नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (जनवरी १७-२३)

तथ्यांक हेरेर दंग पर्ने कि वास्तविकता केलाउने?

विश्वमा कोरोना प्यान्डेमिक सुरु भएसँगै सबै देशहरु यसको नियन्त्रण र निवारणमा लागिपरेका छन्। अझै भनौं उनीहरुका बीच होडबाजी नै चलेको छ। त्यसमाथि अहिले कोरोना बिरुद्धको भ्याक्सिनको अनुसन्धान र उत्पादनमा पनि धेरै देशहरु दिनरात खटिराखेका छन्। जतिसुकै लागिपरे पनि आजको मितिसम्मको यथार्थ यो हो कि कोरोना बिरुद्धको लडाईं जारी छ र हालसम्म कोरोनामाथि  मानबजातिले बिजय प्राप्त गर्न सकिसकेको छैन। कोरोनामाथि बिजय प्राप्त गर्न गर्नुपर्ने थुप्रै कुराहरुमध्ये एक हो प्रशस्त परीक्षण गर्ने। प्रसस्त परीक्षण गर्नु कुनै पनि प्यान्डेमिकको सफल नियन्त्रणको लागि सबैभन्दा महत्वपूर्ण औजार अथवा हतियार हो। प्यान्डेमिकमा परीक्षणको बारेमा यस शृंखलाका गएका अंकहरुमा पनि प्रसस्त चर्चा गरिसकेको छ। यस अंकमा पनि परीक्षणको बारेमा केही थप  चर्चा गरिने छ।

सबैलाई थाहा भएकै कुरा हो विश्वका सबै देशहरुमा कोरोना परीक्षण एकनासले भएको छैन र त्यसैले गर्दा विश्वमा प्यान्डेमिकको प्रकोप पनि देश अनुसार फरक फरक छ। परीक्षण  कति मात्रामा गर्ने भन्ने, परीक्षण गर्ने नीति आदि  प्रत्येक देशको सामाजिक, भौगोलिक, धार्मिक आदि अवस्थामाभर पर्ने कुरा हो। त्यस्तै प्यान्डेमिकको अवस्थामा परीक्षण गर्ने कुरा प्रत्यक्ष रुपमा देशको विकास र आर्थिक अवस्थासँग पनि जोडिएको हुन्छ।

आवर ओर्ल्ड इन डाटा(Our World in Data)का अनुसार देशको विकास तथा आर्थिक अवस्था र कोरोना परीक्षणको अवस्था दाँजेर हेर्ने हो भने बिकसित देशहरुले बढी मात्रामा कोरोना परीक्षण गरेको देखिएको छ भने कम बिकसित देशहरुले कम मात्रामा परीक्षण गरेका छन्। उदाहरणको लागि यूरोपका बिकसित देशहरु स्विज़रल्याण्ड, डेनमार्क, नर्वे आदिले परीक्षण प्रसस्त गरेको पाइन्छ। त्यस्तै एसियाका बिकसित देशहरु सिंगापुर, कतार, साउदी अरेबिया, कुवेत, कोरियाले पनि प्रसस्त परीक्षण गरेको पाइन्छ। त्यस्तै कम बिकसित देशहरु अफ्रिकाका नाइजेरिया, सेनेगल, टोगो, दक्षिण एसियाका नेपाल, बंग्लादेश, पाकिस्तान आदिले अति कम परीक्षण गरेको देखिन्छ। कुनै कुनै देश आर्थिक रुपमा सम्पन्न र बिकसित भए पनि कम परीक्षण गरेको देखिन्छ। जस्तै जापान, मेक्सिको आदि देशहरु नेपालभन्दा आर्थिक रुपमा सम्पन्न भए पनि नेपाललेभन्दा कम परीक्षण गरेको देखिन्छ। परीक्षण कम गरेकै कारणले हाल मेक्सिको विश्वमै सबैभन्दा धेरै संक्रमण दर भएको देश बन्न पुगेको  छ भने जापानले पनि कोरोना संक्रमण त्यति सन्तोषजनक हिसाबले गर्न सकेको छैन । हुनत परीक्षण गर्ने कुरा देशको आर्थिक अवस्थामा मात्रै भर पर्ने कुरा नभई आ-आफ्नो नीति पनि हो। दक्षिण एसियाका देशहरुको आर्थिक विकासको स्तर (GDP per capita) र तिनीहरुले गरेका कोरोना परीक्षणको तुलना चित्र न. १ मा देखाइएको छ । चित्रमा X Axisले बिकासको स्तर र Y Axisले परीक्षणको मात्रा देखाएको छ। चित्रमा देखाइए अनुसार नेपालको विकासको स्तर दक्षिण एसियामा सबैभन्दा कम छ तर पाकिस्तान र बंग्लादेशको परीक्षण नेपालकोभन्दा कम देखिन्छ। भुटान र अफगानिस्तानको यस सम्बन्धी तथ्यांक उपलब्ध हुन सकेन। विश्व बैंकका अनुसार दक्षिण एसियाका देशहरुमा विकासको स्तर पहिलोदेखि अन्तिमसम्म क्रमस: माल्दिभ्स, श्रीलंका, भुटान, भारत, पाकिस्तान, बंग्लादेश, नेपाल र अफ्घानिस्तान पर्दछन्।

