डा. सुगमजंग केसीसँग अन्तर्वार्ता

बेवारिसे शव बेबारिसे होइनन्

२०७२ साल बैशाखमा गएको भूकम्प गयो। भूकम्पमा परि हजारौँले ज्यान गुमाए। त्यही बेला ज्यान गुमाएका कैयौँ शव विभिन्न अस्पतालमा थुपारिएका थिए।

त्यही थुपारिएका बेवारिसे शव  व्यवस्थापनमा काम गर्ने अवसर उनलाई पनि जुर्‍यो। शिक्षण अस्पतालको शव गृहमा लथालिङ्ग फ्याकिएका शवलाई बेवारिसे भन्दै धमाधम जलाउन थालियो।

यस अनुसार विभिन्न समयमा बेवारिसे रुपमा रहेका शवहरुलाई नगरपालिकाले व्यवस्थापन गर्ने प्रावधान अनुरुप मिति २०७२ साल वैशाख १८ गते २० जना र १९ गते ३ गरी कुल २३ वटा शवको व्यवस्थापन पशुपति आर्यघाटमा दाहसंस्कार गरी यसको प्रतिवेदन पेश गरियो।

शिक्षण अस्पतालमा रहेका शव व्यवस्थापन गर्नको लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज तथा काठमाडौँ महानगरपालिकाको ३ नम्बर वडा कार्यालय, शीतल निवासको समन्वयमा भूकम्पको समयमा केही बेवारिसे शवहरु दाहसंस्कार गरिएको थियो।

उनले भने, ‘यसमा महानगरीय प्रहरी परिसरबाट काठमाडौँ महानगरपालिकालाई अनुरोध भइआएमा बेवारिसे रुपमा रहेको नगर भित्रका शवहरुलाई व्यवस्थापन अर्थात अन्त्येष्टि गर्ने प्रावधान रहेछ।’

तर त्यो कुरा मन्जुर भने भएन, ४७ वर्षका डा. सुगमजङ्ग केसी र उनको टिमलाई। जसका कारण उनीहरुले शिक्षण अस्पतालको मुर्दा घर, पुस्तकालय तथा क्याम्पस परिसरम लगायत विभिन्न ठाउँमा दबावमुलक पर्चा टाँसे।

जसमा लेखिएको थियो ‘अति भयो अझै पनि परिचय नखुलेको व्यक्ति र पहिचान नखुलेका शवको विवरण व्यवस्थित गरियोस्’।

डा. केसीले भने, ‘हामीले विभिन्न ठाउँमा त्यसरी पर्चा टाँसेर दबावमुलक प्रदर्शन गरेपछि अन्त्यष्टि गर्ने काम रोकियो। बिस्तारै मानिसहरु आफन्त खोज्दै अस्पताल–अस्पताल पुग्न थाले। आफन्तको शव फेला पारे। उनीहरु त्यो समयमा दुःखको आँशु झारिरहेका थिए। तर हामीलाई खुशी भएको थियो। किनकी कुनै परिवारले घरको सदस्य फर्किएर आउला भन्ने प्रतिक्षाको घडी समाप्त भएको थियो।’

‘भूकम्पमा परी मृत्यु भएकाको शव जलाइएको भनी शव दर्ता पुस्तिका बन्यो। तर उक्त पुस्तिकामा जलाइएका ती शवहरु क–कसको थियो। उनीहरु को थिए? उनीहरुको फोटो कस्तो छ भन्ने कुनै अभिलेख कसैसँग पनि छैन। यसरी एकातिर भूकम्पमा मानिस हराएको पीडा र अर्कोतिर सरकारले कुनै अभिलेख बिना धमाधम शवहरु दाहसंस्कार गर्नाले बेपत्ताका परिवारले आफ्नो सदस्यको बारेमा जान्ने सूचनाको हकको समेत अन्त्येष्टि गरिएको छ’, उनले थपे।

भूकम्प वा कुनै पनि विपद्का बेला मात्रै शव बेवारिसे हुन्छन् भन्ने हुँदैन। जुनसुकै ठाउँमा जहाँ पनि बेवारिसे शव हुन सक्ने उनले बताए। अहिले यही विषयलाई उठाएर डा. केसी र उनका दुई जना साथी, (४२ वर्षका सुनिल महर्जन र २३ वर्षका लोहित श्रेष्ठ) माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।

उनीहरु बेवारिसे शव पहिचानका लागि आवाज उठाइरहेका छन्।

के छन् मागहरु?

