३६ वटा गाई मारिएकाे घटनामा नगर प्रहरी निरीक्षकसहित १२ जनालाई कैद आदेश

सांकेतिक तस्बिर ।

नेपालगञ्ज – एक वर्षअघि सुर्खेतको कटकुवा जंगलमा ३६ वटा गाई मरेको घटनामा सुर्खेत जिल्ला अदालतले नेपालगञ्ज उपमहानगरपालिकाका १२ जना नगर प्रहरीलाई कैद सजाय सुनाएको छ।

नेपालगञ्जको कान्जीहाउसबाट २ सय ९१ वटा गाई, गोरु, बाछाबाछी दैलेख लैजाने क्रममा कटकुवा जंगलमा छोडिएको थियो । त्यसक्रममा ३६ वटाको मृत्यु भएको थियो ।

सुर्खेत अदालतले नेपालगञ्ज उपमहानगरपालिकाका प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित १२ जनालाई सजाय सुनाएको छ । प्रहरी निरीक्षक बोगटीलाई एक वर्ष ६ महिना कैदको फैसला गरेको छ ।

प्रहरी सहायक निरीक्षक विकास गौतमलाई एक वर्ष कैदको आदेश भएको छ । नगर प्रहरीहरु कमल बयक, सुवर्ण तरामीमगर, सुशान्त शाही, चन्द्रबहादुर रानालाई ६ महिना, पवनकुमार कनोजियालाई ५ महिना, धर्मेन्द्र नेपाली र राकेश भारतीलाई तीन/तीन महिना कैद आदेश भएको छ ।

अदालतले संतृप्त श्रेष्ठ, शत्रुधन चौधरी, अमृत चौधरी, हिमबहादुर जिसी, दामोदर केसी, सागर विश्वकर्मालाई सफाई दिएको छ । सफाई पाएकाहरु ट्रक चालक र सहचालक हुन् ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आठौं नगर सभाले घटना भुलबस भएकाले आफ्ना कर्मचारीको तर्फबाट उच्च अदालत जाने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले दुर्घटनाबस भएको घटना भएकाले उपमहानगरपालिकाले कर्मचारीको तर्फबाट मुद्दामामलामा सहयोग गर्ने बताए ।

माघ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्