यसै परिप्रेक्ष्यमा अक्सफोर्ड विश्वविद्यालयको एक बिभागले कोरोना भाइरस गभर्नमेन्ट रेस्पोन्स ट्रयाकर Coronavirus Government Response Tracker (OxCGRT) को तथ्यांक प्रयोग गरी गरेको एक अनुसन्धानमा  विश्वका विभिन्न देशहरुले प्यान्डेमिककालमा कोरोना परीक्षणको कस्तो नीति लिएका छन् भनी अध्ययन गरेको छ। उक्त अध्ययनले विश्वका सबै देशहरुलाई यसनीतिका आधारमा चार समूहमा विभाजित गरेको छ। ती चार नीतिहरु हुन्- परीक्षण नगर्ने नीति, लक्षण भएका र विशेष मापदण्ड पूरागरेका मात्रैको परीक्षण गर्ने नीति, लक्षण भएका सबैको परीक्षण गर्ने नीतिर खुल्लारुपले आम जनताको परीक्षण गर्ने नीति।

यी चार नीतिहरुमा प्यान्डेमिकको हिसाबले पक्कै पनि चौथो या खुल्लारुपमा आम जनताको परीक्षण गर्ने नीति नै उत्तम हो। तर यसको लागि नीति लिएर मात्रै भएन परीक्षण गर्ने मापदण्ड र योजना पनि बनाउनु आवश्यक हुन्छ । परीक्षण गर्ने लक्षित समूह पनि निर्धारण गर्नु पर्ने हुन्छ । त्यस्तै कोरोना परीक्षण एक महँगो प्रबिधि भएको हुनाले श्रोत र साधनको खेर नजाओस् भनी निकै ध्यान दिई होशियारी तथा इमानदारीका साथ काम गर्नु पर्ने हुन्छ । त्यस्तै लक्षण भएका सबैको परीक्षण गर्ने नीति पनि उत्तम हो । यस नीतिमा संक्रमितको सम्पर्कमा आएकाहरु पनि पर्दछन् र यसमा लक्षितवर्ग पनि निर्धारित हुन्छ । प्यान्डेमिकको अवस्थामा यी माथि उल्लेख गरिएका नीतिहरु उत्तम हुन् भने बाँकी रहेका नीतिहरु प्यान्डेमिक मात्रै होइन बैज्ञानिक हिसाबले पनि राम्रा होइनन्।

