उपराष्ट्रपति पुनको राजनीतिक सक्रियता, भट्टराई – दाहाल एकताका लागि प्रयास

काठमाडौँ- उपराष्ट्रपति नन्दकिशोर पुन अक्सर एउटै अवसरमा सार्वजनिक रुपमा देखिने गर्थे। कुनै मित्रराष्ट्रको राष्ट्रिय दिवसका अवसरमाआयोजना हुने कार्यक्रममा सरकारलाई प्रतिनिधित्व गरेर  जाने बाहेक उनका गतिविधिहरु सार्वजनिक रुपमा कमै आउँथे।

तर पुन एकाएक राजनीतिक रुपमा सक्रिय हुन खोजेको संकेतहरु देखा परेका छन्। सशस्त्र विद्रोह ताकाका सर्वोच्च ‘कमान्डर’ तथा जनसकारका प्रमुख प्रचण्ड र डा. बाबुराम भट्टराईबीच संवादको मध्यस्थकर्ताका रुपमा पूर्व ‘डेपुटी कमान्डर’समेत रहेका पुन देखा परेका छन्।

दुई अवधिसम्म राष्ट्रपति भण्डारीका सहायकका रुपमा कार्यरत पुन अहिले केपी शर्मा ओली र प्रचण्डबीच फाटो आएपछि राजनीतिक ‘आवद्धता’ लाई सांकेतिकरुपमा सार्वजनिक गर्न खोजेको अनुमान पनि बढ्न थालेको छ। भण्डारी खुलेरै ओलीको पक्षमा लागेपछि पुन प्रतिस्पर्धी ‘क्याम्प’मा देखिन थालेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीभित्र उठेको आफ्नो राजीनामाको माग थेग्न नसकेपछि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको कारण देखाउँदै संसद विघटन गरेसँगै नेकपा दुई चिरामा विभक्त भएको एक महिनापछि उपपराष्ट्रपति पुनले राजनीतिक सक्रियता बढाएका हुन्।

नेकपा दाहाल -नेपाल पक्षका एक उच्च नेताका अनुसार उपराष्ट्रपति पुनले आफ्ना पूर्वसहकर्मी र हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रचण्डसँगको एकताका लागि गोप्य छलफल अघि बढाएका छन्।

यसैक्रममा शुक्रबार नेकपा दाहाल–नेपाल पक्षले उपत्यकामा प्रदर्शन गरेलगत्तै लैनचौरस्थित आफ्नै निवासमा डा. भट्टराई र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई डाकेर उनले गोप्य रुपमा छलफल गराएका हुन्।

सुरुवातदेखिनै ओलीको पक्षमा उभिएकी र पछिल्लो पटक संसद विघटनको ओलीको सिफारिस तत्कालै अनुमोदन गरेर विवादित बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग असन्तुष्ट दाहालले पार्टी अब एक नरहने निष्कर्ष निकाल्दै आफ्नो समूहलाई थप बलियो बनाउन डा. भट्टराई र उनीसँग निकट नेताहरुलाई जनता समाजवादी पार्टीबाट भित्राउने प्रयासको सुरुवात गरेको बुझिएको छ।

संसद विघटनबारे बालुवाटार र शितल निवासबीच पटकपटक छलफल हुँदा त्यसको सुइँकोसम्म पुनलाई नदिइएकोमा उनी राष्ट्रपतिबाट टाढिएका छन्।

स्रोतले देशसञ्चारलाई भन्यो,‘ अध्यक्ष प्रचण्डले डा. बाबुरामलाई आफ्नो पार्टीसँग एकताका लागि मनाउन थाल्नु भएको छ। भट्टराई पनि यसमा सकारात्मक हुनुहुन्छ। त्यसैले उपराष्ट्रपति पुनले बोलाएको छलफलमा उहाँ जानुभएको हो।’

पुन, भट्टराई र दाहालबीच पार्टी एकताको सम्भावनामा केन्द्रीत भएर छलफल चलेको बुझिएको छ। स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले भनेका थिए,‘मुलुकमा अहिले विषम परिस्थिति सिर्जना भएको छ। यसले मुलुकको राजनीतिक भविष्यलाई जोखिमपूर्ण बनाएको छ। हामी एक भएर ओलीकदमविरुद्ध उभिनु पर्ने भयो। पार्टी एकताबारे पनि छलफल गरौँ।’

