प्रदेश-२ मा ७ सय ३३ जनालाई कोरोनाविरुद्धको खोप

जनकपुरधाम- प्रदेश २ मा कोरोना भ्याक्सिन अभियानको पहिलो दिन ७ सय ३३ जनाले भ्याक्सिन लिएका छन्।

बुधबार प्रदेशको ८ वटै जिल्लाको ९ केन्द्र र १४ वुथबाट ७ सय ३३ जनाले कोरोना विरुद्धको भ्याक्सिन लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए।

अभियानको पहिलो दिन आठवटा जिल्लाको अस्पताल र सप्तरीमा रहेको प्रहरी अस्पतालमा कोरोना विरुद्धको भ्याक्सिन दिइएको छ। पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीहरुलाई भ्याक्सिन दिइदैछ।

अभियानको पहिलो दिन सबैभन्दा बढी सप्तरीमा १ सय ४६ जनाले कोरोना विरुद्धको भ्याक्सिन लिएका छन् भने सबैभन्दा कम रौतहटमा २६ जना लिएका छन्।

सप्तरीमा गजेन्द्र नारायण सिंह अस्पतालमा ७६ जना र रुपणी प्रहरी अस्पतालमा ७० जनाले भ्याक्सिन लिएका छन्। त्यस्तै सर्लाहीमा १ सय २९ जना, पर्सामा ११३, सिरहामा १ सय १०, धनुषामा १ सय २, बारामा ७० र महोत्तरीमा ३७ जनाले भ्याक्सिन लिएको निमित्त निर्देशक झाले बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकास मन्त्री नवल किशोर साह सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजबाट अभियानको शुभारम्भ गरेका थिए।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्