यसरी आवर वर्ल्ड इन डाटा (Our World in Data)ले सो अध्ययन उधृत गरे अनुसार विश्वमा परीक्षण नगर्ने नीति लिएको देशहरुमा एक मात्र देश तुर्कमेनिस्तान पर्दछ जुन मध्य एसियामा इरान, अफगानिस्तार र उज्बेकिस्तानका बीचमा अवस्थित छ। त्यसैले गर्दा तुर्कमेनिस्तानमा हाल सम्म पनि एक जना पनि कोरोना संक्रमण भएको व्यक्ति भेटिएको छैन। आवर ओर्ल्ड इन डाटाका अनुसार  उत्तर कोरियाको पनि झन्डै त्यस्तै अवस्था भए पनि त्यहाँको बारेमा यकिन जानकारी भेटिएको छैन। त्यस्तै WHO का अनुसार हालसम्म कोरोना संक्रमणका एक जना व्यक्ति पनि नभेटिएका देशहरुमा उत्तर कोरिया लगायत अन्य स-साना टापूहरु पर्दछन् जस्तै पश्चिमी प्रशान्त महासागर (West Pacific Ocean)मा रहेका टापुहरु पलाउ, नाउरु, टुभालु, वेक आइल्याण्ड आदि पर्दछन्। सम्भबत ती देशहरुले पनि परीक्षण नै नगर्ने नीति लिएका हुन सक्दछन्। यस प्यान्डेमिक कालमा जति नै धेरै मिहेनत गरेर साबधानी अपनाए पनि या कोरोना संक्रमणको रोकथामका उपाय जति नै गरेता पनि संक्रमण शून्य हुन असम्भब प्राय देखिन्छ।

प्यान्डेमिकको सन्दर्भमा यहाँ उत्तर कोरियाको छोटो चर्चा गर्नु सान्दर्भिक मात्रै नभई रोचक पनि हुनेछ । विश्वमा जबजब प्यान्डेमिकका घटनाहरु घटे तबतब उत्तर कोरियाले प्यान्डेमिक नियन्त्रणमा अन्य देशको दाँजोमा सफलता पाएको देखिन्छ। हालको कोरोना प्यान्डेमिकको कुरा गर्दा माथि उल्लेख गरिए जस्तै हालसम्म उत्तर कोरियामा कोरोना संक्रमण र त्यसका कारण भएको मृत्यु शून्य छ। उत्तर कोरिया एक निर्दलीय र अप्रजातान्त्रिक देश भएको हुनाले त्यहाँको कोरोना प्यान्डेमिकको बारेमा तथ्य तथा तथ्यांकहरु त्यति स्पष्ट र पारदर्शी नभएता पनि त्यो देशमा चिकित्सक तथा अन्य चिकित्साकर्मीहरु जनसंख्याको अनुपातमा अन्तभन्दा धेरै नै छन् र त्यहाँ जना स्वास्थ्य तथा सार्बजनिक सरसफाइ पनि निकै राम्रो भएको मानिन्छ । चीनको वुहान सहर, जुन चीनको दक्षिणपूर्वमा अवस्थित छ, कोरोना प्यान्डेमिकको उद्गम स्थल भए पनि उत्तर कोरियासँग जोडिएका दुई प्रान्तहरु  लिआओनिंग र जिलिनमा भने कोरोना संक्रमण निकै कम देखिएको छ जुन उत्तर कोरियाको लागि लाभदायी सिद्ध भयो। उत्तर कोरियाका दुई अति नजिकका सीमा जोडिएका छिमेकी देशहरु हुन् चीन र दक्षिण कोरिया  जहाँ विश्वमै प्यान्डेमिकको सुरुवात अन्यत्रभन्दा  निकै चाँडो भएको थियो । दक्षिण कोरियासंगको  उसको सीमा अति नै कडाइका साथ् बन्द गरिएको छ भने चीनसँगको सीमा खुकुलो छ। चीन र उत्तर कोरियाका बीच पश्चिमतिरको सीमामा एक नदी छ जसलाई यालु नदी (Yalu river) भनिन्छ। त्यसै नदीमा बनाइएको एक मितेरी पुल उत्तर कोरियाको  शिनउइझु सहर र चीनको दांगदोङ्ग सहरको युआनबाओ नगरका बीच अवस्थित छ। सो मितेरी पुल ती दुई देश बीचका औपचारिक सीमा भएको बताइन्छ र यो पुल विशेष गरी उत्तर कोरियाको लागि राजनीतिक, ब्यापारिक र अन्य प्रयोजनको हिसाबले पनि अति महत्वपूर्ण रहँदै आएको छ।

