सुदूरपश्चिममा पहिलो दिन साढे सात सयले लगाए कोरोनाविरुद्धको खोप

धनगढी– सुदूरपश्चिम प्रदेशमा पहिलो दिन साढे सात सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

नौ वटा खोप केन्द्रबाट पहिलो दिन खोप लगाउने कार्य सुरु भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। १० वटा खोप केन्द्र रहेकोमा बाजुरा खोप केन्द्रबाट भने बिहिबारदेखि खोप अभियान सुरु हुने मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। पहिलो चरणमा फ्रन्टलाइनरलाई खोप दिइँदैछ।

काठमाडौँबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका थिए।

प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले कोरोना विरुद्धको पहिलो खोप लगाएका हुन्। खोप लगाइसकेपछि डाक्टर अवस्थीले पहिलो पटक खोप लगाउने मौका पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताए।

अवस्थीले भने, ‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो, डराउनुपर्ने कुरा छैन, त्यसैले खोप लगाउनुपूर्व पनि र लगाएपछि खुशी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस् भन्न चाहन्छु।’

संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोनाविरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको हो। आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरी कोरोनाविरुद्धको खोप पठाएको थियो।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्