लकडाउनका बेला यात्रा गरेको भन्दै बेलायती प्रधानमन्त्रीको आलोचना

लण्डन-लकडाउनका बेलामा यात्रा गरेको भन्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सर्वत्र आलोचना भएको छ ।

उनले लकडाउनका बेला स्कटल्याण्डको भ्रमण गरेर कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना भएको हो ।

कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि बेलायतमा अहिले देशभरी नै लकडाउन लागु गरिएको छ । उनले लकडाउनको उल्लङ्घन गरेको धेरैको टिप्पणी छ ।

विश्वमै सवैभन्दा पहिला कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको बेलायतमा अहिले पनि दैनिक हजारौ सङ्क्रमित भएका छन् भने सयौँको मृत्यु भइरहेको छ ।

आलोचकहरुले कडा लकडाउनको बेलामा प्रधानमन्त्री जोनसनले राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

स्कटल्याण्डका मुख्यमन्त्री निकोलस स्टुर्गेनले पनि प्रधानमन्त्री जोनसनको भ्रमण अत्यावश्यक नभएको बताउनुभएको छ । स्टुर्गेनले दिएको अभिव्यक्तिका कारण पनि प्रधानमन्त्री जोनसनको भ्रमणको आलोचनाले चर्चा पाएको हो ।

माघ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्