प्यान्डेमिकको उदयसँगै विश्वमा सबैजसो देशहरुले आ-आफ्नो बचाउ गर्नको लागि छिमेकी देशसँगको सीमा बन्द गरे। यसरी छिमेकी देशसँगको सीमा बन्द गर्ने देशहरुमा, विकिपेडियाका अनुसार,  उत्तर कोरिया पहिलो स्थानमा आउँछ जसले आफ्नो लागि त्यति महत्वपुर्ण छिमेकसँगको सीमा प्यान्डेमिकको सुरुवातीमै बन्द गरिदियो। WHO ले मार्च महिनाको दोस्रो हप्तामा मात्रै प्यान्डेमिक घोषणा गरेतापनि उत्तर कोरियाले त्योभन्दा करीब डेढ महिना पहिले नै जनवरी महिनाको अन्त्यतिर चीनसँगको आफ्नो सीमा बन्द मात्र गरेन उसले आफ्नो देशमा आउने र आफ्नो देशबाट बाहिर जाने सबै उडानहरु रद्द गरेको थियो। त्यस्तै जनवरीको दोस्रो हप्तादेखि देशभित्र छिरेका सबैको कडाइका साथ् स्वास्थ्य परीक्षण र सुपरिभेक्षण गर्ने निर्णय गरेको थियो जबकि त्यति बेला कोरोना भाइरसको बारेमा बिस्तृत जानकारी समेत बाहिर आइसकेको थिएन। त्यस्तै फेब्रुअरीको सुरुवाती देखि आन्तरिक यातायात नै बन्द गरिएको थियो। फेब्रुअरीको सुरुवातीसँगै सार्बजनिक आवतजावत, मनोरन्जन, खेलकुद तथा अन्य गतिबिधिमा रोक लगाइनुका साथै मास्क लगाउन अनिबार्य गरिएको थियो। बिद्यालय तथा अन्य शैक्षिक संस्थाहरु फेब्रुअरी महिनाको तेस्रो हप्तातिरै बन्द गरिएको थिए। त्यस्तै शंकास्पद संक्रमण देखिएको अवस्थामा पुरै सहर लकडाउन गर्ने र अन्य सार्बजनिक गतिबिधिमा कडाइ तथा रोक लगाउने कार्य हाल पनि उत्तर कोरियामा भइरहेको देखिन्छ। त्यस्तै चीनबाट आएको खाद्यान्न तथा अन्य सहयोग पनि उत्तर कोरियाले संक्रमण फैलिने भयले गर्दा अस्वीकार गरेको समाचार पनि बेलाबेलामा आउने गरेको छ। विश्वका  धेरै देशहरुमा WHOले प्यान्डेमिक घोषणा गरेपछि मात्र लकडाउन र अन्य गतिबिधिहरुमा रोक लगाएको देखिन्छ भने उत्तर कोरिया यो मामलामा अरुभन्दा धेरै अगाडि देखिन्छ। इतिहासमा उत्तर कोरियाले सन् २००३ मा भएको SARS प्यान्डेमिक र २०१४ मा भएको इबोला प्यान्डेमिक पनि सफलतापूर्बक नियन्त्रण गरेको देखिन्छ। यद्यपि उत्तर कोरियामा धेरै सेनालाई कोरोना संक्रमण भएको, धेरै जना मरिसकेको र धेरै जना क्वारेनटाइनमा रहेका समाचार बेला बेलामा आउने गर्दछ। उत्तर कोरिया एक निरङ्कुश र अप्रजातान्त्रिक देश भएको हुनाले पनि त्यहाँ अनुशासन पालना गर्न, नियमको पालना र नियमन गर्न र भौतिक तथा सामाजिक दुरी कायम गर्न सहयोग पुगेको देखिन्छ ।