डा. केसीले भने,‘बेवारिसे शव सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले दिएको सिफारिस कार्यान्वयन गरियोस्।’ यसका लागि उनीहरुले चार वटा माग राखेका छन्।
– शवको औँठा छापलाई राज्यसँग भएको मतदाता, राहदानी वा नागरिकता आदि प्रमाण पत्रको अभिलेखसँग रुजु गरि पहिचान खुलाइयोस्

– प्रष्ट मुखाकृति देखिने फोटो र संक्षिप्तविवरण राष्ट्रिय र स्थानिय संचार माध्यममार्फत सार्वजनिक गरियोस्

– नेपाल सरकारले बेवारिसे र हराएका मानिसका लागि विदेशमा जस्तै छुट्टै वेभसाइट खोली सार्वजनिक गर्ने र बेपत्ताका परिवारलाई बेवारिसे शवहरु पनि हेर्न मिल्ने गरी प्रचार प्रसार गरियोस्

– बेवारिसे शवबाट संकलन गरिएका सबैका डिएनए नमूना मध्ये सडेगलेका शवहरुको हकमा नमूना तत्काल परीक्षण गरी सुरक्षित राखियोस्।

‘सरकारलाई यो काम गर्न त्यति गाह्रो छैन। हुन त बेवारिसे शवमा कसैको ध्यान गएकै छैन। बेवारिसे भनिएको शवले आफन्त पाओस् भन्ने हाम्रो उद्देश्य हो’, उनले थपे।

चिया गफले जुराएका साथी

सुनिल डा. केसीका छिमेकी पनि हुन्। उनीहरु बिहान सँगै चिया पिउँदा भेट हुन्थ्यो। त्यही क्रममा उनीहरुबीच गफगाफ सुरु भयो। डा. केसीले आफूले गरिरहेको कामको (बेवारिसे शव) बारेमा सुनाए, सुनिललाई। उनको कुरा सुनेर सुनिल उत्साहित भए। यो काममा अाफै खटेर लाग्नु पर्ने बताए।

सुनिलको कुराले अझै हौसला पाए, डा. केसीले। काम गर्ने उर्जा आयो। जोस बढ्यो। दुवै जना मिलेर काम गर्ने योजना बनाए।

डा. केसी र सुनिलको योजनामा फेरि सामिल भए, लोहित श्रेष्ठ। तीन जना मिलेर योजना बनाए। आफूले गर्न लागेको काममा कसरी अगाडि बढ्न सकिन्छ? कसरी सरकारलाई घच्घच्याउन सकिन्छ?  यसैका लागि अहिले उनीहरु धर्नामा बसिरहेका छन्। सुतिरहेको सरकारलाई बिउँझाउने प्रयास गरिरहेका छन्। जबसम्म आफ्नो लक्ष्यमा पुग्दैनन्। तबसम्म लागिरहने उनीहरुकाे भनाइ छ।

परिवारको साथ

उनीहरु तीनै जनालाई परिवारले सधै राम्रो काम गरिहेका छौँ भन्दै हौस्याइरहन्छ। ‘राम्रो काम गरिरहेका छौँ। अझै राम्रो गर्नु हामी तिम्रो साथमा छौँ। घरका सबै जानले यही भन्नुहुन्छ’ लोहितले भने।

