बिमिताले देखेको ‘वाइल्डलाइफ फोटोग्राफी’को सपना

चितवनकी बिमिता भण्डारी सानैदेखि जंगलसँग जोडिइन्। बुवा चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको सामुदायिक वनमा वनपाले थिए। बुवा जंगलतिर जाँदा बिमिता पनि पछिलाग्थिन्। एक हिसाबले उनी जंगलमै हुर्किइन्।

जंगलमा समय बिताउन आनन्द लाग्थ्यो उनलाई। वनजंगलप्रतिको लगाब बढ्दै जाँदा उनले पेशा पनि त्यस्तै अँगालिन्।

आज बिमिताले बुवाकै बाटो पछ्याएकी छन्। उनी पेशाले नेचर गाइड हुन्। २०११ मा गाइडको ट्रेनिङ लिएपछि उनले औपचारिक रुपमा नेचर गाइडको रुपमा काम सुरु गरिन्। लाइसेन्सप्राप्त नेचर गाइडका रुपमा चितवन राष्ट्रिय निकुञ्जमा आवद्ध बिमिता निकुञ्जमा घुम्न आउने पर्यटकलाई जंगल घुमाउँछिन्।

०००

बिमिताका बुवा बलराम भण्डारी हिँडडुल गर्न सक्दैनन्। करिब १२ वर्षदेखि चितवनस्थित घरमा एकोहोरो जीवन बिताउन बाध्य छन्।

वनको हेरचाह त झन् ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको छ। २०६५ सालको दुर्घटनापछि ५४ वर्षीय भण्डारीको जीवनमा ठूलो बज्रपात पर्‍यो।

बिमिताका बुवा बलराम भण्डारी।

बलराम जंगलको रेखदेखमा जाँदै गर्दा एकदिन मान्छेका पाइला देखे। उनलाई जंगलमा चोरी शिकारीका लागि कोही आएको जस्तो लाग्यो। टाढासम्मको दृश्य देखियोस् भनेर उनी रुख चढे। रुखमा चढेका मात्रै थिए, टेकेको हाँगो भाँचियो। उनी भुइँमा बजारिए।

बिमिता भण्डारी।

त्यसपछि ह्वील चेयर उनको साहरा बनेको छ। तर ह्वील चेयरमा पनि दुई घण्टाभन्दा बढी समय बस्न सक्दैनन्।

दुर्घटनापछि वन समितिले बलरामलाई काठमाडौँको जोरपाटीस्थित अर्थोपेडिक अस्पताल पुर्‍यायो। अस्पताल आएको सात दिनसम्म पनि आफूले डाक्टरको अनुहार देख्न नपाएको उनी बताउँछन्। अप्रेशन गरियो, तर उनको मेरुदण्डले काम गरेन। त्यसपछि जंगल जान नसक्ने भए।

बलरामले आफ्नो जीवनको उर्जाशील समय जंगललाई दिए। आज उनलाई औषधि किन्न पनि समस्या छ। कैयौँ ठाउँमा निवेदन दिए आर्थिक सहायताका लागि, तर उनको गुहार कसैले सुनेन।

उनी भन्छन्, ‘राष्ट्रिय निकुञ्जसँग जोडिएको जंगल भनेर ज्यान दिएर त्यतिका वर्ष काम गरेँ। औषधि खान मात्र पैसा दिए हुन्थ्यो भन्दै कति धेरै निवेदन पेश गरेँ। तर निवेदनको वास्ता नै हुँदैन।’

मेरुदण्ड भाँचिएर बलरामको काम छुटेपछि उनको काम अहिले उनकी श्रीमतीले सम्हाल्दै आएकी छन्। आफू थलिए पनि छोरीले आफ्नै बाटो पछ्याएर नेचर गाइडको काम थाल्दा उनी खुसी छन्।

०००

जंगलसँग जोडिएर काम गर्दै जाँदा बिमिताको झुकाव ‘वाइल्डलाइफ फोटोग्राफी’तिर बढ्दै गएको छ। व्यावसायिक रुपमा वाइल्डलाइफ फोटोग्राफीमा करियर बनाउने चाहना छ उनको।

रुखपातजस्तो देखिने भएर जंगलमा तस्बिर खिच्दै बिमिता।

बिमिताको मन त सानैदेखि नेपाली सेनामा प्रवेश गर्ने थियो। त्यसका लागि कोशिस पनि गरिन्। अन्तिम चरणमा छनोट हुन नसकेपछि उनले नयाँ गन्तव्य रोजेकी हुन्।

वाइल्डलाइफ फोटोग्राफीको रहर पूरा गर्न उनी वन्यजन्तुको फोटो खिच्छिन्। आफ्नो सोखले फोटो खिचे पनि यो पेशा खर्चिलो भएको बताउँछिन् बिमिता।

