अख्तियारको ७ घण्टे अप्रेशनपछि यातायात कार्यालयको परीक्षा अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ७ घण्टे अप्रेशनपछि यातायात व्यवस्था कार्यालय जनकपुरधामले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले मंगलबार साँझदेखि रातिको करीब साढे १० बजेसम्म छापामारेको थियो। यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षा कार्यव्यस्तताको कारण अनिश्चितकालको लागि स्थगित गरेको जानकारी दिएका छन्।

सवारी चालक परिचय-पत्र वापत उठाएको घुसको ठूलो रकम कार्यालयभित्रै रहेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको थियो।

सो अवधिमा अख्तियारको टोली कार्यालयका निमित्त प्रमुखसहित दुईजना करारका कर्मचारी, एकजना कार्यालय सहयोगी र दुईजना विचौलियालाई कार्यालयभित्रै थुनेर राखेको थियो।

अख्तियारको टोलीले करिब ७ घण्टाको अप्रेशन गरे पनि कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय रुपैयाँ र बिचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयासहित नियन्त्रणमा लिएको थियो।  

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्