प्रदेश–२ मा ३१ हजारलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने

जनकपुरधाम– प्रदेश २ मा कोरोनाविरुद्धको भ्याक्सिन दिने अभियान बुधबारदेखि सुरु हुन लागेको छ।

पहिलो चरणमा प्रदेश २ मा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका र सरसफाईकर्मीलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिइने स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए।

पहिलो चरणको लागि यस प्रदेशमा ३४ हजार ८ सय ४ डोज कोरोना भ्याक्सिन आएकोमा हालसम्म ३१ हजारभन्दा बढीको नाम संकलन गरिएको निमित्त निर्देशक झाले बताए।

पहिलो चरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरुको नाम दर्ता गरिएको छ। सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ।

त्यस्तै ७ हजार २७ महिला स्वयंसेविका र १ हजार २ सय ४ जना सरसफाईकर्मीको नाम भ्याक्सिन लिनेको नाम दर्ता गरिएको झाले बताए।

उनले भने, ‘यो पहिलो चरण मात्र हो। भ्याक्सिन लिनेहरुको नाम दर्ता भइरहेको छ। आवश्यक व्यक्तिलाई प्राथमिकतामा राखी भ्याक्सिन दिइनेछ।’

प्रदेशका आठै जिल्लामा एकसाथ भ्याक्सिन दिएर अभियानको शुभारम्भ हुनेछ।

यसको लागि मुख्यमन्त्री लालबाबु राउत वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकास मन्त्री नवल किशोर साह सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपस्थित हुने झाले बताए।

कुन जिल्लामा कति खोप?


प्रदेश सरकारले सबभन्दा बढी धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने जनाएको छ।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्