केपी ओलीले संकटकाल लगाउन सक्ने माधव नेपालकाे आशंका

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको लडाई गलत विचारको विरुद्द भएको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफूहरुको लडाई सहि विचारको निम्ति र गलत विचारको विरुद्ध रहेको बताए।

पार्टीभित्र पद र कुर्चीको हानाथाप भएको नभई पार्टीलाई विचार, विधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति र गलत विचारको विरुद्धको भएको उनको भनाई छ ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा भंग हुने आधार नभएको बताए। प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको उनले जिकिर गरे।

कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विगत ३ वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुस्प्रयास गरेको बताए।

समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजिवादी उदारबाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उनको भनाइ छ । ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उनले आरोप लगाए।

वरिष्ठ नेता खनालले प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्रमाथिको आक्रमण भएको पनि बताए।

प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरिरहेको उनको भनाइ छ ।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्