दाङमा पहिलो दिन २०८ जनाले लगाए कोरोनाविरुद्धको खोप

दाङ– दाङमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुधबार २०८ जनाले पहिलो चरणको खोप लगाएका छन्। पहिलो चरणमा घोराही र तुलसीपुरमा गरी दुई स्थानमा खोप लगाउन सुरु गरिएको हो।

पहिलो चरणमा जिल्लाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउन सुरु गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका १२० र राप्ती प्रादेशिक अस्पतालमा ८८ जनालाई खोप लगाइएको छ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठानका डिन, प्रसुती रोग विशेषज्ञ डा. बसन्त लामिछाने, अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थीलाई खोप लगाएर अभियानको सुरुवात गरिएको छ।

त्यस क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले खोप मानव स्वास्थ्यका लागि हानिकारक नभएकाले कोही आत्तिन नहुने समेत बताइन्।

‘यसले मानव स्वास्थ्यमा कुनै गम्भीर असर पार्दैन,’ उनले भनिन्, ‘फलतः कोरोनाविरुद्ध लड्ने यो खोपदेखि कोही डराउनु या आत्तिनु पर्ने छैन।’

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित प्रादेशीक अस्पतालबाट बुधबारदेखि खोप लगाउन सुरु गरिएको र शुक्रबारदेखि लमही अस्पतालबाट पनि खोप लगाउन सुरु गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार जिल्लाको पश्चिम क्षेत्रका लागि तुलसीपुरस्थित प्रादेशिक अस्पताल, घोराही क्षेत्रका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र देउखुरी क्षेत्रका लागि लमही अस्पतालमा खोप लगाइने छ।

पश्चिम क्षेत्रका तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण, बबई र शान्तीनगर गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा, घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र लमही नगरपालिकासहित राप्ती, गढवा र राजपुर गाउँपालिकाका लागि लमही अस्पतालमा खोप लगाइने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

‘अहिले सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी, चिकित्सक तथा सरसफाईकर्मीहरुलाई खोप लगाउन सुरु भएको छ,’ प्रुमख जिल्ला अधिकारी आचार्यले भने, ‘शुक्रबारदेखि भने हरेक पालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि खोप लगाउन सुरु गरिने छ।’

उनका अनुसार पहिलो चरणमा जिल्लामा तीन हजार जनालाई पुग्ने खोप आइपुगेको छ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्