कतै पढेको या कतै सुनेको हुनुपर्छ। ठ्याकै याद भएन। ज्ञान आर्जन गर्ने मेरो दुई विधि ‘पढाइ र सुनाइ’ मध्ये एउटा पक्कै  पढे पनि सुने पनि  उक्त अभिव्यक्ति मेरो जीवनमा एक ‘परिवर्तन बिन्दु’ बन्न पुग्यो। जोबाट उक्त अभिव्यक्तिको सूत्रपात भयो, उहाँलाई हार्दिक नमन टक्राउँछु। उक्त अभिव्यक्ति यस्तो छ: एउटा हात सिधा अगाडि फैलाउनुहोस् र बेस्सरी मुट्ठी कस्नुस्। यसले हातमा तनाव पैदा गर्छ। तपाइलाई दर्द महसुस हुन्छ। अब बिस्तारै कस्सिएको मुट्ठी छोडिदिनुस्। एउटा बेग्लै आनन्द प्राप्त हुन्छ। यही ‘छोडाइ’ नै ‘सरेन्डर’ हो। यही ‘छोडाइ’ नै समर्पण हो। र गीताले भनेको समर्पण यही हो।

माथि नै भनिसकेँ,  ज्ञान प्राप्त गर्ने अनेकन बिधि मध्ये, मैले प्रयोग गर्ने बिधि हुन् अध्ययन र श्रवण। अध्ययनको अर्थ किताबको पाना पल्टाउनु होइन । अध्ययन भनेको  पुस्तकको सेतो पानामा कालो अक्षरले लेखिएका जानकारीलाई रट्नु र घोक्नु पनि होइन। बरु, अक्षरभित्र सुक्ष्म रुपमा आएका लेखकको चेतनाभित्र पस्नु हो र त्यसमा आफ्नो चेतना मिसाएर हेर्नु हो। यसो गर्न सकेमा नयाँ ज्ञान उत्पादन हुनसक्छ किनकि लेखकको चेतनाले  ‘ थिसिस’, पाठकको चेतनाले ‘एन्टीथिसिस’को काम गर्छ र यसको परिणाम स्वरुप ‘सिन्थिसिस’ हुन्छ।

सामान्य अर्थमा श्रवण भन्नाले सुन्नु हो, तर ज्ञानको विधिमा यसको मतलब  सुन्ने मात्र नभई, श्रवणबाट प्राप्त ज्ञानमा ध्यान केन्द्रित गर्ने हो। वक्ताको भावभङ्गीमा र उसको शारीरिक भाषा एकाग्रभावले सुन्नु हो। दुर्भाग्य, श्रवणलाई हामी एक कानले सुनेर अर्को कानले उडाउने भन्ने उडन्ते कुरामानै अल्झी बसेका छौँ ।यसरी प्राप्त ज्ञानलाई हामीले मनन र चिन्तनको बिधिबाट नयाँ ज्ञानको निर्माण गर्न सक्छौँ वा त्यस ज्ञानलाई नवीन ब्याख्या गर्न सक्छौँ। मनन भन्नाले पढेका वा  सुनेका कुराहरुलाई दोहोर्‍याउनु हो, मनभित्र खेलाउनु हो  र त्यसका  बारेमा बारम्बार सोच्नु हो। अर्कोतर्फ,  चिन्तनले ज्ञानको  विभिन्न पक्षहरूको विश्लेषण गर्न क्षमता दिन्छ र  निश्चित दिशा प्रदान गर्छ।

यो लेखले माथि उल्लेखित अभिव्यक्तिलाई मनन र चिन्तन गर्ने जमर्को गरेको छ र मुट्ठीलाई आधार बनाएर गीताका केहि महत्वपुर्ण आयामहरुलाई हेर्ने जमर्को गरेको छ। टि. एस. इलिएटको भाषामा भन्नुपर्दा ‘ट्राडिसनको अध्ययन गरेर ब्यैयक्तिक प्रतिभा’ देखाएको छ।  मुट्ठी भरको ज्ञानको आधारमा गीताको  विशद ज्ञानको व्याख्या गर्नु दुस्साहस  हो । तर पनि सरल तरिकाले थोरै पनि केहि भन्न  सकियो भने त्यो साहस बन्न सक्ला। ब्यक्त गरिएको व्याख्यामा चित्त नबुझेमा रचनात्मक पृष्टपोषणले पुनर्लेखनमा सहयोग पुग्नेछ भन्ने सोचेको छु। ज्ञानको सन्दर्भमा पूर्वीय संस्कृति पनि आखिर ‘वादे वादे जायते तत्व बोध’ नै हो।

