सिटिजन्स बैंक इन्टरनेसनलले मनायो छैठौं विशेष साधारण सभा

काठमाडौँ-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा बिहीबार बैंकको केन्द्रिय कार्यालय काठमाडौँको दरवारमार्ग सम्पन्‍न भएको छ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव पारित भएको हो।

यस विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ।

तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१:०.९६) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ।

यसै बीच, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको पनि मिति २०७७ माघ १५ गते, सम्पन्न वार्षिक साधारण सभाले समेत तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ।

दुबै बैंकको विशेष-वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो।

एक महिना भित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिए।

माघ १४ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ।
प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ।सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत बैंकको छैठौं विशेष साधारण सभा संचालन गरेको हो।

बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

माघ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्