प्रदेश-१ मा कोरोनाविरुद्धको ७ हजार ८ सय ९१ डोज खोप दिइने

मोरङ- कोरोना भाइरस कोभिड १९ विरुद्धको ९ हजार ६ सय डोज खोप प्रदेश १ मा आइपुगेको छ।

भारतबाट उपलब्ध गराइएको खोपमध्ये प्रदेश १ मा ७ हजार ८ सय ९१ डोज राखिने विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यसबाहेक १ हजार ७ सय ९ डोज प्रदेश २ को सिरहा र सप्तरी लगिने छ।

मन्त्रालयका अनुसार पहिलो चरणमा सोमबार मोरङ र सुनसरी जिल्लामा आवश्यक खोप उपलब्ध गराएको छ। प्रदेश १ को १४ जिल्लाका लागि खोप आएको मन्त्रालयले जनाएको छ। त्यसैगरि, सो संख्याभित्र प्रदेश २ को सिराह र सप्तरीका लागि समेत खोप आएको हो।

मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले प्रदेशमा बुधबारबाट खोप लगाइने तयारी भइरहेको जानकारी दिइन्। स्वास्थ्य अधिकृत राजवंशीले पहिलो चरणको डोज लगाउनेमा स्वास्थ्यकर्मी, अस्पताल कर्मचारी, सरसफाईका कर्मचारी, सुरक्षा र एम्बुलेन्स चालक रहेको बताइन्।

त्यसैगरि मंगलबार बेलुकासम्म प्रदेशका बाँकी जिल्लामा खोप पुराउने लक्ष्य मन्त्रालयले राखेको छ। प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८ सय ५१ जना र १४ वटै जिल्लाका ७ सय २५ सरसफाइ कर्मचारी गरी ३५ हजार ५ सय ७६ जनालाई खोप लगाइने भएको छ।

ताप्लेजुङमा १४ हजार ३, मोरङमा १२ हजार ५६, सुनसरीमा ५ हजार २ सय ३३, झापामा ४ हजार ९ सय ७७, धनकुटामा ८ सय ३१, उदयपुरमा १ हजार २ सय ३७, भोजपुरमा १ हजार १ सय ७६, इलाममा १ हजार ६ सय ९०, ओखलढुंगामा १ हजार ३ सय ६६, खोटाङमा १ हजार ६ सय, पाँचथरमा ९ सय २४, संखुवासभामा ९ सय ४९, तेह्रथुममा ७ सय २३ र सोलुमा ६ सय ८६ जना सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाइने तयारी मन्त्रालयको रहेको छ।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्