बझाङ युवक हत्या प्रकरणः वडाध्यक्षसहित थप तीनजना पक्राउ

वडाध्यक्ष विकास ऐडी।

धनगढी– विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रिया सकिएपछि भएको युवक हत्या प्रकरणमा संलग्नता रहेको आशंकामा बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ का वडाध्यक्षसहित प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको मंगलबार वेलुका खुडा प्रहार गरी हत्या गरिएको थियो। सो घटनामा संलग्न भएको आरोपमा मंगलबार नै १ जनालाई पक्राउ गरिएको थियो भने बुधबार वडा अध्यक्ष विकास ऐडी सहित थप ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, सोही वडाका प्रकाश ऐडी र केदार ऐडी रहेका छन्। उनीहरुलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरी प्रमुख खड्काले बताए। हत्या आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत मंगलबार नै पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार छबिस पाथिभेरा गाउँपालिका ३ कै बान्निचौर माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि निर्वाचन भएको थियो। सो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट गजेन्द्र धामीलाई पराजित गर्दै कांग्रेस निकट उम्मेदवार लोकेन्द्र बोहरा विजयी भएका थिए।

निर्वाचन शान्तिपूर्वक सम्पन्न भएपनि घर जाँदा कम्युनिष्टका कार्यकर्ताले आफ्ना उम्मेदवारलाई सहयोग नगरेको भन्दै विवाद सिर्जना गरेका थिए। सोही क्रममा सिंहको हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख खड्काले बताए।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्