कोरोनाबाट मुक्त भए पनि मन र शरीरको छट्पटी उस्तै रह्यो

१९ घण्टा लाग्ने धनगढी–काठमाडौँ बसको यात्रा यसपटक मेरा लागि २४ घण्टाको भयो। अघिल्लो दिन (मंसिर २३ गते) धनगढीबाट दिउँसोको २ बजे यात्रा सुरु गरेको बसले दोस्रो दिनको २ बजे मात्रै काठमाडौँ पुर्‍यायो।

२४ घण्टा लामो बसको यात्राले शरीर थकित थियो। दोस्रो दिन बिहानै अफिस पुग्नुपर्ने। साँझको खाना खाएर समयमै सुत्यौँ। बिहान उठ्दा शरीर भारी महसुस भयो।

हलुका टाउको दुख्नुका साथै सामान्य ज्वरो थियो। सोचेँ,  ‘बसको यात्राले थकित भएर शरीर दुखेको होला।’ अफिस पुग्दासम्म ज्वरो र टाउको दुख्ने समस्या एकाएक हराइसकेको थियो।

सोही दिन साँझ फेरि ज्वरोले बेस्सरी च्याप्यो। रात ढल्दै गयो, ज्वरो बिस्तारै कम हुँदै गयो। बिहान उठ्दा ज्वरोले छोडिसकेका कारण अफिस पुगेर काममा लाग्दा असहज महसुस भएन।

धनगढीबाट फर्केको तेस्रो दिनको राति भने म उठ्नै नसक्ने गरी थला परेँ। आफ्नै शरीर छाम्दा आफैलाई डर लाग्यो। ज्वरोले शरीर तातो तावाजस्तै भएको थियो। लाग्थ्यो,  ‘मेरो शरीरमा पनि रोटी पाक्छ होला।’

दोस्रो दिन शुक्रबार। अफिसमा सहकर्मी साथी टंक ढकालको साप्ताहिक बिदा। समाचार डेस्कको बिहानी सिफ्ट हामी दुईको जिम्मामा छ। मैले बिरामी भएको खबर गरेको थिइनँ।

बिहान ज्वरोले बिस्तारै छाडेपछि अफिस आएर काममा लागेँ। १० बजेपछि कपिल भण्डारी सर अफिस पुग्दा मैले खोकेको र स्याँस्याँ, सुँसुँ गरेको सुन्नु भएछ।

‘सर तपाईँले खोकेको सुन्दा त कोरोना पो हो कि जस्तो लाग्यो’, कपिल सरले यसो भनिरहँदा मैले उही जवाफ दिएँ,  ‘हैन सर गाउँबाट फर्किँदा बसको यात्रा लामो भयो शरीर थाकेको छ, धपेडीले होला।’

कपिल सर भर्खरै कोरोना जितेर काममा फर्कनुभएको थियो। कोरोनाका लक्षणहरुसँग उहाँ परिचित हुनुहुन्थ्यो। त्यसैले होला उहाँले मलाई देखिएका लक्षणहरु हेर्दा ‘कोरोना हो जस्तो छ’ भन्दै एकपटक चेक गरी ढुक्क हुन सुझाव दिनुभयो।

तर मैले पत्याइनँ। ‘सावधानीहरु सबै अपनाएको छु मलाई कसरी कोरोना हुन सक्छ? के मैले कुनै कोरोना संक्रमितलाई भेटेको छु र?’ मनमनै प्रश्न गरिरहन्थेँ।

त्यसदिन काम सकेर कोठा फर्कदाँ श्रीमती पनि खाटमा लडेकी थिइन्। उनलाई पनि ज्वरो र खोकीले च्यापेको रहेछ। अब चाहिँ मनमा चिसो पस्यो।

दुवैजनाले बेसार पानी खायौँ। केही सजिलो भएको महसुस भएपछि खाना खाएर सुत्यौँ। मलाई रात परेपछि फेरि उस्तै ज्वरो। बिहान उठ्दा भने केही कम भएपछि लाग्यो ‘छिनमै कडा खालको ज्वरो आउने अनि छिनमै हराउने, मलाई त टाइफाइड पो भएछ क्यारे।’

श्रीमतीले अफिसमा खबर गरी बिदा लिएर आराम गर्न आग्रह गरिन्। तर मैले सुनिनँ। चिया नास्ता खाएर अफिसका लागि हिँडे। अफिस पुग्दा त खोकी बढ्न थाल्यो। काम गरिरहँदा खोकेको सुनेपछि छेउबाट सहकर्मी साथी टंकले सोध्नुभो ‘सर सञ्चो छैन कि क्या हो?’

