प्रदेश १ मा एम्बुलेन्स चालकदेखि मेसुले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर – कोरोना भाइरस कोभिड १९ विरुद्धको कोभिशिल्ड खोप प्रदेश १ मा पनि लगाउन सुरु गरिएको छ।

बुधबार विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ स्वास्थ्य उपचार केन्द्रमा आयोजित खोप लगाउने कार्यक्रममा सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिडविरुद्ध विजयी प्राप्त गर्ने काम शुरु भएको बताए।

मन्त्री कार्कीले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन सुरुगरिने जानकारी दिए।

सो क्रममा कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दास र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलले खोप लगाएका थिए।

खोप लगाएपछि कोशीका मेसु डा. दासले कोभिडको खोप लगाउन पाउनु पनि सौभाग्य भएको बताए।

कोशी अस्पतालका वरिष्ठ फिजिसिजन डा. सिग्देलले पनि खोप सुरक्षित भएको हुँदा डराउनुपर्ने अवस्था नभएको बताए।

उनले कोरोनाविरुद्ध कोभिशिल्ड ७० प्रतिशत प्रभावकारी रहेको प्रस्टाए । पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लगाए ५ महिनासम्म सुरक्षित रहन सकिने डा. सिग्देलको भनाई छ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बुधबार पहिलोदिन प्रदेशका ८ विभिन्न जिल्लाका १९ वटा खोप केन्द्रमा कोभिशिल्ड खोप लगाइने जानकारी दिए।

सोही क्रममा बस्नेतले मोरङ, सुनसरी, झापा, धनकुटा, भोजपुर, उदयपुर, इलाम र ते¥हथुमका २८ हजार ५ सय ६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताए।

खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएको बताएका बस्नेतले बिहीबार थप ४ र शुक्रबार २ जिल्लामा खोप कार्यक्रम सुरु हुने जानकारी दिए।

त्यसैगरि, सुनसरीमा इनरुवाका एम्बुलेन्स चालकलाई पहिलो खोप लगाइएको छ। इनरुवा अस्पतालका चालक नारायण मण्डललाई कोरोनाविरुद्धको खोप लगाइएको हो।

चालक मण्डलपछि डा. सन्तोष राई र अन्य कर्मचारीले खोप लगाएका हुन्। प्रदेश १ मापहिलो चरणमा सरकारी तथानिजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मीसहित ३५ हजार ५७६ लाई खोप लगाईँदैछ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्