काठमाडौँ – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारदेखि सुरु भएको छ। प्रधानमन्त्री केपी ओलीले बिहान १० बजे खोप अभियान शुभारम्भ गरेका हुन्।

काठमाडौँको वीर अस्पतालमा पनि खोप अभियान सुरु भएको छ। वीर अस्पतालमा स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीले खोप लगाइरहेका छन्।

यो समाचार तयार पार्दासम्म एक सयजनाले खोप लगाइसकेको वीर अस्पतालका कोरोना फोकल पर्सन अच्युत कृष्ण कार्कीले जानकारी दिए।

उनका अनुसार एक दिनमा ६ सय जनालाई खोप लगाउने लक्ष्य लिइएको छ।

खोपको भण्डारण भने टेकू अस्पतालमै हुनेछ । हरेक दिन आवश्यक खोप वीर अस्पताल ल्याइने र बाँकी खोप भण्डारणका लागि टेकु नै लगिने जनाइएको छ ।

खोप लगाइसकेका व्यक्तिलाई आधा घण्टासम्म खोप केन्द्रमै राख्ने गरिएको छ। कुनै समस्या आए तत्काल उपचार गर्नका लागि यसो गरिएको हो।

वीरमा एक जना नर्सलाई खोप लगाइसकेपछि सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ।

स्वास्थ्यकर्मीहरुले सकारात्मक सन्देश प्रवाह गर्न सुरुमै आफूहरुले खोप लगाएको बताएका छन्।