वीरगञ्जमा पनि सुरु भयो कोरोनाविरुद्धको खोप अभियान

नारायणी अस्पतालमा कार्यरत नर्स हेमा थापा कोरोनाविरुद्धको खोप लगाउँदै।

वीरगञ्ज– कोरोनाविरुद्धको खोप लगाउने अभियान बुधबारदेखि वीरगञ्जमा पनि सुरु भएको छ। नारायणी अस्पतालमा एक कार्यक्रमको आयोजना गरी कोरोनाविरुद्धको खोप लगाउने अभियाको सुरुवात गरिएको हो।

अभियान अन्तर्गत वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत नर्स हेमा थापाले पहिलो खोप लगाइन्। नर्स थापालाई अस्पतालमै कोरोनाविरुद्धको खोप लगाइएको थियो।

कोरोना महामारीको बेलामा फ्रन्टलाइनमा खटेर काम गरेको अनुभव सुनाउँदै थापाले खोप लगाउन पाउँदा कोभिडविरुद्ध लडन अझै हौसला बढ्ने विश्वास व्यक्त गरिन्।

हेमा थापा।

कोरोनाविरुद्धको खोप लगाउन कुनै डर संकोच नभएको बताउँदै उनले खोप लगाएपछि खुसी लागेको सुनाइन्।

‘कोभिडविरुद्ध लड्नको लागि अझ हौसला मिल्ने भयो,’ उनले भनिन्, ‘डराउनु पर्दैन। अरु इन्जेक्सन लगाए जस्तै हो।’

कोभिड महामारीको बेलामा पनि संक्रमितको उपचारमा खटिने पहिलो टीममा आफू रहेको बताउँदै खोप पनि पहिले आफूले नै लगाउन पाउँदा खुसी लागेको थापाको भनाइ थियो।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सञ्जय ठाकुरले पहिलो चरणमा जनस्वास्थ्य कार्यालय पर्सामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शववाहन चालकलाई खोप लगाउने कार्यक्रम राखिएको जानकारी दिए।

कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जय ठाकुर, प्रदेश सांसद जन्नत अन्सारी लगायत अस्पतालका स्वास्थयकर्मीहरुको उपस्थिति रहेको थियो।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्