पुलिसलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडौँ- शसस्त्र प्रहरी बल-एपीएफ क्लब  प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा एपीएफले पुलिसलाई रनले हरायो।

२ सय ४ रनको लक्ष्य पछ्याएको पुलिसले ४ बल बाँकी रहँदा सबै विकेट गुमाएर एक सय ७३ रनमा सिमित भयो। पुलिसका पवन सर्राफले ४०, रसिद खानले ३४, दीपेन्द्रसिंह एेरीले ३३ र अनिल शाहले २१ रन बनाए।

एपीएफका भुवन कार्कीले ४ तथा शरद भेषावकर र कमल एेरी, अबिनास बोहराले दुई दुई विकेट लिए। भुवनले ९.२ ओभरमा एक मेडन राख्दै २१ रन मात्र खर्चिए।

एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोड्यो। एपीएफका शंकर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल  र कमलसिंह ऐरीले  १९/१९, शरद भेषावकरले १८ रन बनाए।

आरिफ शेखले तीन  तथा दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजबंशीले दुई दुई विकेट लिए। आरिफले १० ओभरमा एक मेडन राखेर ३१ रन खर्चिए। एपीएफले नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने छ।

 

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्