हिउँदे वर्षाको सम्भावना अझै देखिएको छैनः मौसमविद्

फाइल तस्बिबर

काठमाडौँ – मनसुन सकिएसँगै यो वर्ष हिउँदे पानी अहिलेसम्म परेको छैन। मौसमविद् विभूति पोखरेलका अनुसार विगतका वर्षमा यो अवधिसम्म कम्तीमा दुई–तीनपटक हिउँदे पानी पर्ने गरेको थियो।

यो वर्षको जाडोमा पश्चिम र पूर्वका केही क्षेत्रमा छिटफुट पानी परे पनि विगतमा जस्तो हिउँदे वर्षा नभएको उनले जानकारी दिइन्।

मौसमविद् पोखरेलले भनिन्, ‘माघको अन्तिम हप्ता पानी पर्ने प्रणाली देखिएको थियो तर परेन। अहिले तत्कालै पानी पर्ने कुनै प्रणाली देखिएको छैन। यो वर्षको हिउँदमा खासै वर्षा भएको छैन।’

‘माथिल्लो पहाड तथा हिमाली क्षेत्रमा पनि हिउँ पर्याप्त मात्रामा पर्न सकेको छैन। अबको केही दिन तराईका क्षेत्रमा शितलहर भने चल्न सक्ने सम्भावना छ’ मौसमविद् पोखरेलले भनिन्।

हिउँदे पानी पार्ने मौसमी प्रणाली यो वर्ष सक्रिय रुपमा नआएकाले वर्षा नभएको हो।

हिउँदमा पानी नपर्दा माथिल्लो पहाड तथा हिमाली क्षेत्रमा बाली लगाउन समस्या हुने तथा पहाड तथा तपाईका क्षेत्रमा आकाशे पानीमा भर पर्ने किसानका गहुँ लगायत बालीमा प्रभाव पर्ने मौसमविद् पोखरलले बताइन्।

उनले भनिन्, ‘खानेपानीका स्रोतहरुमा त्यति असर पर्ने देखिँदैन । यो वर्ष प्रि मनसुन र मनसुनमा पर्याप्त पानी परेकाले स्रोतहरु रिचार्ज भएका छन्। तर हिउँदे बालीमा भने प्रभाव हुन्छ।’

जाडो याममा पानी नपर्दा त्यसको प्रभाव गर्मी या मनसुनमा पर्ने त्यति सम्भावना पनि नरहेको उनले बताइन्।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्