अभिव्यक्तिलाई समग्ररुपमा यसरी बुझ्न सकिन्छ। मुट्ठी कस्स्नु भनेको कुरुक्षेत्रको निर्माण गर्नु हो र जीवनमा बिषाद निम्त्याउनु हो। हात र औलालाई खुल्ला राख्नु धर्मक्षेत्रको प्रतीक हो। यसको जानकारी हुन् ज्ञानको मार्गमा हिँड्नु हो, यसलाई हरबखत स्मरणमा राख्नु भक्तिको बाटो अबलम्वन गर्नु हो र धर्मक्षेत्रमा अडीग रही निष्काम कर्म गर्नु कर्मवीर हुनु हो। यिनै मार्गलाई प्रयोगमा ल्याई  जीवनलाई शान्त,शिब र सुन्दर बनाउनु योग हो। यहि प्रयोग विज्ञान हो र यसलाई प्रयोग गर्ने ऋषिहरु, आजको भाषामा भन्दा बैज्ञानिक हुन् । ज्ञात रहोस, जीवनलाई शिव बनाउनु भनेको यसको इश्वरीय तत्व बुझ्नु हो। शिव (शव +ई ) बाट जब इश्वरीय तत्व हट्छ, तब त्यो शव (लाश) बन्छ।

गीताले भन्छ, मान्छेको व्यक्तित्व  सत्व, रज र तम गरि तिन गुणले बनेको हुन्छ  र उसले गर्ने कर्म यिनै गुणमा आधारित हुन्छ।कर्म वा कुनै पनि कार्य गर्दा गुणहरु सन्तुलनमा राख्नु भनेको धर्मक्षेत्रमा अड्नु हो र यसमा आउने असन्तुलन भनेको कुरूक्षेत्र हो। फ्रायडियन मनोविश्लेषणमा कुरू भनेको मानसिक द्वन्दको स्थिति हो जसले मान्छेमा विभिन्न मानसिक रोगहरु निम्त्याउछ र धर्म भनेको मानसिक स्वस्थता हो । गीतामा उल्लेखित तम, रज र सत्वलाई  फ्रायडले  व्यक्तित्व निर्माणका तीन तत्वहरु  इद, इगो र सुपरइगो भनि ब्याख्या गर्दछन् । तमले मान्छेमा काम, क्रोध, लोभ र मोह उत्पन्न गर्दछ जसलाई फ्रायडको भाषामा इद भनिन्छ। रज कर्मप्रधान हुन्छ र यसले कर्तालाई फलको आशक्तिमा कर्म गर्न उत्साहित गर्छ, जुन फ्रायडियन मनोविश्लेषणमा इगोको रुपमा बुझिन्छ। यसरी ‘म नै सबथोक हूँ;’ भन्ने आडम्बर रज वा इगो हो। सत्व गुणले व्यक्तिलाई सामाजिक मूल्य-मान्यतामा सजग बन्दै असल चरित्र निर्माणमा सहयोग पुर्‍याउँछ, जसलाई फ्रायड सुपरइगो भनी नामाकरण गर्छन् । यस अर्थमा हात फैलाउनु तम वा इद हो।  मुट्ठी कस्नु रज हो । मुट्ठी कस्दा  हामीले  एक सीमाको सिर्जना गर्छौ र त्यहाँ घर्षण उत्पन्न हुन्छ।  यसले जीवनको स्वतन्त्र प्रवाह प्रतिबन्ध गर्दछ। अर्थात्  जीवनको स्वाभाविक गतिमा प्रतिरोध उत्पन्न हुन्छ, जुन रज वा इगो हो र यसले  मान्छेलाई तनावमय बनाइदिन्छ। खुल्ला हात भनेको सत्त्व वा सुपरइगो हो , जसले जीवनलाई धेरै हदसम्म सरल र सहज बनाउँछ।

गीतामा लेखिएका कुराहरु ज्ञान हुन् भने यसलाई व्यवहारमा उतारेर जीवनलाई सरल र सहज बनाउनु विज्ञान हो। उहिलेका ऋषिमुनिले ज्ञानको उत्पादन मात्र गर्दैनथे; त्यसलाई बिज्ञानमा ढाल्थे। त्यसैले उनीहरु परमानन्दको अनुभूति गरिरहन्थे। दुर्भाग्य त के भयो भने आज आएर हामीले ज्ञानकोको निर्माण त गरेनौँ, गरेनौँ, भएको ज्ञानलाई पनि अन्धविश्वास र  रुढिवादीको संज्ञा दिएर भड्खालोमा जाकिदियौँ । केही ज्ञानीहरुले पनि यसलाई व्यवहारमा उतार्नु र उतार्न लगाउनुको सट्टा प्रवचनरुपी गफमा ढालिदिए।

