एकता गर्न नसके दुवै नेकपा छिन्नभिन्न पार्ने वामदेवको चेतावनी, आफ्ना गल्ती लुकाउने प्रयास

काठमाडौँ- सत्तारुढ नेकपा दुई चिरा हुँदा उपाध्यक्ष वामदेव गौतम आफू एकताको पक्षमा रहेको र त्यसको संख्या प्रशस्त रहेको सन्देश गर्नमा लागि परेका छन्।  त्योसँगै पार्टी विभाजनको स्थितिमा पुग्नुको दोष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिर मात्रै सोझाइरहेका छन् उनले।

तर उनलाई गिज्याउने नेताहरुको पनि कमी छैन। यो विभाजनको जरोमा गौतम नै रहेको ती नेताहरुको तर्क छ। विभाजनपूर्व ९ सदस्यीय सचिवालयमा गौतमको समीकरण महत्वपूर्ण मानिन्थ्यो।

ओलीतर्फ चार र प्रचण्डतर्फ चार केन्द्रीय सचिवालय सदस्य उभिँदा गौतम कता? प्रश्न विगत ३० महिनामा पटकपटक उब्जियो। चुनाव हारेपनि आफू प्रधानमन्त्री बन्नका लागि ओलीविरुद्धको समीकरण निर्माणमा उनले प्रचण्ड पक्षलई पटकपटक साथ दिए तर ओलीले फ्याँक्ने गरेको पासामा सजिलै पर्ने उनको स्वभावले एकातिर उनको विश्वासनीयता कमजोर बनायो भने अर्कोतिर उनलाई आफ्नो कुनै पनि गुटले मानेन।

पछिल्लो पटक ओलीविरुद्ध अविश्वास प्रस्तावको तयारीमा ढुलमूले देखिएका गौतमले हाल आएर त्यो कदमको विरोधमा बोलिरहेका छन्। पार्टी एकताको पक्षमा उभिएपनि गौतम अभियानसँग सरोकार नराख्ने नेता लालबाबु पण्डितले नेकपा फुटको जड नै गौतम भएको र अहिले पनि आफ्नै स्वार्थका लागि उनले नेकपा एकता राष्ट्रिय अभियान सुरु गरेको आरोप लगाएका छन्।

उनले देशसञ्चारसँग भनेका छन, ‘वामदेव गौतम चुनाव हारेकाले म प्रतिनिधिसभा मात्रै होइन राष्ट्रियसभामा पनि जान सक्दिन भन्नुहुन्थ्यो। तर उहाँ प्रधानमन्त्री बन्नका लागि ओलीविरुद्ध सँधैभरी समिकरण बनाउन तल्लिन हुनुभयो। ओलीको आश्वासन पाउनेबित्तिकै आफ्नो अडान त्याग गर्नु भयो। उहाँले यता र उता नगरेको भए आज पार्टी फुट्ने थिएन।’

००

बुधबार ललितपुरको धोवीघाटमा आयोजित नेकपा एकता राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधनका क्रममा गौतमले पार्टी फुटबारे आफ्नो विश्लेषण सुनए। ओली र प्रचण्डलाई पूर्णरुपमा दोषी ठहर गरे। तर आफ्ना विगतका गल्ती र कमजोरीबारे एक शब्द पनि उच्चारण गरेनन् उनले।

उनले संसद विघटनले क्षति पुर्‍याएको तर पार्टी फुटको दोषको तराजुमा ओली र प्रचण्ड बराबर रहेको दाबी गरे।  उनले भने, ‘आलोपालो सहमति एकताको आधार थियो। जुन दिन त्यो सहमति त्यागेर प्रचण्ड कमरेडलाई पार्टीको कार्यकारी अध्यक्ष बनाइयो र बन्नलाई जोड गरियो त्यहाँबाट नै पार्टी फुटको विजारोपण भएको थियो।’  पार्टी एकताका लागि १३ वर्ष लागेको तर पार्टी फुट्न तीन वर्ष पनि नलागेको निष्कर्ष उनले सुनाए।

पार्टी फुटेर केही उपलब्धी नहुने आफ्नै पुरानै अनुभव रहेको पनि दाबी गरे। मालेको नेतृत्वको अनुभव सुनाउँदै उनले भने,‘ पार्टी फोड्दा उपलब्धी प्राप्त हुन्छ भनेर मैले पनि चार वर्ष भाषण गर्दै हिँडेको थिएँ। मेरो पार्टी नेकपा मालेले देशभरी एक ठाउँमा पनि भोट जित्न सकेन।’ उनी त्यतिमा राकिएनन्। उनले सफाइ दिँदै भने,‘हुन त हामी पार्टीबाट अलगिएको भन्दा पनि निस्कासन गरिएको थियो महाकाली सन्धीको विरोध गरेका कारण।’

गौतमले आफूले गणतन्त्र ल्याउने र पार्टी एकता गर्ने दुई वटा उद्देश्य हासिल गरेतापनि पार्टी फुटको पीडा कम नभएको उनले बताए। उनले भने,‘ गणतन्त्र ल्याएँ भने र पार्टी एकता गरेँ भने म मर्ने बेलामा शान्तीको श्वास फेरर मर्ने छु भनेको थिएँ। गणतन्त्र त आयो। पार्टी एकता भने ३० महिनामै फुट्यो। अब मेरो बाँकी जीवन पार्टी एकताको पक्षमा खर्च गर्नेछु। पार्टी एकता गरेर शान्तिपूर्ण अन्तिम श्वास लिन मन छ।’

