मानिस मनको धनी छ। मन, मानस र मानिस यी तीन शब्दले पृथ्वीमा उत्पन्न चेतना, होस र बोध भएको सर्वश्रेष्ठ प्राणीको अस्तित्वलाई जनाउँछ। पृथ्वीमा मानवको उत्पत्ति बारेमा भौतिक विज्ञान र अध्यात्म विद्याका बेग्ला बेग्लै मत छन्। भौतिक विज्ञानले एक कोषीय जीवबाट विनाश हुँदै हुँदै मानिस जस्तो चेतनशील प्राणीमा आइपुगेको कुरा गर्छ भने अध्यात्म विज्ञानले सृष्टिक्रममा मानिस ईश्वरबाट, परमात्माबाट वा भनौँ समग्र अस्तित्वबाट सिर्जना भएका असंख्य प्राणी र वनस्पतिमा सर्वश्रेष्ठ रुप भएको एउटा विशिष्ठ र चेतनायुक्त जीवका रुपमा लिइन्छ। त्यसैले यो चेतनशील प्राणीलाई मानव जीवन भनिन्छ।

वास्तवमा ब्रम्हाण्ड कहाँबाट र कहिले उत्पत्ति भयो भन्ने कुरा र यो विश्व ब्रम्हाण्डको एउटा अंश पृथ्वीको उत्पत्ति भयो भन्ने कुरा र यो विश्वब्रम्हाण्डको एउटा अंश पृथ्वीको उत्पत्तिबारे जति खोज गरे पनि पूर्ण रुपले प्रमाणिक हुने, सबैलाई ग्राह्य र पाच्य तथा स्वीकार्य हुने उत्पत्तिको विज्ञान तथा सिद्धान्त अहिलेसम्म पनि प्रस्तुत हुन सकेको देखिँदैन। यसको खोजीमा आधुनिक विज्ञान प्रयासरत छ र पुरातन खोजीमा अध्यात्य तथा धर्म छ र यिनीहरुको शाखाहरु छन्। शास्त्रहरु र संहिताहरुका रुपमा।

विज्ञानले पदार्थ र ऊर्जालाई मान्छ र त्यसमा भौतिक रुपले अध्ययन र अनुसन्धानमा काम गर्छ। अध्यात्मले चेतना अर्थात कारण जगत र ऊर्जा अर्थात सुक्ष्मता र पदार्थ अर्थात स्थूलतालाई जान्दछ र मान्छ। विज्ञानले वुद्धि, दिमाग तथा मनका आधारमा काम गर्छ, तर अध्यात्मले चाहिँ वुद्धि र मनभन्दा परको अवस्था– चेतनालाई सर्वोत्कृष्ट र सबै वस्तुको उद्गमको स्रोत मान्छ। त्यही चेतनाको विशिष्ठ अवस्था नै ईश्वर हो, परमात्मा हो र त्यो निराकार, निर्विकार र सर्वव्यापी छ भन्ने मान्छ। पदार्थ र ऊर्जाको अवस्था दृष्यमान जगतको बनावटमा छ तर अदृष्य रुपमा चाहिँ चेतना अर्थात कारण जगत छ भन्ने कुरा अध्यात्मको क्षेत्रको विषय हो।

गीताले अध्यात्मलाई सर्वश्रेष्ठ विद्या मानेको छ। अरु विद्याहरु वृत्ति चलाउने वुद्धिको स्तरमा काम गरिने विषय हुन् तर अध्यात्म चाहिँ जीवन र जगतको रहस्य बुझ्ने विद्या हो भन्ने मान्यता नै अध्यात्मका शास्त्रहरुको छ। ती शास्त्रमा र पूर्वीय दर्शनमा सर्वमहत्वको प्रस्तानत्रयी भनेर चिनिन्छ गीता, ब्रम्हसूत्र र उपनिषद्। प्रस्थानत्रयीको पनि मुख्य निचोड चाहिँ गीतालाई मानिन्छ। यो कुनै धर्म र सम्प्रदायको विषय वा ग्रन्थ होइन र यो सार्वजनिक सार्वकालिक र सनातन स्वीकार्य ग्रन्थ हो। वास्तवमा यो साधनायुक्त ग्रन्थ हो। अन्य धर्म वा सम्प्रदायका मानिसहरुले पनि शुद्ध आचरणमा बसेर साधना गरेमा गीताले उल्लेख गरेका मार्गका प्रतिफल स्वत: प्राप्त हुन आउँछन् र त्यसैले गीता अध्यात्मको श्रेष्ठ ग्रन्थ हो र सार्वजनिक हो भनिएको हो।