अब विस्तारमा अभिव्यक्तिलाई चिन्तन र मनन गरौँ । अभिव्यक्तिको पहिलो लाइन छ: एउटा हातलाई सिधा अगाडि फैलाउनुस् । मान्छेले हात केहि पाउनको लागी फैलाउने गर्छ। हात फैलाउनु भनेको लामो हात गर्नु हो र लामो हात गर्नु भनेको अनुचित फाइदाको लागि तयार हुनु हो। हात माग्नको लागि पनि फैलाउने गरिन्छ। मानवजीवन सकेसम्म दिनको लागि हो, दानको लागि हो, लिनको लागि होइन। हात फैलाउनु भनेको लोभ, मोह र कामको फैलावट हो।

अभिव्यक्तिको दोस्रो लाइन भन्छ: बेस्सरी मुट्ठी कस्नुस्। मुट्ठी कस्नु भनेको क्रोधित हुनु हो। अरुमाथि जाइलाग्न गरिने तयारी हो।  असन्तुष्टिको पराकष्ठा हो। मुट्ठी कस्नु भनेको कर्ताभाव जागृत हुनु हो। कर्ताभाव जागृत हुनु भनेको ‘मै जान्ने’, ‘मै सुन्ने’ र सम्पूर्ण  संसार मेरो नियन्त्रणमा छ भन्ने आडम्बरले छोपिनु हो। दुर्योधनले हस्तिनापुरलाई पूर्ण नियन्त्रणमा राख्न खोज्दा आउने परिणामलाई भोग्नु हो।

क्रोधको मनोविज्ञानलाई गीताले राम्रोसँग प्रस्ट्याएको छ।  गीता भन्छ, “क्रोधाद्भवति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: । स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति” (२-६३)। अर्थात् रिसले चरम मूर्खता निम्त्याउँछ, मूर्खताले स्मृतिमा भ्रम निम्त्याउँदछ, स्मृति भ्रमले बुद्धिको विनाश गराउँछ,  र बुद्धिको विनाशले मानिसलाई सर्वनाशको बाटोमा पुर्‍याउँछ। सरल भाषामा भन्दा मुट्ठी कस्नु भनेको सर्वनाशलाई जीवनमा निम्तो दिनु हो।

अभिव्यक्तिको पहिलो र दोस्रो लाइनबाट हामी के थाहा पाउँछौ भने काम, लोभ र क्रोधलेले मान्छेलाई नर्कमा धकेलिदिन्छ। कृष्ण भन्छन्, “त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन: । काम: क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ” ( १६-२१) । अर्थात् काम, क्रोध र लोभ – यी तीन नरकका ढोकाहरू हुन् जसले मनुष्यको बिनाश गर्दछ।   तसर्थ, यी सबैलाई त्याग्नु पर्छ। यसबाट के बुझिन्छ भने नर्क भनेको कुनै भौगोलिक स्थान होइन, यो मानसिक अवस्थाको उपज हो।नर्कका यी तीन अवस्थालाई त्याग्नुनै स्वर्गको प्राप्ति हो।

अभिव्यक्तिको तेस्रो लाइन छ : मुट्ठीले हातको विभिन्न भागमा तनाव पैदा गर्छ। मान्छेले केही पाउने लोभ र केहि गुम्ने डरमा मुट्ठी कसेको हुन्छ, जसको परिणामस्वरुप तनावको सृजना हुनपुग्छ। मुट्ठीबाट प्राप्त बस्तुलाई मान्छेले बेस्सरी मुट्ठी कसेर संसार भोग्न चाहन्छ। यसको अर्थ उसमा भोक्ताभावको मनोविज्ञान पैदा हुन्छ। गीताले सहज तरिकाले भनेको छ: कर्ताभाव र भोक्ताभावनै तनावका लक्षण हुन्, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” (२- ४७) । यी भावहरु मनमा बढ्दै गएपछि अहिलेको भाषामा भनिने डिप्रेसन शुरु हुन्छ। गीताको शुरुवातनै अर्जुनको डिप्रेसन अर्थात् बिषादबाट हुन्छ। कृष्णले कर्म, ज्ञान, भक्ति, योग र ध्यानजस्ता बिधिले अर्जुनको  डिप्रेसनको उपचार गरेको मनोवैज्ञानिक चर्चानै गीता हो। यस अर्थमा जसले कर्मफलको आशा राख्दैन, त्यो नै सहि अर्थमा सन्यासी हो जसको मननै शान्तिको घर हो । घर, परिवार र समाज छोडेर जंगलमा गएर एक्लो जीवन व्यतित गर्नु मात्र सन्यास होइन।  सन्यास भनेको कर्म नगर्नु भन्ने पनि होइन, बरु कर्मफलको आशा नगर्नु हो।