००

अनि अर्को उनको अभिव्यक्ति थियो,‘ पार्टी एकताको पक्षमा ओली थिएनन् र छैनन्।’ पार्टी एकताको श्रेय आफूपछि प्रचण्डलाई जाने घोषणा पनि उनले गरे।  आफ्नो पक्षमा आउन दुवै समूहबाट चर्को दबाब आएपनि एकताकै लागि आफू अहिले कतै नगएको उनले सुनाए। तर एकता सफल नभए के त? गौतमले भने,‘ एकता सफल नभए आगामी निर्वाचनमा यी दुवैलाई छिन्नभिन्न पार्न जनतासँग आव्हान गर्ने छौँ।’ तर अन्ततःमा ओलीबाहेक उनका पक्षका सबै नेताहरु एकताकै पक्षमा उभिने आसमा उनी स्पष्टै देखिन्थे।

उनले भने, ‘ओलीबाहेक सबै नेताहरु एकताको पक्षमा हुनुहुन्छ। उहाँहरु मेरो अभियानमा आउनुहुनेछ। प्रचण्डको पक्षमा रहेका नेताहरु पनि मेरो अभियानमा आउनुहुनेछ।’ गौतमलाई हाल नेकपाका एक मात्र नेकपा केन्द्रीय सदस्य हरि पराजुलीले साथ दिएका छन्।

आफ्नो कित्ता स्पष्ट पार्न ढिलो गरेको र अन्तिममा ओलीतिरै जाने अड्कलबाजीबारे गौतमले प्रश्न गरे ,‘म ओलीतिर जाने आधार के छ? राम्रो कुरा गरेर फसाउन सक्ने खुवीबाहेक ओलीसँग केही पनि छैन। र, वामदेवलाई फसाउन र फकाउन सजिलै छ।’

‘म ओलीतिर जाने आधार के छ? राम्रो कुरा गरेर फसाउन सक्ने खुवीबाहेक ओलीसँग केही पनि छैन। र, वामदेवलाई फसाउन र फकाउन सजिलै छ।’

विगतमा आफू ओलीको आश्वासनमा पटकपटक फसेर धोका पाएको स्पष्ट पार्ने कोशिस पनि गरे उनले। उनले भने,‘ ओलीले मलाई अनेक पटक फकाउनु भयो। र, पटकपटक धोका दिनुभयो। अहिले जबज भनेपछि वामदेव गौतम हुरुक्कै गर्छ भन्ने प्रचार गर्दै मलाई फकाउने कोशिस गरिएको छ। तर म फकिनेवाला छैन।’

गौतमले आफ्नो पकड क्षेत्रमा पुगेर प्रधानमन्त्री ओली अहिले जबजको अलख लगाउने काममा व्यस्त रहेपनि ओलीले सोचेजस्तो नहुने बताए। जसले अध्यक्ष दिन्छ उत्तै वामदेव भन्ने चर्चा भइरहेका बेला त्यसबारे पनि गौतमले स्पष्ट पार्ने कोशिस गरे।

उनले भने,‘ मलाई कमरेड ओलीले तपाईँ पार्टीमा आउनुहोस् भन्नु भयो। मैले उहाहँलाई यदी तपाईँले अध्यक्ष छोड्नुहुन्छ र तपाईँ वरिष्ठ नेता भएर प्रधानमन्त्रीमै बस्नुहुन्छ भने म अध्यक्ष बन्छु र पार्टी एकताका लागि कार्यदल बनाउने र त्यसको प्रमुख पनि मै हुनुपर्छ भन्ने प्रस्ताव राखेको थिएँ। तर त्यो विषयलाई तोडमोड गरिएको छ।’ गौतमले आफूले नै पार्टीमा दुई अध्यक्षात्मक प्रणालीको विकास गर्न प्रस्ताव गरेको दाबी गरेका छन्। तर ओली र आलोपालो सम्झौता खारेज गरेकै दिन पार्टी फुटको बिउ रोपिएको गौतमको भनाई छ।

उनले भने,‘ आफूहरुको लडाईँले गर्दा गत वर्ष मंसिर ४ गते सचिवालयमा प्रचण्डले कार्यकारी अध्यक्ष पाउनु भएको थियो जुन हाम्रो विजय थियो। त्यो बेला प्रचण्ड खुसी हुनु भयो। तर प्रचण्डले प्रचण्डले एकताको शर्त अनुरुप प्रधानमन्त्री पद त्याग गर्ने घोषणा गर्दा हामी दुखी भएका थियौँ। ओलीले तुरुन्तै प्रधानमन्त्री प्रचण्ड नबन्ने निर्णय लेख्न लगाउनु भयो। आजको विभाजन आलोपालो शर्तको त्याग नै हो।’

त्यसपछिका घटनाक्रमले पार्टी विभाजनमा सहयोग पुर्‍याएको बताए। तर त्यसपछि पनि राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गर्न, ठाउँ खाली गराएर प्रतिनिधिसभामा लड्न र अन्तिममा राष्ट्रियसभामा जानका लागि ओलीविरुद्धको मोर्चामा आफू सामेल भएको जस्ता विवादित प्रसंग उनले कोट्याउन चाहेनन्।

प्रचण्डले आलोपालो सम्झौताबाट पछि हट्नुमा आफ्नो गल्ती भएको हाल आएर बताउन थालेका छन्। तर त्यतिबेला यो सम्झौता खारेज भएकोमा आफूलाई चित्त नबुझेको भएपनि मौन बस्नु आफ्नो कमजोरी भएको गौतमले स्वीकार गरे। उनले भने,‘आलोपालो सम्झौता खारेज हुँदा मलाई पनि रिस उठेको थियो। तर आफ्नो रिस नियन्त्रणमा लिन खोजेँ अहिले पछुतो छ। त्यतिबेला प्रश्न उठाएको भए अहिले एकता भंंग हुने थिएन कि?’

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्