काठमाडौँ – विवेकशील साझा पार्टीले शहीदगेटमा एक कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाएको छ।

पार्टीमा आवद्ध युवाहरु भेला भएर शहीद दिवस मनाएका हुन्।

उनीहरुले सांकेतिक तथा साहित्यिक कार्यक्रममार्फत शहीद दिवस मनाएका हुन्।

शहीद दिवस मनाउन पुगेका युवाहरुले ‘व्यवस्था बदल्न जन्मिएको म राष्ट्रले शहीद बनायो’ लेखिएको कालो ब्यानर प्रदर्शन गरेका थिए।

देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै शुक्रबार देशभर शहीद दिवस मनाइँदै छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीरको सम्झनामा प्रत्येक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको छ ।

वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइन्छ।

विक्रम संवत १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी नागरिकलाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुको खरीको रूखमा झुन्ड्याइएको थियो ।

त्यहीवर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।