मैले अवस्था बताएँ।

‘त्यसो भए किन अफिस आएको ? आराम गर्नुपर्दैन?’, साथी टंकको आवाज अलि उचो सुनियो। उहाँले पनि कोरोना परीक्षण गर्न सुझाव दिनुभयो।

घरबिदा बसेर भर्खरै अफिस आउन थालेको म ज्वरो आउँदा पनि के बिदा बस्नु भनेर बिदा बसेको थिइनँ। तर यसो भन्दा साथी टंकले ‘हप्काए’ पछि सहसम्पादक मनोज सरलाई फोन गरेर समस्या बताएँ। उहाँले पनि आजै र तुरुन्तै परीक्षण गर्न सुझाव दिनुभो र म अफिसबाट निस्केँ।

कोठा पुग्दा श्रीमतीलाई पनि ज्वरो झनै बढेको थियो। हामी दुवैजना कोरोना परीक्षणका लागि टेकु अस्पताल गयौँ। शनिबारको दिन त्यहाँ पीसीआर परीक्षण नहुँदो रहेछ।

फर्केर काठमाडौँ मेडिकल कलेजमा गएर स्वाब दियौँ। दोस्रो दिन रिपोर्ट आयो। हेर्दा म तीनछक परेँ। समान लक्षण देखिएका मलाई कोरोना पोजेटिभ र श्रीमतीलाई नेगेटिभ देखियो।

अब के गर्ने? कसो गर्ने भयो। कोरोनाका कारण इटाली र अमेरिकामा एकै दिन यति धेरै मानिसको मृत्यु सम्बन्धी लेखिएका समाचार आँखामा छाउन थाले।

ओहो म आफै पनि पो संक्रमित भएँ ? यो कसरी हुन सक्छ ? प्रश्नहरु मनमा थिए। जवाफ शायद हातमा समातेको रिपोर्टले दिइरहेको थियो।

काठमाडौँमा कोठा भाडामा लिएर बसेका हामीलाई त्यहाँ बस्न नदिने पो हुन् कि भन्ने डर पैदा भयो। अफिसमा खबर गरी कोठामै आराम गर्न थालेको थिएँ।

एक ल्याण्डलाइन नम्बरबाट फोन आयो।

  • तपाईँ दीपक राज जोशी हो?
  • हजुर हो।
  • ए, तपाईँलाई कोरोना भएको रहेछ, अहिले कहाँ हुनुहुन्छ?
  • म मैतीदेवी कोठामा छु।
  • कुनै लक्षण देखिएको छ?
  • ज्वरो आएको छ, छाती दुखिरहेको छ, लामो स्वास लिँदा अप्ठेरो भइरहेको छ.
  • त्यसो भए, तातो पानी खानुहोला, फलफुलहरु तातोपानीमा डुबाएर मात्रै खानुहोला। निमोनिया हुन सक्छ, चिसोबाट बच्नुहोला।

तपाईँ को कहाँबाट बोल्नुभएको मैले प्रश्न गर्दा उताबाट हतार हतार केही गाह्रो भए अस्पताल आउनुहोला है भन्दै फोन काटियो।

फेरि फोन गरेर सोध्न खोज्दा लामो समयसम्म नम्बर व्यस्त थियो।

कोठामा बस्दा बेसार पानी तारन्तर खाइयो। तर अवस्था सुधार हुनुको साटो झनझन जटिल हुँदै गयो। हामीले आफन्त पर्ने डाक्टर जगदिश जोशी (सेती प्रादेशिक अस्पताल)लाई सम्पर्क गर्‍यौँ। उहाँले अक्सिजन लेवल घटेमा तुरुन्तै अस्पताल जान सुझाव दिँदै केही औषधिहरुका नाम म्यासेजमा पठाउनुभो।

ती औषधि किनेर खाँदा ज्वरो त घट्यो तर खोकीसँगै बान्ता सुरु भयो।

मैले टेकु अस्पतालका डा. शेरबहादुर पुनलाई फोन गरेर अवस्था बताए। उहाँले तुरुन्तै अस्पताल आउन सुझाव दिनुभयो।

श्रीमतीले मलाई टेकु अस्पताल पुर्‍याइन्।

छातीको एक्सरे र सिटिस्क्यान गरेपछि डाक्टरहरुले कोरोनासँगै निमोनिया भएको निष्कर्षसहित अस्पतालमै भर्ना गर्नुपर्ने निर्णय दिए।