फेरि प्यान्डेमिकमा परीक्षण सम्बन्धि नीतिको कुरा गर्ने हो भने एसिया, यूरोप र अमेरिकाका अधिकांश देशहरुले लक्षण भएका सबैको परीक्षण गर्ने या खुल्ला रुपमा आम जनताको परीक्षण गर्ने नीति लिएको देखिन्छ ।  यसरी परीक्षण गर्ने नीति सम्बन्धि विश्वका विभिन्न देशहरुले लिएका नीति चित्र न. २ मा देखाइएको छ जुन आवर ओर्ल्ड इन डाटाबाट लिइएको हो।यूरोप र अस्ट्रेलियाका  अधिकांश देशहरुले  लक्षण भएका सबैको परीक्षण गर्ने नीति लिएका छन् अमेरिकाले खुल्ला रुपमा सबैको परीक्षण गर्ने नीति लिएको देखिन्छ । त्यस्तै ल्याटिन अमेरिका रदक्षिण अमेरिकाका  धेरै देशहरुले पनि लक्षण भएका सबैको परीक्षण गर्ने नीति लिएका छन् भने मेक्सिको, ब्राजिल र बोलिभियाले भने लक्षण भएका र विशेष मापदण्ड पूरा गरेकाको मात्रै परीक्षण गर्ने नीति लिएको देखिएको छ । समरण रहोस मेक्सिको, ब्राजिल र बोलिभिया यी तीनै देशहरुकोरोना संक्रमण व्यापक रहेको  र त्यसको अनुपातमा परीक्षणअति  न्यून गरेको देशमा गनिन्छन्। दक्षिण एसियाको कुरा गर्दा नेपाल र अफगानिस्तानले खुल्ला रुपमा आम जनताको परीक्षण गर्ने नीति लिए तापनि यी दुवै देशहरुले हाल दैनिक न्यूनतम मात्र परीक्षण गररहेका छन् भने यस क्षेत्रका अन्य सबै देशहरुले लक्षण भएका सबैको परीक्षण गर्ने नीति लिएका छन् ।दक्षिण एसियाली देशहरुमा परीक्षण सम्बन्धि नीति कुन देशले कुन नीति लिएका छन् भन्ने  कुरा टेबुल न. १ मा देखाइएको छ । नीति राम्रै लिएता पनि  अफगानिस्तान विश्वमै अति न्यून परीक्षण गर्ने देशमा पर्दछ भने नेपालको हकमा माथि उल्लेख गरिए जस्तै नेपालले यस नीतिको लागि आवश्यक मापदण्ड र योजनाको तर्जुमा र त्यसको कार्यन्वयन तथा नियमन त्यति राम्ररी गरेको जस्तो देखिंदैन।

 

