सिक्किमको सीमा क्षेत्रमा भारत र चीनका सुरक्षाकर्मीबिच झडप

भारत र चीनका सुरक्षाकर्मीबिच सिक्किमको सीमा क्षेत्रमा भिडन्त भएको खुलेको छ ।

केही दिनअघि सिक्किमको उत्तरी क्षेत्रमा रहेको नाकुलामा दुई देशका सुरक्षाकर्मीबिच झडप भएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया तथा इन्डिया टुडेले जनाएका छन् ।

लद्दाखको सीमा क्षेत्रमा गएको वर्षदेखि सुरु भएको सीमा विवादको समाधान नभइरहेका बेला सिक्किममा पनि दुई देशका सुरक्षाकर्मीबिच झडपको अवस्था सिर्जना भएको हो ।

चिनियाँ सुरक्षाकर्मी सीमा पार गरेर भारतीय भूमिका प्रवेश गर्न खोजेको र भारतीय सेनाले उनीहरुलाई रोक्ने क्रममा झडपको अवस्था आएको दाबी छ । दुवै तर्फ केही सुरक्षाकर्मी घाइते भएको उल्लेख छ ।

अहिले अवस्था नियन्त्रणमा रहेको स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

गएको वर्षको मे मा गलवान क्षेत्रमा भारत र चीनका सेनाबिच भिडन्त भएको थियो । त्यसलाई लिएर दुवै तर्फ समस्या समाधानको प्रयासमा वार्ता भइरहे पनि समाधान हुन सकेको छैन ।

गलवानमा देखिएको समस्या समाधानको प्रयास स्वरुप आइतबार भारत र चीनका शीर्ष सैन्य अधिकारीबिच नवौँ चरणको वार्ता भएको थियो ।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्