डाक्टरले मलाई रेम्डेसिभिर औषधि दिनुपर्ने बताएपछि म आत्तिएँ। ओहो म त गम्भीर अवस्थामा पुगिसकेको रहेछु कि भन्ने भयो। तर रेम्डेसिभिर औषधि नचलाउन मैले डाक्टरलाई आग्रह गरेँ किनकि त्यसको केही दिनअघि मात्रै उक्त औषधि प्रभावकारी नहरेको विश्व स्वास्थ्य संगठनले बताएको खबर हामीले देश सञ्चारमा पनि प्रकाशन गरेका थियौँ।

‘ट्रम्पलाई पनि यही औषधिको प्रयोग गराइएका हो, निको भयो। तपाईँ किन आत्तिनुहुन्छ?’ इमरजेन्सी कक्षमा खटिएका डाक्टरले मलाई रेम्डेसिभिरका लागि मनाउन प्रयास गरे पनि मैले अस्वीकार गरेपछि अन्ततः मलाई एन्टिबायोटिक औषधि चलाइयो।

अस्पताल बसाइको दुई दिनसम्म स्वास्थ्य अवस्थामा सुधार आएन। रातभर अक्सिजन चढाइयो। मनको डर कम भएको थिएन। मरि पो हाल्छु कि भन्ने बाहेक अरु कुरामा ध्यानै नजाने।

मोबाइलमा सामाजिक सञ्जाल हेरे कोरोनाले मान्छे मरेका समाचार। अनलाइनहरु हेर्दा पनि उस्तै हालत। मैले टिकटकका भिडियो हेरेर मन भुलाउने प्रयास गरिरहेँ।

तेस्रो दिन एकजना डाक्टर आउनुभो। उहाँको सेतो पहिरनमा अंग्रेजीमा डाक्टर अनुप लेखिएको थियो। डा. अनुप बाँस्तोलाका धेरै अन्तर्वार्ताहरु मैले पढेको थिएँ। केही त हामीले देशसञ्चारमा पनि प्रकाशन गरेका थियौँ।

‘जोशी जीलाई कस्तो छ नि? पिठ्युँ थपथपाउँदै उहाँले सोध्नुभो।

मैले केही सुधार भएको बताएँ।

अक्सिजन लेवल चेक गरेपछि उहाँले भन्नुभो, ‘आत्तिने काम नगर्नुहोला। तपाईँलाई छिट्टै निको हुन्छ, गाह्रो भए माथि आइसियू छ, भेन्टिलेटर छ तपाईँलाई त हामी जसरी पनि निको पाछौँ नि, के को चिन्ता?,’ डा. अनुपले यति भनेपछि मेरो मनमा कोरोना सम्बन्धीका सबै डर एकैपटक अलाप भए। अब म पुरानै अवस्थामा फर्किन्छु भन्ने आशाको सञ्चार मनमा छायो। डाक्टर देखेपछि बिरामीका कतिपय रोग त उसै निको हुन्छन् भन्ने भनाई साँचो रहेछ जस्तो लाग्यो।

साँझपख डा. शेरबहादुर पुनले पनि हरेक दिन फोन गरेर स्वास्थ्य अवस्था बुझ्दै छिट्टै निको हुने भन्दै ढाडस दिइरहनुहुन्थ्यो।

त्यसको दुई दिनपछि फेरि डा. अनुप आउनुभो। मेरो बेड नजिकै आएर ‘जोशी जीलाई त अहिलेसम्म घर पठाइहाल्नु पर्ने किन यहीँ राखेका रहेछन्’, भन्नुभो। शायद मलाई निको भइरहेकाे कुरामा विश्वाश दिलाउन उहाँले यसो भनिरहनुभएको थियो।

मैले रिपोर्ट नेगेटिभ आएपछि मात्रै जाने डाक्टर साप भनेपछि उहाँले दुई दिनपछि पीसीआर गरेर डिस्चार्जको चाँजो मिलाउन ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो।

अस्पताल बसेको सात दिनपछि मेरो सिटी भ्यालु ३४ पुग्यो। सिटि भ्यालु ३० भन्दा माथि पुगेमा कोरोना संक्रमितले अरुलाई भाइरस सार्न नसक्ने र शरीरमा रहेको भाइरस पनि निस्क्रिय रहने विज्ञहरुको भनाइ छ। सोही कुरामा विश्वास लिँदै अस्पतालबाट डिस्चार्ज भएर कोठा फर्केँ। लाग्यो, म एक ठूलो युद्ध जितेर फर्किरहेको छु।