भनिन्छ– गीताजस्तो आध्यात्मिक, ग्रन्थ रहेसम्म संसारमा पाप र दुराचार बढ्न र दुर्जनहरुको बाहुल्य लामो टिक्न पाउने छैन। किनकी गीताका ज्ञानमा त्यो शक्ति छ र त्यो ज्ञान केही समय हराउँदा परमात्मा तथा अस्तित्व वा भनौँ विशिष्ट चेतनाको अवतरण यथासमयमा हुन्छ पटकपटक र त्यो ज्ञान पुनः मनुष्यलाई प्राप्त हुन्छ।

त्यसैले नै होला, संसारमा उत्पन्न भएका प्राय: सबै महान र दिव्य पुरुषहरुले गीतको भाष्य गरेका छन्, व्याख्या र टीका गरेका छन्। महापुरुषहरुले यो ग्रन्थलाई अत्याधिक महत्व दिए। पूर्वीय दर्शनमा आदिगुरु शंकराचार्यदेखि आजसम्म आइपुग्दा यसको व्याख्या गर्न कोही छुटेनन्। गीताका सामग्रीको महत्व बुझेर आफ्ना आध्यात्मिक अवस्था अनुसारका व्याख्या गरी नै रहे। यो क्रम टुटेन।

ओशोले त यति लामो र बेजोड व्याख्या गरे कि त्यसका ठूल्ठूला ८ भोल्युम छन्। वास्तवमा गीतको व्याख्या गर्ने प्रेरणा उनीहरुलाई किन भैरह्यो ? यसको कारण के देखिन्छ भने साधना तथा योगमा आरुढ हुँदै गएपछि शारीरिक र मानसिक विकारहरुबाट मानिस मुक्त हुँदै जान्छ र उसको अन्तर मन तथा मानस, निर्मल हुँदै गएपछि आउने चित्तको निर्मल अवस्थामा मानिसले सत्य बुझ्छ र त्यो बुझेको सत्य गीतासँग मिल्छ। त्यसैले विभिन्न योगमा आरुढ र ध्यानी पुरुषहरुले सत्यको अनुभूति गरेपछि गीताको केवल शाब्दिक अर्थ होइन, प्रज्ञा र विशिष्ठ भाव बुझ्न थाल्छन् र गीताबारे बोल्न र लेख्न उत्सुक हुन्छन् र अस्तित्व र उच्च मार्गबाट झन्झन् प्रेरणा र अटूट चेतना प्राप्त हुन्छ।

यो कुराको पुष्टि शिवपुरी बाबाले पनि महर्षि अरविन्दको ‘एस्सेज अन गीता’ बारे भन्नुभएको छ। बाबाले भन्नु भएको छ- अरविन्दले यो ग्रन्थ चेतनाको अति उच्चतम अवस्थामा पुगेर लेखेको हो र त्यसैले तिमीहरुले अध्ययन गर्दै ध्यान पनि गर्नु निरन्तर रुपमा भन्नुभएको छ। यही कुराको पुष्टि स्वयं अरविन्दले समेत गरेको पाइन्छ। उनले भनेका छन्, मैले यो लेखेको राम्ररी थाहा पनि छैन र मलाई अस्तित्वले नै स्वयं लेखाएको हो। यो कति उच्च स्तर र अवस्थाको महान कुरा छ। शायद धेरैले यो कुरा नमान्लान् र नपत्याउलान्, तर मजस्ता व्यक्ति यो कुरा सुन्दा र बुझ्न खोज्दा गम्भीर बन्ने र अकाट्य सत्यका रुपमा विश्वास गर्न पुग्नु स्वाभाविक लाग्छ आफैलाई। जंगलभित्रै नपसे पनि र अलि परेबाट भए पनि अलिअलि त्यो हरियो जंगलको झलक पाएर होला यस्तो लागेको ! आफूलाई धन्य लाग्छ गीता जस्तो ग्रन्थ पढ्ने, बुझ्न खोज्ने र महापुरुषहरुका व्याख्याबारे चिन्तन मनन सहित घोत्लिँदा!

