नेपालगञ्‍ज-स्वास्थ्य सेवा विभागले कर्णाली प्रदेशका लागि चाहिने कोरोनाविरुद्धको खोप नेपालगञ्ज पुर्‍याइदिएको छ।

कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा नेपालगञ्जमा रहेकाले कर्णालीका लागि चाहिने खोप नेपालगञ्ज ल्याइएको हो। स्वास्थ्य सेवा विभागका खोप सुपरभाइजर कृष्ण सुवेदीको टोलीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि चाहिने खोप बोकेर नेपालगञ्ज आइपुगेको छ।

खोप सुपरभाइजर सुवेदीले लुम्बिनीको लागि चाहिने ८ हजार ८ सय भाइल बुटवलमा झारेपछि कर्णालीका लागि छुट्याइएको दुई हजार ६ सय भाइल नेपालगञ्ज ल्याएको जानकारी दिए।

सोमबार दिउँसो कर्णालीका लागि चाहिने खोप नेपालगञ्जमा झारेर सुवेदीको टोली सुदूरपश्चिमतर्फ लागेको छ । सुदूरपश्चिममा तीन हजार ६ सय भाइल खोप पठाइएको छ।

खरिद तथा आपूर्ति शाखा, कर्णाली प्रदेश हाल नेपालगञ्जका खोप अधिकृत देवीराम पौडेलले कर्णालीका लागि नेपालगञ्जमा आइपुगेका खोपलाई भोली नै त्यसतर्फ पठाइने बताए । भारत सरकारले सहयोग गरेको कोरोनाविरुद्धको खोपको १५ गते उद्घाटन गर्ने तयारी गरिएको छ।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्