त्यस्तै परीक्षणको कुरा गर्दा कन्ट्याक्ट ट्रेसिंग अर्को एक महत्वपुर्ण कुरा हो जसको अर्थ हुन्छ कोरोना संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्ने। कन्ट्याक्ट ट्रेसिंगको मामलामा विश्वका कुन देशले कति ट्रेसिंग गरेको छ भन्ने कुराको अध्ययन पनि अक्सफोर्ड विश्वविद्यालयको सो बिभागले गरेको छ। विश्वमा देशहरु अनुसार कन्ट्याक्ट ट्रेसिंगको अवस्था चित्र न. ३ मा देखाइएको छ जुन आवर ओर्ल्ड इन डाटाबाट लिइएको हो । आवर ओर्ल्ड इन डाटाले उधृत गरे अनुसार यसको लागि विश्वका सबै देशहरुलाई तीन समूहमा विभाजित गरिएको छ, ती तीन समूह हुन् कुनै ट्रेसिंग नगरेको, सीमित मात्र ट्रेसिंग गरेको र पूर्ण ट्रेसिंग गरेको। ट्रेसिंगको मामलामा विश्वका अधिकांश देशहरुले कन्ट्याक्ट ट्रेसिंग पूर्णरुपले गरेको देखिन्छ। विश्वमा कोरोना संक्रमण व्यापक भएका देशहरुले पनि कन्ट्याक्ट ट्रेसिंग राम्रै गेरको या गर्न खोजेको देखिन्छ। तर त्यति गर्दा गर्दै पनि कन्ट्याक्ट ट्रेसिंग पर्याप्त नभई प्यान्डेमिक अनियन्त्रित भएको देखिन्छ। आवर ओर्ल्ड इन डाटाले उद्धृत गरे अनुसार  कन्ट्याक्ट ट्रेसिंगको मामलामा अति बिकसित देशभन्दा अलि कम बिकसित देशहरु नै अगाडि देखिन्छ। यूरोपमा धेरै देशहरुले पूर्णरुपमा कन्ट्याक्ट ट्रेसिंग गरेतापनि  सीमित मात्र कन्ट्याक्ट ट्रेसिंग गरेका देशहरु पनि त्यतिकै छन्।  बेलायत, नर्वे, जर्मनी लगायत दक्षिण पूर्बी यूरोपका धेरै जसो देशहरु  फ्रान्स, इटाली, ग्रिस, बुल्गेरिया, टर्की,  रुमानिया, बेलारुस, रसिया आदि देशहरुले पूर्ण  कन्ट्याक्ट ट्रेसिंग गरेको देखिन्छ भने स्वीडेन, फिनल्याण्ड, पोल्याण्ड, डेनमार्क, नेदरल्यान्ड्स, आयरल्याण्ड, स्पेन, पोर्चुगल आदि देशहरुले सीमित मात्र कन्ट्याक्ट ट्रेसिंग गरेको देखिन्छ। त्यस्तै अमेरिका, क्यानाडा जस्ता अति बिकसित देशहरुले पनि सीमित  मात्र कन्ट्याक्ट ट्रेसिंग गरेको देखिन्छ भने अस्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, कोरिया, चीन आदि देशहरुले पूर्ण रुपमा कन्ट्याक्ट ट्रेसिंग गरेको देखिन्छ। दक्षिण एसियाको कुरा गर्दा नेपाल र अफगानिस्तानले सिमित मात्र कन्ट्याक्ट ट्रेसिंग गरेको देखिन्छ भने बाँकी देशहरुले पूर्ण ट्रेसिंग गरेको देखिन्छ । टेबुल न. २ मा दक्षिण एसियाका देशहरुमा कन्ट्याक्ट ट्रेसिंगको अवस्था देखाइएको छ।

प्यान्डेमिकमा परीक्षणको कुरा गर्दा एकातिर कन्ट्याक्ट ट्रेसिंगको महत्व धेरै हुन्छ भने अर्को तिर यसले मात्रै पनि पुग्दैन।  कन्ट्याक्ट ट्रेसिंगमा सम्पर्कमा नआएका र लक्षण नभएकाहरु पर्दैनन् जो संक्रमणको  स्रोत मात्रै नभई अरुलाई संक्रमण सार्ने माध्यम पनि हुन सक्दछन। त्यसको लागि कन्ट्याक्ट ट्रेसिंग र खुलारुपमा आम जनता सबैको परीक्षण गर्नु जरुरी देखिन्छ । विश्वमा यी दुवै कुरा प्रयाप्त र WHO को निर्देशन अनुसार गर्ने देश अति कम देखिन्छ। यूरोप, अमेरिका आदिले प्रसस्त परीक्षण गरेता पनि कन्ट्याक्ट ट्रेसिंग त्यति राम्रो गरेको देखिदैन भने जापान लगायत दक्षिण अमेरिकी देशहरुले कन्ट्याक्ट ट्रेसिंग राम्रो गरेता पनि प्रसस्त परीक्षण गेरको देखिदैन।दक्षिण एसियाली देशहरुमा केहिले यी दुवै प्रयाप्त गरेता पनि अधिकांशले दुई मध्ये एक मात्र गरेको देखिन्छ। अस्ट्रेलिया , कोरिया , शिङ्गापुर, भुटान, माल्दिभ्स  आदिले यी दुवै कुराहरु केही हदसम्म राम्ररी गरेको देखिन्छ जसले गर्दा ती देशहरुमा प्यान्डेमिकले त्यति दुख दिएको छैन ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,जनुवरी १७देखि २३ (माघ ४ देखि १०) जम्मा ७ दिनकोविश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन्। जस्तै : नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन होप्किन्स विश्वविद्यालय (John Hopkins University), WHO, ओर्ल्ड़ोमिटर  (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data) आदि । यस लेखको उद्ध्यश्य कोरोनासम्बन्धी तथ्यांकलाई सहि रुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो ।

