माथिल्लो सदन सिनेटमा पेश भयो ट्रम्पमाथिको महाअभियोग प्रस्ताव

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि लागेको महाअभियोग तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले माथिल्लो सदन सिनेटलाई बुझाएको छ ।

तल्लो सदनले जनवरी १३ मा ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेको थियो । सभामुख न्यान्सी पेलोसीले नियुक्त गरेको तल्लो सदनका महाअभियोग व्यवस्थापकहरुले सोमबार माथिल्लो सदनलाई ट्रम्ममाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् ।

योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाई प्रक्रियाका लागि मार्ग प्रसस्त भएको छ ।

जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त शत्र जारी रहेका बेला नतिजा उल्ट्याउने मनसायसहित ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।

एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको सो आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको बिद्रोह रहेको र त्यसका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

जनवरीमा २० मा उनी आफ्नो पहिलो कार्यकाल पूरा गरेर सत्ताबाट बिदा भएका छन् । सोही दिन शपथ लिएका बाइडेनले अहिले तीव्र रुपमा कार्यकारी आदेशहरु जारी गरेर आफ्नो प्रशासनको रणनीतिक मार्ग तय गर्ने प्रयास गरिरहेका छन् ।

अमेरिकी इतिहासमा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका ट्रम्प सत्ताबाट बाहिरिए पनि सिनेटमा सुनुवाई हुनेछ । ट्रम्पले सुनुवाईका लागि आफ्ना वकिलहरुको टिम बनाउने प्रक्रिया थालेका छन् ।

सिनेटमा आउँदो फेब्रुअरी ९ देखि महाभियोगमाथि सुनुवाई सुरु हुने सम्भावना छ ।

यसैबिच राष्ट्रपति बाइडेनले महाअभियोग प्रस्तावमाथि सुनुवाई चाँडो हुनु पर्ने पक्षमा आफू रहेको बताएका छन् ।

सिएनएनकी चिफ ह्वाइट हाउस करेसपोन्डेन्ट केट्लन कोलिन्ससँगको संक्षिप्त वार्तामा बाइडेनले सिनेटमा सुनुवाई हुनु पर्ने बताएका हुन् ।

त्यसको प्रभाव आफ्ना मन्त्रीहरुको सुनुवाई तथा रणनीतिहरुमा पर्ने भए पनि महाअभियोग प्रस्ताव अति महत्वपूर्ण रहेको बाइडेनले बताएका हुन् ।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्