फोटो फिचर

हिउँदमा के टू चढेर कीर्तिमान बनाएका नेपाली आरोही स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)

फाेटाे फिचर

काठमाडौँ – हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल के टू को सफल आरोहण गरेर कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् ।

कीर्तिमानी आरोही निर्मल पूर्जासहित १० नेपालीले विश्वको दोस्रो अग्लो हिमाल के टू को माघ ३ गते सफल आरोहण गरेका थिए । पूर्जासहितको सो टोली मंगलबार बिहान काठमाडौँ आइपुगेको हो ।

उनीहरुलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । पूर्जासहित मिङ्गमा डेविड शेर्पा, मिङ्गमा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्गमा जी, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पाले हिउँदमा के टू को सफल आरोहण गरेका हुन् ।

यसअघि पूर्जाले गएको वर्ष सगरमाथासहितका ८ हजार मिटर माथिका विश्वका १४ वटा हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

के टू मा अहिलेसम्म कोही आरोहीले पनि हिउँद याममा सफल आरोहण गर्न सकेका थिएनन् । माघ ३ गते शनिबार बेलुका के टू को चुचुरोमा पुग्ने क्रममा पूर्जासहित १० नेपाली आरोहीले कम्तिमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम तथा प्रतिघण्टा एक सय किलोमिटर गतिमा चलेको वायुलाई छिचोलेका हुन् । उनीहरुले के टू को चुचुरोमा नेपाली झण्डा फहराएका थिए ।