पाँचतारे होटलका कर्मचारीको तलब मासिक ५ हजार रुपैयाँ, हान भन्छ- काम गर्न आउनेले पूरा तलब पाउँछन्

काठमाडौँ- कोरोना भाइरसको महामारीका कारण नराम्ररी थलिएको होटल व्यवसायको निरन्तरताका लागि व्यवस्थापन र कर्मचारी तथा कामदारबीच नयाँ सहमति बनेको छ।

होटल एसोसिएसन अफ नेपाल-हान र क्रियाशली मुख्य तीनवटा ट्रेड युनियनबीच मंगलबार सन् २०२१ को डिसेम्बर ३१ तारिखसम्म लागू हुने गरी नयाँ सम्झौता भएको छ। पछिल्लो सम्झौता गत पुस १६ गते सकिएको थियो।

सहमतिअनुसार कामदारलाई पाँचतारे होटल तथा रिसोर्टले मासिक पाँच हजार रुपैयाँ दिने छन्।

यसैगरी चारतारे होटल तथा रिसोर्टले चार हजार, तीनतारे होटल तथा रिसोर्टले ३ हजार, दुई तारे होटल तथा रिसोर्टले २५ सय र एक तारे होटल तथा रिसोर्टले २ हजार रुपैयाँ मासिक पारिश्रमिकका रुपमा कामदारलाई उपलब्ध गराउने छन्। हानका महासचिव साजन शाक्य काम गर्न नबोलाइएका कर्मचारी तथा श्रमिकको हकमा यो सम्झौता गरिएको बताउँछन्।

‘काम गर्न बोलाइएका कर्मचारी तथा कामदारले उनीहरुले खाइपाइ आएकै तलब पाउँछन्। तर जसलाई बोलाइँदैन, उनिहरुको हकमा मात्र यो सम्झौता गरिएको हो’, महासचिव शाक्यले भने।

यसअघि कोरोना महामारीका कारण लकडाउन सुरु भएपछि हान र क्रियाशील मुख्य तीनवटा ट्रेड युनियनबीच पारिश्रमिक सम्बन्धमा सन् २०२० भरका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार पाँच तारे होटलअन्तर्गत डिलक्समा काम गर्ने कर्मचारी तथा श्रमिकलाई मासिक १० हजार रुपैयाँ र सामान्यमा काम गर्नेलाई मासिक ९ हजार रुपैयाँ दिइएको थियो।

महासचिव शाक्यले कोरोना महामारी अन्त्य हुने अनुमान गरिएपनि अझ बढ्दै गएपछि होटल व्यवसाय थप संकटमा परेको र कतिपय संस्था बन्द भएको अवस्थामा श्रमिक तथा कामदारको रोजगारीलाई सुनिश्चित गर्न यस्तो व्यवस्था गर्नु परेको बताए।

‘ होटल पनि बाँचिरहुन् र कर्मचारीको पनि रोजगारी कायमै रहोस् भन्नका लागि यस्तो व्यवस्था गर्नुको विकल्प भएन। सरकारले कुनै सहयोग नगरेको अवस्थामा होटल व्यवस्थापन रिन लिएर कर्मचारी पालिरहेका छन्’, शाक्यले भने।

हानका अनुसार अहिले अधिकांश होटल तथा रेस्टुरेन्टले सबै कर्मचारीलाई कार्यालय बोलाएका छैनन्। उनिहरुलाई रोटेसन मिलाएर काममा बोलाइएको छ। शाक्यले महिनामा कम्तिमा १५ दिन काम गर्ने कर्मचारीले पुरा तलबअनुसार काम गरेको दिनको तलब पाउनेछन्।

१५ दिनभन्दा कम समय काम गर्ने कर्मचारीले पाउने तलबअनुसारको त्यति दिनको तलब र बाँकी दिनको   घरमा बस्दा आउने तलबअनुसारको रकम प्राप्त गर्ने सम्झौतामा उल्लेख छ।

यो सम्झौता अवधिभर चाडपर्व खर्च, बोनस र भ्रमण पत्ता कर्मचारी तथा कामदारलाई उपलब्ध हुने छैन।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्