एक खेल भने अझै बाँकी छ।

माघ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्