पुन, भट्टराई र दाहालबीच पार्टी एकताको सम्भावनामा केन्द्रीत भएर छलफल चलेको बुझिएको छ। स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले भनेका थिए,‘मुलुकमा अहिले विषम परिस्थिति सिर्जना भएको छ। यसले मुलुकको राजनीतिक भविष्यलाई जोखिमपूर्ण बनाएको छ। हामी एक भएर ओलीकदमविरुद्ध उभिनु पर्ने भयो। पार्टी एकताबारे पनि छलफल गरौँ।’

तर भट्टराईले भने प्रचण्ड अहिले ओलीविरुद्ध आन्दोलनमा उत्रिएपनि पुनः उनी ओलीसँग मिल्ने सम्भावना रहेकाले त्यसबारे अहिले निधो गर्न नसकिने प्रतिक्रिया दिएका थिए। साथै उनले त्यसबारे प्रचण्डबाट आश्वासन खोजेका थिए।

‘तपाईँले मलाई पटकपटक धोका दिनु भएको छ। तपाईँ अहिले ओलीविरुद्ध उत्रिएपनि आफ्नो स्वार्थ पुरा हुने जस्तो देखिएमा फेरि ओलीसँग घाँटी जोड्ने निश्चित छ। त्यसैले अहिले म एकताको बचन दिन सक्दिन। संसद विघटनविरुद्ध हामीले आफ्नो तर्फबाट आन्दोलन गरिरहेकै छौँ।’

००

प्रचण्ड भट्टराई एकताको सम्भावनासँगै उक्त समूहबाट नेता नारायणकाजी श्रेष्ठ बाहिरिहने अड्कलबाजी सुरु भएको छ। डा. भट्टराई र श्रेष्ठको सम्बन्ध लामोसमयदेखि तिक्ततापूर्ण छ। गत चुनावमा गोरखाबाट भट्टराईले श्रेष्ठलाई हराएका थिए।

तर यो समूहका एक स्थायी कमिटी सदस्यले भने, ‘राजनीतिमा सँधैभरी कोही मित्र भइरहने र कोही सत्रु भइरहने भन्ने हुन्न। संकटका बेला एक पक्षले सम्झौता गर्दिने बित्तिकै अर्को पक्षले आफ्नो अडान त्याग्छ। त्यसैले पार्टी एकताको सम्भावना मैले देखेको छु। र त्यस्तो अवस्थामा नेता श्रेष्ठ पनि यही समूहमा रहिरन पनि सक्नुहुन्छ।’

नेकपा विधानको केन्द्रीय सदस्यलाई आधार मान्दा दाहाल र माधवकुमार नेपाल पक्ष बहुमतमा देखिन्छ।  तर निर्वाचन आयोगले आइतबार गरेको निर्णयले ओली पक्षलाई राहत पुर्‍याएपछि यो पक्षमा अन्यौल बढेको छ।

यस्तो अवस्थामा पहिले आधिकारिक कसरी हुने भन्नेमा नेताहरु केन्द्रित हुने र त्यसपछि डा. भट्टराईलगायत नेताहरुलाई ल्याउने वा एकता गर्ने भन्नेमा छलफल हुने देखिने ती सदस्यले बताए।  यसअघि आम चुनावमा नेकपासँग गठबन्धन गर्ने र पार्टी एकताका सम्भावना पहिल्याउने निर्णय गरेका डा. भट्टराईले केही दिनमै गठबन्धनबाट अलगिएका थिए।

चार वर्ष पहिले अर्थात १२ जुन २०१६ मा डा. भट्टराईले प्रचण्ड र श्रेष्ठसँगको उत्तारचढाव सम्बन्धका कारण तत्कालिन एकीकृत नेकपा माओवादीसँग सम्बन्ध विच्छेद गरी नयाँ शक्ति पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए।

त्यसपछि २०७६ वैशाख २३ गते उनको पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएपछि समाजवादी पार्टी नेपाल जन्मिएको थियो। तर नेकपामा विवाद उत्कर्षमा पुगेका बेला गत वैशाख ८ गते प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीच बैशाख १० गते मध्यरातमा एकता भएको थियो।

तर जनता समाजवादी पार्टीमा डा. भट्टराई अर्का नेता उपेन्द्र यादवसँग असन्तुष्ट रहेको र कुरा मिलेमा दाहाल–नेपाल समूहमा उनी आउन सक्ने सम्भावना नेताहरुले देखेका बेला उपराष्ट्रपति पुनले भट्टराई–प्रचण्डबीच एकताको प्रयास थालेका हुन्।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्