गीतामा लेखिएका कुराहरु ज्ञान हुन् भने यसलाई व्यवहारमा उतारेर जीवनलाई सरल र सहज बनाउनु विज्ञान हो। उहिलेका ऋषिमुनिले ज्ञानको उत्पादन मात्र गर्दैनथे; त्यसलाई बिज्ञानमा ढाल्थे। त्यसैले उनीहरु परमानन्दको अनुभूति गरिरहन्थे। दुर्भाग्य त के भयो भने आज आएर हामीले ज्ञानकोको निर्माण त गरेनौँ, गरेनौँ, भएको ज्ञानलाई पनि अन्धविश्वास र  रुढिवादीको संज्ञा दिएर भड्खालोमा जाकिदियौँ । केही ज्ञानीहरुले पनि यसलाई व्यवहारमा उतार्नु र उतार्न लगाउनुको सट्टा प्रवचनरुपी गफमा ढालिदिए।

अब अभिव्यक्तिको चौथो लाइनमाथि चिन्तन गरौँ: कस्सिएको मुट्ठीलाई बिस्तारै छोडिदिनुस्। भन्नुको अर्थ  कुनै पनि चरमताको बिन्दुबाट नरमताको बिन्दुमा रुपान्तरण क्रमिक र बिस्तारै हुनुपर्छ किनकि यो दीगो हुन्छ। मुट्ठी बिस्स्तारै खोल्दै जाँदा शरीरभरि आनन्दको भाव संचारित हुन्छ किनकि यो बिन्दुमा हामीले कर्ताभाव र भोक्ताभावलाई छोडेका हुन्छौँ । क्रोध, मोह, लोभ, अहंकार छोडेका हुन्छौँ ।  यहाँनेर हामी मुट्ठीरुपी सानो चित्तबाट विराट चैतन्यमा पुगेका हुन्छौँ । यसको प्राप्तिनै परमात्माको प्राप्ति हो।

अभिव्यक्तिको अन्तिम लाइन भन्छ: यो (हात खुला राख्नु)  नै समर्पण हो, यो नै सरेन्डर हो। म थप्छु, यो नै जीवनमा आवश्यक भक्तियोग हो। गीताको एक महत्वपूर्ण जग भनेको भक्तिको मार्ग अर्थात् भक्तियोग हो। मेरो विचारमा भक्ति भनेको राम वा कृष्णको नाममा भजन गाउनु मात्र होइन। यसको प्राथमिक पक्ष भनेको स्मरण गर्नु हो। ‘म को हूँ’ भनेर स्मरण गर्नु। स्मरणले खोजीको बाटोलाई चाक्लो बनाउदै लैजान्छ र एक समय त्यस्तो आउछ कि मान्छेले आफु ‘को हूँ’ भनेर चिन्दछ । यहि ‘स्व’ को प्राप्तिनै परमात्माको प्राप्ति हो।  कृष्ण भन्छन्, “स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह:” (३-३५)। अर्थात् अरुको बाटो पछ्याएर जिउँनुभन्दा आफ्नो स्वधर्मको बाटोमा मर्नुनै श्रेष्ठ हुन्छ।गीताको शुरुवात ‘धर्म’ र अन्त्य ‘मम’ शब्दबाट हुन्छ। यसको अर्थ ‘मेरो धर्म’ अर्थात् स्वधर्म भन्ने बुझ्न सकिन्छ।

स्मरणको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मौनता, शान्ति वा शून्यता हो। जस्तै तपाईँले कुनै कुरा भुल्नु भएको छ भने त्यसलाई सम्झनको लागि शान्त रहनु पर्छ र मन शान्त भएपछि बिस्तारै सम्झँदै जानुपर्छ। यस्तो गरिएमा भुलेका कुरा बिस्तारै स्मृतिमा आउँछन् । यहि स्मरण वा भक्तिलाइ कृष्णले अकर्म भनेका छन्।

खुल्ला हातका औंलाहरुले आफ्नै गतिमा गर्ने कर्म भनेको बिकर्म हो।  यहाँ न त कर्ताभाव हुन्छ, न त भोक्ताभाव नै। यही ज्ञान प्राप्त गर्नु भनेको ज्ञानयोगको ढोकामा प्रवेश गर्नु हो। अर्थात् मुट्ठी कस्नु अज्ञानता हो र औलाहरु सहज स्थितिमा छोडिदिनु ज्ञान हो।  गीता भन्छ, अज्ञानता नै पाप हो र ज्ञान नै धर्म। त्यसैले कर्म गर्दा मुट्ठी कस्नु भनेको कर्मफलको आशक्ति प्रदर्शन गर्नु हो भने हात र औंलाहरु खुल्ला राख्नु निष्काम कर्म हो जसलाई अकर्म भनिन्छ। त्यसैले हात खुल्ला राखौँ; आउने-जाने भइनैरहन्छ। आउनु-जानुले जीवन जीवन्त छ भन्ने अर्थ बोकेको हुन्छ। मुट्ठी कस्नु भनेको ‘आते -जाते’को गति बन्द हुनु हो र गति बन्द हुन् मृत्यु हो।

माघ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्