अहिलेको व्यवस्था सिध्याउने प्रयासस्वरुप संसद विघटनः रामनारायण विडारी

फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले अहिलेको व्यवस्था सिध्याउने प्रयास स्वरुप प्रतिनिधि सभा विघटन गरिएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले वर्तमान व्यवस्था सिध्याउने प्रयास स्वरुप प्रतिनिधि सभा विघटन गरिएको बताए।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै उनले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनावद्ध रुपमा विघटन गराएको उनको भनाइ छ।

संविधानमा ५ वर्षमा निर्वाचन गरिने व्यवस्था गरिएको भएपनि प्रधानमन्त्रीले अढाई वर्षमै निर्वाचन गर्ने हुकुमी शासन गरेको उनले बताए। वैशाखमा कुनैपनि हालतमा निर्वाचन नहुने उनले दाबी गरे।

त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले संसदमा कुनैपनि नीति, कार्यक्रम फेल नभएका प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नभएको धारणा राखे।

वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने उनको भनाइ छ। प्रतिनिधि सभा पुनर्स्थापना आवश्यक रहेको उनले बताए।

वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले जनतामा अभिमत लिन निर्वाचनमा जानुलाई निरंकुशता भन्न नमिल्ने धारणा राखे। नेपाली जनताको राष्ट्रिय सत्ता र सम्प्रभुतामा विश्वास गर्ने हो भने जनताको अभिमत लिने कुरा निरंकुशता नभएको उनको तर्क थियो।

माघ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्