गतहप्तापनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उतारचढ़ाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं।

दैनिक नया संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो। गत हप्ता जनवरी १७ देखि २३ (माघ ४ देखि १०) सम्म जम्मा ७ दिनको नेपालभरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र न. ४ मा प्रस्तुत गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा २१२४ जना र काठमाडौँ उपत्यकामा ११२२ जना नयाँ संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा २५३५ र काठमाडौँ उपत्यकामा १४९४ नयाँ संक्रमित भेटिएका थिए। माथिको तथ्यांकको आधारमा भन्ने हो भने गत हप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि संक्रमितको संख्या निकै घटेको पाइयो तर काठमाडौँ उपत्यकामा भने संक्रमितको संख्या गतहप्ता त्यो भन्दा अघिको भन्दा बढेको पाइयो ।

त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा ४० रह्यो भने त्योभन्दा अगाडिको हप्ता ४२ थियो।

त्यस्तै काठमाडौँ  र नेपालको अनुपात केलाउने हो भने चित्र नं. ५ मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नयाँ संक्रमण अनुपात गत हप्ता न्यूनतम ३७.०९% देखि अधिकतम ६६.५४% सम्म रह्यो भने त्योभन्दा अगाडिको हप्ता यो अनुपात ४८.६५%देखि ६४.३४% सम्म रहेको थियो। गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ५२.६३ % रह्योभने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात  करीब ५८.२६ % थियो। यसरी देशभरिको दाँजोमा काठमाडौँको नया संक्रमितको अनुपात केही महिना अगाडिभन्दा घट्दै गएको देखिएता पनि यो अनुपात बिगत केही हप्तादेखि हल्का बढ्दै गइरहेकोमा  दुई  हप्ता अगाडि यो अनुपात निकै बढेको थियो जसले गर्दा काठमाडौँ उपत्यका कोरोनाको देशकै केन्द्र बिन्दु बन्दै गएको हो कि भन्ने शंका पनि उत्पन्न भएको थियो। तर गतहप्ता यो अनुपात फेरि केही घटेको छ। गतहप्ता सिंगो देशमा जम्मा भेटिएका संक्रमित मध्ये आधाभन्दा केही धेरै काठमाडौँ उपत्यकामा भेटिएका छन्। नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकापछि कोभिड संक्रमण ज्यादा देखिएका जिल्लाहरुमा कास्की, बाँके, रुपन्देही आदि पर्दछन् ।

तर काठमाडौँ उपत्यका र देशका अरु प्रमुख सहरहरुमा प्यान्डेमिकको वास्तविक असर कत्तिको छ थाहा पाउन ती सहरहरुमा कति परीक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यस्तै प्रत्येक सहरमा संक्रमितको कन्ट्याक्ट ट्रेसिंग कत्तिको गरियो,लक्षित समूहमा परीक्षण पुग्यो कि पुगेन आदि WHOको मापदण्ड अनुसार नापेर हेर्नु पर्दछ।

दैनिक संक्रमण पोजिटिभिटी दर (Positivity Rate)

प्यान्डेमिकको मापदण्डहरुमध्ये पोजिटिभिटी दर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। पोजिटिभिटी दरको बारेमा गएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु  होला।

नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र न. ६ मा देखाइएको छ। गत हप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा कायम रहे पनि केही तल झर्दै गएको देखिन्छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ६.०७% देखि अधिकतम ८.५२%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर७.१०%रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर ६.०४% र १०.७१% काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर ८.१६ %रहेको थियो।

गतहप्ता देशभरि जम्मा ३०१७६ परीक्षण  गरियो भने त्योभन्दाअगाडिको हप्ता जम्मा ३०९८४ परीक्षण गरिएका थिए। हाल नेपालमा दैनिक औसतमा करीब साढे चार हजार भन्दा कम मात्र परीक्षण गरिँदै आएको छ ।

यसबाट के देखिन्छ भने पछिल्लो समयमा दक्षिण एसियाली देशहरुमा प्यान्डेमिकको अवस्था स्थिर देखिएको छ भने नेपालको अवस्था गत २-३ महिनादेखि क्रमिक रुपमा घट्दै आएको छ। यो निकै खुशीको कुरा हो । तर जुन अनुपातमा दैनिक संक्रमितको संख्या घट्दै गएको छ त्यही अनुपातमा दैनिक मृत्युको संख्या भने घटना सकेको छैन। तथ्यांकहरुले  नेपालको कोरोना संक्रमण र प्यान्डेमिक नियन्त्रणको अवस्था अन्य दक्षिण एसियाली देशहरुभन्दा नाजुक भएको देखाउँछ। केही महिना अगाडिसम्म नेपलाको सक्रिय संक्रमण अति उच्च थियो भने हाल यो निकै तल झरेको छ।

समग्रमा गत हप्ताको आँकडा हेर्दा नेपालमा प्यान्डेमिकओरालो लाग्ने क्रम जारी छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमितभन्दा कम देखिएको छ। तर कोभिड संक्रमित घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु पनि हो । परीक्षण कम गर्दा प्यान्डेमिक लुकेर बस्ने  सम्भावना भने पक्कै पनि हुन्छ। पर्याप्त परीक्षण गर्दागर्दै दैनिक नया संक्रमित र नया मृत्यू घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ।

यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २६९१८० जना मानिसलाई कोरोना संक्रमण भइसकेको छ जसमा करीब ३५% महिला र ६५%पुरुष छन्।  त्यस्तै १९९४ जनाले यसै संक्रमणका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्। त्यस अर्थमा नेपालको  हालसम्मको समग्र कोरोना मृत्यूदर (Cumulative death rate) करीब ०.७४% छ, हालसम्म जम्मा संक्रमितमध्ये  १.२८% संक्रमित बाँकि छन् र     ९७.९८% संक्रमितहरु संक्रमण मुक्त भइसकेका छन् । हालसम्म नेपालमा २०३८८४२ जनाको PCR परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी (Cumulative positivity) १३.२% जति देखिएको छ।

जे होस्, दक्षिण एसियाका अन्य देशहरुमा जस्तै नेपालमा पनि कोरोना प्यान्डेमिक घट्दै जाने क्रम जारी छ। त्यसै अनुरुप जनजीबन पनि सामान्य बन्दै गएको अवस्था छ। हाल परीक्षण कम गर्दै गएको हुनाले पनि कोरोनाको संक्रमण कम हुँदै गएको देखिन्छ। तथ्यांकमा  सुधार आउनु एउटा कुरा हो भने वास्तविक सुधार हुनु अर्को कुरा । तसर्थ तथ्यांक मात्रै हेरेर दङ्ग पर्नुभन्दा वास्तविकता केलाउनु आजको आवश्यकता हो। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई भुल्न सकिंदैन। त्यसैले हरेक व्यक्तिले भौतिक दुरी कायम  गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि साबधानीका कुराहरु अपनाउनु पर्ने देखिन्छ ।

यस शृंखला तथा यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएको कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ ।

(कन्सल्टेन्ट न्यूरो सर्जन तथा कोभिड ज्ञाता डा. श्रेष्ठ ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा काम गर्छन्।)

माघ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्