पहिला पहिला बेवारिसे शवको पहिचानका लागि आवाज उठाइरहेका छौँ भन्दा धेरैले डा. केसीलाई नराम्रो नजरले हेर्थे। तर अहिले उनै मानिसहरु स्यावासी दिइरहेका छन्। डा. केसीले भने,‘छोरीको स्कुलमा म्याडमहरुले राम्रो काममा लाग्नु भएको छ भन्दै मेरो श्रीमतीसँग प्रशंसा गर्नु भएछ। जसले मलाई काम गर्न अझै जाँगर थपिदिएको छ।’

लोहित र डा. केसीलाईझैँ आफूलाई पनि परिवारले साथ र सहयोग गरिरहेको सुनिलले बताए।

बेवारिसे शवमा काम गर्नुको उद्देश्य

‘कुनै पनि परिवारमा कोही व्यक्ति मरेर गयो भने केही वर्षपछि मनको घाउ बिस्तारै पुरिँदै जान सक्छ। तर बेपत्ता परिवारको सदस्यहरुलाई पर्ने पीडा बाँचुञ्जेल हुन्छ। उनीहरु आज घर फर्किन्छ कि भोलि घर फर्किन्छ कि भन्दै सधैँभरी पर्खाइमा बसिरहन्छन्’, डा. केसीले भने।

उसो त मृत्यु भएका व्यक्तिको याद नै नआउने भन्ने होइन। मृत्युलाई स्वीकार गरेको परिवारलाई फर्किएर आउँछ भन्ने आशा हुँदैन। तर बेपत्ता भएको हो भने उसको परिवारले सधैँ उसको प्रतिक्षा गरिरहेकाे हुन्छ। एक न एक दिन कसो फर्किएर नआउँला र? यो आशा उनीहरुको मनमा जहिल्यै आइरहन्छ।

विभिन्न ठाउँमा फेला परेका तर पहिचान नखुलेका शवहरु यसै समाजका कुनै न कुनै परिवारका सदस्यकाे रहेकाे कुरा सबैले बुझ्न पर्ने केसीले बताए।

के छ अन्तर्राष्ट्रिय अभ्यास?

विश्वका विभिन्न देशले बेवारिसे शव पहिचानका लागि वेभसाइट बनाएका छन्। डा. केसीका अनुसार जसमा पहिचान नखुलेका शवको तस्बिर र पहिचान खुल्ने विवरण उल्लेख गरिएको हुन्छ। त्यही बेपत्ता भएका परिवारले वेभसाइट हेरेर आफ्नो आफन्तको पहिचान गर्ने गर्छन्।

डा. केसीले भने,‘यो अभ्यास छिमेकी राष्ट्र भारत र बंगलादेशमा पनि छ। नेपालमा पनि यो अभ्यास प्रयोगमा ल्याउन सके वर्षौँदेखि पहिचान नखुलेका शव आफन्तलाई सजिलै हस्तान्तरण गर्न सकिन्थ्यो।’

नेपालमा कति छन् बेवारिसे शव?

भूकम्पमा मृत्यु भएका मध्ये अझै पनि ३२ वटा शव बेवारिसे रहेको उनले बताए। उक्त शवको अस्थायी रुपमा शिक्षण अस्पतालको खाली जग्गामा दाहसंस्कार गरिएको छ।

डा. केसीका अनुसार उक्त शवको पहिचान गर्दै आफन्त खोज्न आएकाहरुलाई दिइने छ। उनले भने,‘शवको पहिचानका लागि हामीले नम्बर राखेका छौँ। सोही नम्बर अनुसार पहिचान भएर आफन्त आएपछि उनीहरुको संस्कार अनुसार शव अन्तिम संस्कारका लागि बुझाइने छ।’

उनले अघि भने, ‘बेवारिसे भनिएका शवका आफन्तहरु भूकम्पमा बेपत्ता भन्दै बसिरहेका पनि हुन सक्छन्। उनीहरुको पहिचान खुलाइयो भने आफन्तले चिनेर शव लैजान सक्छन्।’

डा. केसीका अनुसार अहिले देशभर १ सय १४ वटा बेवारिसे शव छन् भने काठमाडौँको शिक्षण अस्पतालमा मात्रै ४४ वटा बेवारिसे शव छन्।’

माघ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्