अस्पतालबाट डिस्चार्च भएको एक सातापछि मेरो कोरोना रिपोर्ट नेगेटिभ आयो। यो खुशीको खबर मैले घर तथा अफिससहित सम्पूर्ण शुभेच्छुकलाई फोन तथा सामाजिक सञ्जालमार्फत सञ्चार गरेँ।

तर…


शरीरबाट कोरोना भाइरस हटेर रिपोर्ट नगेटिभ आउने बित्तिकै पूर्ण रुपमा सञ्चो भएको बुझाई धेरैमा छ। मलाई पनि त्यस्तै लागेको थियो। त्यसैले म पनि रिपोर्ट नेगेटिभ आएकै दिनबाट अफिस आउन थालेँ, नियमित काममा।

सुरुका केही दिन सालाजीलाई मोटरसाइकलमा पुर्‍याइमागेको थिएँ, फर्किँदा अफिसको गाडीले कोठासम्मै छोडिदिन्थ्यो।

एक दिन अब त आफै बाइक चलाएर जानु पर्‍यो भनेर बाइक निकाल्न खोज्दा ढलेछु।

बल्ल महसुस भयो, ‘मलाई त कोरोना भाइरसले मात्रै पो छोडेको रहेछ, संक्रमणका असरहरु त बाँकी नै रहेछन्।’

अध्यक्ष रविन दाहाल सरले फोन गरेर सोधेको सम्झे? ‘तपाईँको पनि तौल घट्यो कि?

त्यसदिन खासै वास्ता नगरेको मैले बाइक समात्न नसकेपछि भने तौल चेक गरेँ। म त ७ केजी घटेको रहेछु।

२४ दिनको अन्तरालमा ७ केजी तौल घटेको शरीरले शायद आराम चाहेको थियो। मैले नियमित काम बन्द गरेको थिएन।

अहिले मलाई कोरोना संक्रमण पुष्टि भएको डेढ महिना भइसकेको छ भने रिपोर्ट नेगटिभ आएको पनि एक महिना पुग्न थालेको छ। तर शरीरमा कोरोना संक्रमणका असरहरु कम भएका छैनन्।

सबैभन्दा ठूलो समस्या अनिन्द्राको छ। निन्द्रा लागिहालेमा पनि छटपटी हुने समस्या व्यापक छ। कयौँ रातहरु अर्धनिन्द्रामा बितेका छन् र यो क्रम चलि नै रहेको छ। राति शरीरका लुगाहरु भिज्ने गरी पसिना आउन बन्द भएको अहिले एक हप्ता मात्रै भएको छ।

यसबाहेक सामान्य खोकी बन्द भएको छैन भने शरीरका जोर्नीहरु दुख्ने समस्याले चौबिसै घण्टा सताउने गरेको छ।

फोनमा दुई मिनेट कुरा गर्दा पनि स्वास फेर्न गाह्रो हुने, अलिकति उकालो चढ्दा अथवा केहीबेर हिँड्दा बसेर आराम नै गर्नुपर्ने जसरी थकान लाग्ने समस्याहरु छन्।

अब कुनै अन्य रोग लागेमा मलाई निको नै नहुने गरी गाल्छ कि भन्ने पिरलोले पनि मन खाइरहन्छ।

हुन त कोरोना निको भएको ६ महिनासम्म यस्ता समस्याहरु देखिने कुरा केही विज्ञ डाक्टरहरुको भनाई विभिन्न लेख तथा समाचार सामग्रीहरुमा उल्लेख गरिएका छन्।

के कोरोना संक्रमणमुक्त भएका तर यसका असरहरु कायमै रहेका व्यक्तिहरुले भाेगिरहेका सकसबारे खोजहरु भएका छन्?

६ महिनासम्म पनि यस्ता समस्या कायमै रहेमा अथवा ६ महिनापछि पनि समस्याहरु यथावत रहेमा के गर्ने? के यसको कुनै उपचार छैन?

कोरोनाको उपचार पत्ता लगाउन वैज्ञानिकहरु लागिरहेका बेला संक्रमणमुक्त भएका व्यक्तिलाई देखिने गरेका यस्ता समस्याहरुबारे धेरै चासो नदिइएको पो हो कि?

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्