अध्ययन भन्छ-भ्रामक समाचार दिनेमा अनलाइनभन्दा पत्रिका अगाडि

काठमाडौँ – नेपालमा अनलाइन न्युज पोर्टलले भ्रामक समाचार दिने गरेको गुनासो सुनिन्छ। तर ४९ हजार ५१ वटा न्यूजमाथि गरिएको एक अध्ययनले भने नेपालका अनलाइनभन्दा दैनिक पत्रिकाले बढी भ्रामक समाचार दिने गरेको देखाएको छ। मिडिया एक्सन नेपालले गरेको अध्ययनले विश्वसनीय समाचार दिनेमा पत्रिकाभन्दा अनलाइन अघि देखाएको हो।

अध्ययनले नेपाली सञ्चार माध्यमले झण्डै चार प्रतिशत भ्रामक समाचार दिने गरेको देखाएको छ। नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएको चैत ११ गतेदेखि तीन महिनासम्म दशवटा दैनिक पत्रिका र दशवटा अनलाइन न्युज पोर्टलमाथि गरिएको सुक्ष्म अध्ययनबाट उक्त तथ्य फेला परेको हो।

मिडिया एक्सन नेपालका अनुसार दुवै माध्यममा प्रकाशित ४९ हजार ५१ वटा समाचारमाथि अध्ययन गरिएको थियो। यीमध्ये एक हजार आठ सय १९ वटा अर्थात् ३.७ प्रतिशत समाचार भ्रमक रहेको पाइएको हो।

अध्ययन गरिएका मध्ये २३ हजार २ सय ९१ वटा समाचार दैनिक पत्रिकाबाट लिइएको थियो भने २५ हजार सात सय ६० वटा समाचार नेपालमा चलेका दशवटा अनलाइनबाट लिइएको मंगलबार प्रकाशित रिपोर्टमा उल्लेख छ।

अध्ययनका क्रममा १८१७ वटा भ्रामक समाचारमध्ये पत्रिकाका ९०७ वटा समाचार भ्रामक पाइएको हो। अनलाइनमा प्रकाशित ९१० वटा समाचार भ्रामक देखिएका छ। जाँचिएका १० पत्रिकाका २३ हजार २ सय ९१ समाचारमध्ये ९०७ अर्थात ३.८९ प्रतिशत समाचार भ्रामक देखिएको छ। जाँचिएका १० अनलाइनका २५ हजार ७ सय ६० वटा समाचारमध्ये ९१० वटा समाचार अर्थात ३.५३ प्रतिशत समाचार भ्रामक पाइएका छन्।

प्रतिशतका आधारमा देश सञ्चार अनलाइन भ्रामक समाचार नछाप्ने समाचार संस्थाहरुको सूचीमा अग्रस्थानमा देखिएको छ।

भ्रामक समाचारमध्ये झण्डै ९६ प्रतिशतमा गलत स्रोत प्रयोग गरिएको अध्ययनले देखाएको छ। १८१७ मध्ये १७३९ वटा समाचार गलत स्रोतका कारण भ्रामक बन्न पुगेको हो। नाम उल्लेख गर्न नचाहने भनेर लेखिएको धेरै थियो।

भ्रामक समाचारमध्ये १.९८ प्रतिशत हेडलाइनमा, १.२७ प्रतिशतले गलत तथ्य छापेको पाइएको छ।

पत्रिका

कान्तिपुर दैनिकको १७५९ वटा समाचार अध्ययन गरिएको मा ८ वटा भ्रामक पाइएको छ। त्यस्तै अन्नपूर्ण पोष्टको ३०९३ समाचार मध्ये २१७, नयाँ पत्रिकाको १७४० मध्ये ३१, नागरिकको २९३२ मध्ये २०८ वटा समाचार भ्रामक रहेको मिडिया एक्सनसले जनाएको छ।

त्यस्तै गोरखापत्रको ३३४२ मध्ये ११, नेपाल समाचारपत्रको ११४२ मध्ये २२५, द काठमाडौँ पोष्टको २०४३ मध्ये ३, राइजिङ नेपालको २५८६ मध्ये १७४, रिपाब्लिकाको ६०८ मध्ये २८ र द हिमालय टाइम्सको ४०५६ समाचार मध्ये जम्मा २ वटा मात्रै भ्रामक रहेको प्रतिवेदनमा उल्लेख छ।

अनलाइनमा देश सञ्चार विश्वसनीय

चलेका दश अनलाइनमध्ये अनलाइन खबरको १०५० समाचार अध्ययन गरेकोमा एउटा, सेतोपाटीको ११०२ मध्ये ५, रातोपाटीको १२०२ मध्ये २१, नेपाल खबरको ४५८५ मध्ये ११४ वटा समाचार भ्रामक रहेको थियो।

नेपाल लाइभको ३१६९ समाचार मध्ये २५७, थाहा खबरको ३५४८ मध्ये ६ र देश सञ्चारको सबैभन्दा बढी ७३८१ समाचार लिइएकोमा ६ वटा समाचार मात्र ‘भ्रामक’ छापेको उल्लेख छ। प्रतिशतका आधारमा देशसञ्चारका ०.०८ प्रतिशत समाचारमात्र ‘मिसलिडिङ’ थिए।

बाह्रखरी अनलाइनको १५०० मध्ये २, खबरहबको ९२१ मध्ये ३५३ र हिमाल खबरको १३०२ मध्ये १४५ समाचार भ्रामक रहेको प्रतिवेदनमा उल्लेख छ।

माघ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्