पाँच लाख रुपैयाँभन्दा बढी खर्चेर उनले क्यामेरा किनेकी छन्। तर अहिलेसम्म व्यावसायिक हिसाबले कुनैपनि फोटो बेचेकी छैनन्।

उनी भन्छिन्, ‘फोटोग्राफी मेरो काम होइन। सोखको रुपमा मात्र फोटो खिचिरहेकी छु। नेचर गाइडको रुपमा काम गर्दै जाँदा जंगलमा जनावरहरु देखेँ। अनि आफैलाई खिच्न मन लाग्यो त्यसैले खिचेँ। यो काम हालसम्म पेशाको रुपमा विस्तार भइसकेको छैन तर भविष्यमा भने हुन सक्ला।’

चितवन नेशनल पार्क बाहेक उनी शुक्लाफाँटा, बर्दिया नेशनल पार्क र इलाममा वन्यजन्तुको फोटो खिच्न पुगेकी छन्। पाटेबाघ, रेडपान्डा, भालु, हात्ती, गैँडा, जरायो लगायत धेरै वन्यजन्तुको फोटो खिचिसकेकी छन् बिमिताले।

वाइल्डलाइफ फोटोग्राफीमा जोखिमसमेत भएको हुँदा धेरै सावधानी अपनाउनु पर्ने उनको अनुभव छ। एकपटक चितवन राष्ट्रिय निकुञ्जमा जंगली जनावरहरुको फोटो खिच्न जाने क्रममा आफ्नो समूहमाथि गैंडाले आक्रमण गर्न खोजेको बिमिता बताउँछिन्। त्यतिबेला ज्यान जोगाउन उनीहरु क्यामेरा छोडेर रुख चढेका थिए।

‘एक–डेढ घन्टापछि बल्ल गैंडा त्यहाँबाट भाग्यो अनि हामी पनि रुखबाट आर्लियौँ। पाँच जना थियौँ समूहमा, त्यसमा लेडिज म मात्र थिएँ,’ बिमिताले सुनाइन्।

सुरुवाती दिनमा जनावरहरुको बारेमा थाहा नहुने भएकाले उनीहरुले हमला गर्न आउने सम्भावना हुने बिमिता बताउँछिन्। विस्तारै बानी भइसकेपछि र पेशागत रुपमा लागिसकेपछि कसरी जनावरबाट बँच्ने भन्ने कुरा थाहा हुँदै जाने उनको भनाइ छ।

०००

नेचर गाइडको काम थालेपछि सुरुसुरुमा केटी मान्छे भएर यस्तो काम गरेको भनेर मानिसहरु उनलाई जिस्काउँथे।

बिमिता भन्छिन्, ‘नेचर गाइड भएपछि वन जंगलमा जानु परिहाल्यो। विदेशीहरु पनि आउने भएकाले उनीहरुलाई घुमाउनु पर्ने हुन्थ्यो। कहिलेकाहीँ लामो समयसम्म पनि काम हुन्छ। हाम्रो नेपाली समाज न पर्‍यो, छोरीमान्छे भएर के काम गरेको होला? भन्नेहरु धेरै थिए।’

समाजले जे भने पनि परिवारबाट उनको काममा कुनै अवरोध भएन। बुवाबाट प्रेरित भएर नेचर गाइड बनेकी उनको पहिला कुरा काट्नेहरु पनि अहिले दंग पर्दै उनले खिचेका वन्यजन्तुका फोटो हेर्छन्।

बिमिताको विचारमा फोटोग्राफी सजिलो छैन। ‘काम गर्दै गरेको भएर चाहीँ मलाई अलिकति सहज भएको छ। नत्र भने त गाह्रो नै हुन्छ सबैकुरा म्यानेज गर्न। खर्चिलो छ धेरै नै’, बिमिता भन्छिन्।

फोटोग्राफीका लागि चाहिने सामान महँगो हुनुका साथै पर्याप्त मात्रामा ट्रेनिङ नपाउँदा यसलाई पेशाकै रुपमा अपनाउन सहज नभएको उनी बताउँछिन्। सरकारले वाइल्डलाइफ फोटोग्राफरलाई ट्रेनिङ दिन सहयोग गर्‍यो भने अलि सहज हुने उनको अपेक्षा छ।

आफूले सिकेको कुरा अरुलाई पनि सिकाउन मन छ बिमितालाई।

भविष्यको योजना सुनाउँदै बिमिता भन्छिन्, ‘समयले साथ दिएमा वाइल्डलाइफ फोटोग्राफी टुर अर्गनाइज गर्छु। अनि कतिसम्म सक्षम भइन्छ अरु फोटोग्राफी सिक्न चाहनेलाई ट्रेनिङ दिन मन छ।’

 

तस्बिर सौजन्यः बिमिता भण्डारी। 

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्