भनिन्छ– गीताजस्तो आध्यात्मिक, ग्रन्थ रहेसम्म संसारमा पाप र दुराचार बढ्न र दुर्जनहरुको बाहुल्य लामो टिक्न पाउने छैन। किनकी गीताको ज्ञानमा त्यो शक्ति छ र त्यो ज्ञान केही समय हराउँदा परमात्मा तथा अस्तित्व वा भनौँ विशिष्ट चेतनाको अवतरण यथासमयमा हुन्छ पटकपटक र त्यो ज्ञान पुनः मनुष्यलाई प्राप्त हुन्छ। यो कुरा त गीतामा नै श्रीकृष्ण स्वयंले अर्जुनलाई बताएका छन्। त्यसैले सत्यको विजय हुन्छ र गीताका कारण जगतमा सत्य हार्दैन। श्रीकृष्ण भनेको चेतना हो, ब्रम्हाण्ड सञ्चालक चेतना गीता एउटा बिज हो र यो यस्तो बिज हो जसको वृक्षमा धेरै आकार, प्रकारका फल लाग्ने क्षमता छ। हरेक भौतिक बिजमा एउटा मात्र क्षमता हुन्छ र हरेक शास्त्रमा पनि सीमित क्षमता हुन्छ, तर गीतारुपी अध्याय बिजमा ज्ञान, भक्ति, ध्यान, कर्म यी सबै भोगको साझा संगम छ, त्यसैले यसमा धेरै व्याख्या भयो र विशिष्टता छ।

अर्जुनका विभिन्न प्रकारका संदेशहरु र दोषहरु मेटाउँदै उनलाई शुद्ध र विशिष्ट भावमा पुर्‍याएर ज्ञान, प्रज्ञा र वैराग्यले युक्त गराउँदै कृष्णले आफ्नो विश्वरुप देख्ने र पहिचान गर्ने अवस्थामा पुर्‍याउनुभयो।  वास्तमा यो कुनै जादु होइन, एउटा साधकको शुद्धतापछि आउने अवस्था हो। वास्तमा विश्वरुप ईश्वरीय शक्ति हो परमात्माको। गीतामा त्यो अलौकिक रुप देख्न आवश्यक अलौकिक पूर्वाधार निर्माण गर्ने क्षमता छ यदि साधकले साँच्चि नै साधनामा उत्रने हो भने। वास्तवमा श्रीकृष्ण नै गीताको प्रतिकात्मक नाम हो र गीता नै श्रीकृष्ण हो।

म स्वयम्‌को अनुभवमा विगत १५–१६ वर्ष देखिको गीताको अध्ययन र विभिन्न महापुरुषले गरेका सुक्ष्म विश्लेषण र विशिष्ठ भावहरुलाई बुझ्न खोज्दा अलौकिक ज्ञान र अध्यात्म साधनाको परम ध्येयमा पुग्ने सामर्थ्य देख्छु। मैले गीतालाई के पाएको छु भने सामान्य अवस्थामा यसको अध्ययन गर्दा भौतिक वा लौकिक अरु विद्याको अध्ययन गरेसरह एउटा बौद्धिक खुराकको रुपमा र अन्य पुस्तक पढेझैँ हुन्छ र खास चाख हुन्न र त्यत्ति महत्व बुझ्न सकिन्न। तर ध्यान – योगको साधना गरेर एउटा प्रशान्त, निश्चल निरवता, शान्ति र आत्मिक आनन्दको अवस्थामा यो ग्रन्थ एकान्तमा पढ्दा धेरै रहस्य आफै खुल्दै जाने र अनुभवमा समेत आउने हुन्छ। गीता यस्तो आध्यात्मिक ग्रन्थ हो जसले आध्यात्मिक ज्ञान र प्रामाणिकता यस अवस्थामा दिन्छ। अध्यात्म अकाट्य परम सत्य रहेछ भन्ने अनुभूति गराउँदैछ। मन पुलकित र विशिष्ठ भावमा पुग्छ। एउटा अनुपम सर्वश्रेष्ठ चिज प्राप्त भएको अनुभूति हुन्छ। पढौँ, पढौँ लाग्ने र एक प्रकारले ध्यानको अवस्थामा स्वत: हुन्छ।

त्यसैले गीता महान छ र संसारमा यति महान आध्यात्मिक ग्रन्थ विरलै होलान्। अहिलेको दूषित, भ्रष्ट र भ्रमित अवस्थामा गीता ज्ञानले सकारात्मक प्रेरणा, उत्साह, शान्ति र दैवी प्रवृति बढाउन योगदान गर्ने थियो तर तामसिक र राक्षसी प्रवृतिबाट यो बुझ्न नसकिने हुँदा केही राजसिक र अधिक सात्त्विक गुणलाई बढाएर नै गीताको चेतन तत्त्व  बुझ्न सकिन्छ। आसुरी प्रवृत्तिमाथि दैवी प्रवृत्तिको विजय नभएसम्म समाजमा पाप, विकृति, भष्ट आचरण भै नै रहन्छ। यहाँ पनि अहिले प्रकृतिको गुण धर्मको खेल नै हो यो विकृत अवस्थामा आउन। एउटा नेता पनि सात्त्विक वृत्तिका छैनन्, दैवी प्रवृतिका छैनन्। त्यसैले गीता ज्ञानको महत्व बुझ्न जरुरी छ अहिले झनै।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्