मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव र सरकार गठनबारे दाहाल–नेपाल पक्षले कांग्रेससँग छलफल गर्ने

मोरङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रदेश १ मा सरकारका विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल जारी राख्ने जनाएको छ।

विराटनगरमा बुधबार नेकपा प्रदेश १ कमिटी (दाहाल–नेपाल)ले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा प्रदेश इन्चार्ज भीम आचार्यले प्रदेश सभामा दर्ता गराएको अविश्वासको प्रस्ताव पास गराएर कांग्रेससँग सरकार र पदीय भागवण्डाका विषयमा छलफल हुने बताए।

अविश्वासको प्रस्ताव, सरकारका विषयमा प्रदेशका अन्य राजनीतिक दलसँग संवाद भइरहेको बताएका आचार्यले ती दलको केन्द्रबाट निर्णय आएपछि थप कुरा अघि बढ्ने बताए।

प्रदेश ईन्चार्ज आचार्यले प्रदेशसभाका सभामुख विराटनगर बाहिर रहेकोले सभामुख फर्किएपछि अविश्वासको प्रस्ताव पारित हुनेमा आफू विश्वस्त रहेको बताए। वर्तमान सरकारले हालसम्म प्रदेशको नामाकरण गर्न नसकेको हुँदा प्रधानमन्त्री निकटको प्रदेश सरकार फेल भइसकेको उनको भनाइ छ।

पत्रकार सम्मेलनका क्रममा नेकपाका प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अघि बढाइएको असंवैधानिक कदमविरुद्ध करिब ६० हजारको संख्यामा जनप्रदर्शन गरिने उल्लेख गरे।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्