कर्णाली प्रदेशमा पहिलो चरणमा ११ हजारलाई कोरोनाविरुद्ध खोप लगाउने तयारी 

सिमकोट- कर्णाली प्रदेशमा पहिलो चरणमा साढे ११ हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरिएको छ। प्रदेशको राजधानी सुर्खेतमा कोल्ड स्टोर नभएका कारण खोप लुम्बिनी प्रदेशको नेपालगन्जबाट पठाउन लागिएको हो।

यस्तै विमानबाट आपूर्ति गर्न सुर्खेतबाटभन्दा नेपालगन्जबाट सहज हुने देखिएपछि सुर्खेत भन्दा नेपालगंज लिन सहज हुने भएको हो। सुर्खेतमा आपूर्ति केन्द्र नभएको बताउदै कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्काले कोरोनाविरुद्धको खोप नेपालगन्जबाटै वितरण गर्ने तयारी भएको बताए।

नेपालगन्जमा रहेको साविक क्षेत्रीय आपूर्ति केन्द्रको स्टोरमा कोरोना खोप स्टोर गरिनेछ। सुखेत्मा दुई वटा मात्र फ्रिज भएको कारण सबै खोप स्टोर गर्न कठिन हुने भएपछि सुर्खेत ल्याउन नसकिने उनले बताए।

डोल्पा, हुम्ला, जुम्ला र मुगुमा नेपालगन्जबाटै आपूर्ति गर्न सहज हुने निर्देशनालयले जनाएको छ।यस्तै कालिकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुमपश्चिममा पनि नेपालगन्जको स्टोरबाटै वितरण गरिनेछ।

साना आकारका दुई वटा मात्रै फ्रिज भएका कारण सबै खोप स्टोर गर्न नसकिने निर्देशनालयले जनाएको छ। नेपालगन्जबाट कर्णालीका विभिन्न जिल्ला पुर्‍याएको एक सातामा खोप लगाइन सुरु गरिनेछ।

कुन जिल्लामा कति जनालाई खोप लगाइन्छ भन्‍ने विषयमा भने निश्‍चित भइ नसकेको निर्देशनालयले जनाएको छ। यो जिल्लाबाट बिबरण आएपछि थाहा हुने निर्देशनले जनाएको छ।

माघ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्