प्रदेश-२ को दुई जिल्ला कोरोना मुक्त, सक्रिय संक्रमितको संख्या ८५ मात्र !

जनकपुरधाम- प्रदेश २ का दुईवटा जिल्ला कोरोना संक्रमण मुक्त भएको छ।

कोरोनाको केन्द्रबिन्दु बनेको यो प्रदेशमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएसँगै दुईवटा जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए।

बिना कुनै भ्याक्सिनको प्रयोग कोरोना मुक्त हुने जिल्लामा सप्तरी र रौतहट रहेको छ। हाल दुबै जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक झाका अनुसार हाल यस प्रदेशमा ८५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने त्यसमा १ जना संस्थागत आइसोलेशन र बाँकी होम आइसोलेशनमा रहेका छन्।

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा बढी पर्सामा ३२ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये एकजना संस्थागत आइसोलेशनमा रहेका छन् । त्यस्तै धनुषामा २२, महोत्तरीमा १३, सर्लाहीमा १०, सिरहामा ५ र बारामा ३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

प्रदेश २ मा हालसम्म १७ हजार १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ९ जनाको मृत्यु भएको छ। पर्सा जिल्लामा हालसम्म सबैभन्दा बढीजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ३ हजार १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै धनुषामा २ हजार ६ सय ६१, रौतहटमा २ हजार १ सय ६८, सर्लाहीमा २ हजार ४७, सप्तरीमा १ हजार ८ सय ३२, महोत्तरीमा १ हजार ८ सय २५, बारामा १ हजार ७ सय ८ र सिरहामा १ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाबाट यस प्रदेशमा २ सय ९ जनाको मृत्यु भएको छ। कोरोनाबाट सबैभन्दा बढी पर्सामा ५१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सप्तरीमा ४१, सिरहा र धनुषामा २५-२५, बारामा २४, महोत्तरीमा १८, सर्लाहीमा १४ र रौतहटमा १० र १ जना भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्