सम्पादकीय

के टुमा नेपाली पाइला

नेपालको राजनीतिमा आएको चरम विकृतिले संविधानवादको हद नाघेको छ। विद्यमान संकटको समाधान न्यायिक प्रक्रिया या न्यायालयबाट होला र? भन्ने आशंका त्यत्तिकै प्रवल छ। त्योभन्दा बढी आक्रोश मुलुक हाँक्ने नेताहरु मुलुक न्याक्ने गणमा बदलिँदै गएकामा चुलिएको छ।

राजनीतिज्ञहरु आफ्ना नागरिकको हित र स्वार्थबाट भन्दा बाह्य शक्तिबाट परिचालित भएको आरोप खुला रुपमा लागिरहेको छ। यो दुःखद् पाटो हो, जसको अन्त हरेक नेपालीको चाहना हो। यो राजनीति र नेताले बजाएको ध्वनि हो।

तर कठ्याँग्रिदो हिमाल के–२ बाट १० जना वीर नेपालीहरु एउटा उत्साहवर्द्धक सन्देशका साथ स्वदेश फर्केका छन्। माघ ३ गते चाङ दावा शेर्पाको नेतृत्वमा गएको टोलीले हिउँदमा पहिलो पटक शिखर चुम्नुअघि एउटा प्रण गरे- ‘यो कुनै निजी जित र उपलब्धीका लागि हैन।’ अनि तीन करोड नेपालीहरुलाई प्रतिनिधित्व गर्दै हातेमालो गर्दै गाए–’सयौँ थुङ्गा फूलका हामी।’

दिउँसो ४ः५६ (स्थानीय समय) मा ८ हजार ६ सय ११ मिटर उचाइको विश्वको दोस्रो अग्लो शिखरमा टेक्न सफल भए उनीहरु। साहस र भाग्यले उनीहरुको कर्म सफल भयो। तर उनीहरुले जसरी आफूहरुलाई प्रस्तुत गरे, त्यसमा एउटा सन्देश थियोः विश्वको दुर्गम र कठीन चढाइमा मृत्यु कुनै पनि क्षण आउन  सक्थ्यो।

र त्यो परिस्थितिमा पनि एउटै मालामा उनिएका सयौँ थुङ्गा फूलका एउटै मालाका रुपमा उनीहरु बिसर्जित हुन चाहन्थे। त्यो भवितव्य भोग्नु परेन उनीहरुले र नेपालले। तर बरु झिनो आशाको सञ्चार गराए उनीहरुले नेपाली जनतामा, कतै अक्सर विदेशीका बुई चढेर कुर्सी र सत्ताका लागि लडेका हाम्रा नेताहरु पनि नेपाली बन्लान् कि?

निर्मल पुर्जाले यो अभियान जलवायु परिवर्तन र बढ्दो भूगर्मीय तापक्रमविरुद्ध अर्थात भोलिको प्रकृतिको संरक्षणमा, हाम्रा भावी सन्ततिको सुरक्षामा समर्पित हुने बताएका छन्।

आफ्नो र आफन्तको खल्ती टक्टक्याएर पाएको कीर्तिलाई पनि देशको पहिचान र गौरवको प्रचारमा समर्पण गरेको छ १० जना सफल आरोहीको टोलीले। वास्तवमा यो टोलीले नेपालले गर्व गर्नुपर्ने ‘नेतृत्व समूह’का रुपमा आफूलाई स्थापित गरेको छ। उनीहरु बधाई र धन्यवादका पात्र बनेका छन्।

सरकार र नेताहरुबाट उनीहरुले केही धन, इनाम या अन्य भौतिक सम्मान चाहेका छैनन्। नेपाली बन्न र सम्भावित मृत्यु या उच्चतम गौरवको प्रतिक्षित क्षणमा पनि नेपाल र नेपाली नै उनीहरुको चिन्ताको केन्द्रमा रहून्, यो विजयी के–२ टोलीप्रति सच्चा श्रद्धाको विषय हुनेछ।

माघ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्