
काठमाडौँ-नेपाली सेनाले काठमाडौँ-तराई-मधेश द्रूत मार्ग सडक आयोजना निर्माणमा हालसम्म करिब १८ अर्ब रुपैयाँ खर्च भइसकेको जनाएको छ।
आयोजनाको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै नेपाली सेनाले हालसम्म १७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको उल्लेख गरेको छ।
ललितपुर- काठमाडौँ-मकवानपुर हुँदै बाराको निजगढमा पुगेर टुंगिने द्रुतमार्गको लम्बाई ७२.५ किलोमिटर रहेको छ।
अन्तर्राष्ट्रिय परामर्शदाता छनोट भई नेपालमा आएर काम सुरु गरेको तथा सुरुङ मार्गको लागि कम्पनिहरुको सर्टलिस्टिङ तथा मुल्याङ्कन कार्य सम्पन्न भएर निर्माण कार्यले गति लिएको नेपाली सेनाले जनाएको छ।
यो आयोजनाको कुल बजेट एक खर्ब ७५ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ।आयोजना आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य छ।
आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनाले चालू आर्थिक वर्षको समाप्तीमा आयोजनाको १६.२१ प्रतिशत काम सम्पन्न हुने लक्ष्य लिएको छ।
यस द्रुतमार्गमा तीन वटा सुरङ मार्गको लम्बाई ६.४१ किलोमिटर र विभिन्न पुलहरुको लम्बाई १०.५९ किलोमिटर रहेको छ। आयोजना अन्तर्गत ४४.१ किलोमिटर सडक खण्डमा माटो काट्ने र पुर्ने काम ८८ प्रतिशत सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।ञ